२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

एमाले नेतृ चाैधरीले खोलिन अचार उद्योग, बेरोजगार राजनीतिकर्मीका लागि उदाहारण बन्दै शान्ता


५ माघ, काठमाडौँ । नेकपा (एमाले)की नेतृ शान्ता चौधरीले अचार उद्योग स्थापना गरेकी छिन । केही महिना अघिदेखि अचार बनाएर बिक्रीबितरण गर्दै आइरहेकी पूर्व संसद चौधरीले कानुनी रूपमै उद्योग दर्ता गरेकी हुन । उनले ‘शान्ताको अचार उद्योग’ सञ्चालनमा ल्याएकी छिन ।

शान्ताले घरेलु तथा साना उद्योग कार्यालयबाट घोराही उपमहानगरपालिका वडा नम्बर ४ को ठेगानामा राखी  उद्योग दर्ताको प्रमाणपत्र लिएकी छिन । पुस २० गते नै उद्योग दर्ता भएको भए पनि शान्ताले माघ ४ गते मात्र यसको सार्वजनिक जानकारी दिएकी छिन । २० लाख रूपैयाँ पुजिँको उद्योगमा घरमै तयार गरिएको स्वादिलो अचार पाइने उनले बताएकी छिन ।

राजनीतिसँगै व्यवसायमा लाग्ने उनको निर्णय हजारौँ बेरोजगार राजनीतिकर्मीका लागि उदाहारण हुनसक्छ ।  कमलरी मुक्तीको आन्दोलनमा लागेकी शान्ता दुई पटक सांसद बनिन् । उनी २०६४ को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी हुन । पहिलो पटक सांसद हुँदा प्राकृति स्रोत सधान समितिको सभापति भएकी शान्ता दोस्रो पटक सांसद हुँदा एमालेको संसदीय दलको सचेतक भइन ।

शान्ता चौधरी आठ वर्षको कलीलो उमेरदेखि २५ वर्षसम्म जमिन्दारको घरमा कमलरी बसेर विना पैसा काम गरेकी थिइन । पछि उनी कमलरी मुक्तीको आन्दोलनमा सरिक भइन र सफल पनि भइन । त्यसपछि विभिन्न सामाजिक काममा सहभागी उनी राजनीतिमा समेत सफल भइन । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा दाङ १ मा चुनावल लडेकी उनी सफल हुन सकिनन् । उनको आत्मकथा ‘कम्लहरीदेखि सभासद्सम्म’ पुस्तक पनि प्रकाशित भएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार १४:३८