२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

तारूकाको गोरू जुधाइः मन्त्रीको भाषण सुन्ने समयमा गोरू र जनता दुबै हिँडे !


१ माघ, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ३ चन्दनीमा हुने गोरू जुधाइ मेला विवादित बन्दैजाँदा प्रमुख अतिथिको भाषणको समयमा मेला नै शून्य हुन थालेको छ । स्थानीय सरकारले पैसा खर्च गरेर गर्न सुरू गरेको मेलामा राजनीति बढी हुने गरेपछि स्थानीयले व्यवहारबाट जवाफ दिन थालेका हुन ।

गोरू जात्राको क्रममा दिउँसो देखिएको दृष्य । तस्बिरः रूपमा अर्याल ।

तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले नेपाली कांग्रेस दलका कार्यकर्ता बाहेकका गोरू धनीलाई प्रतियोगिकै रूपमा दर्ताको प्रतिबन्ध लगाएको केही दिनमा सोमबार भएको जात्रामा प्रमुख अतिथि भएर गएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बागमती प्रदेश सरकारका अर्थ तथा योजनामन्त्री बहादुरसिंह लामाले भाषण गर्ने बेलामा हजारौँको उपस्थितिमा तीस चालिसमा सीमित भएको छ ।

 सोमबार ५ः४५ मा मन्त्री लामाले भाषण गर्ने समयमा केही प्रहरी, जात्राका अतिथि, स्वंयसेवक र दश जना जति कांग्रेस कार्यकर्ताबाहेक सबै हिँडेका थिए । मन्त्रीले भाषण सुनाउने बेलामा जात्रा स्थल सुनसान देखिएको भिडियो पत्रकार रूपा अर्यालले सामाजिक सञ्जाल मार्फत सार्वजनिक नै गरेकी छिन ।

बागमती प्रदेशका अर्थमन्त्री बहादुरसिंह लामाले भाषण गर्ने समयको उपस्थिति । तस्बिरः रूपा अर्याल

गोरू जात्राका अतिथि र गाउँपालिकाका अध्यक्ष लगायत बढीमा चालिस जनामात्र भाषण सुन्ने भए पनि उनले आफ्नो मन्तव्य भने मजैले दिए । पछिल्लो केही वर्षयता गोरू जात्रा देखाएर चन्दा उठाउने गिरोह समेत सक्रिय रहेको छ । गोरू जात्राको नाममा विभिन्न बैंक बित्तिय संस्थाहरूबाट समेत ठूलो रकम उठाएर दुरूपयोग गरेको आरोप लाग्ने गरेको छ ।

निमन्त्रणा पत्रमा संघीय अर्थमन्त्री प्रमुख अतिथि भनेर गरिएको प्रचार ।

आयोजकले संघीय सरकार अर्थमन्त्री डा प्रकाशशरण महत प्रमुख अतिथि हुने भेनर दिउँसभर पनि प्रचार गरेको थियो । निमन्त्रणा कार्डमा समेत अर्थमन्त्रीकै प्रमुख आतिथ्यतामा कार्यक्रम हुने बताएको थियो तर प्रदेशका अर्थमन्त्री लामाको प्रमुख आतिथ्यतामा सबै जनता र गोरू घर हिँडेपछि कार्यक्रमको समापन गरिएको थियो । अर्थमन्त्री महत भने नुवाकोटकै शिवपुरी गाउँपालिकको शेरा बगरमा भएको अर्को गोरू जुधाइ जात्रामा सहभागी भएका थिए । दैनिकीले अर्थमन्त्रीका प्रेस सल्लाहकार प्रकाश थापासँग तारूकाको गोरू जुधाइमा मन्त्री पनि सहभागी हुने हो भन्ने जिज्ञासा राख्दा उनले मन्त्री गोरूजात्रामै रहेको तर शिवपुरीको शेराबगरमा रहेको गोरूजात्रामा मात्रै सहभागी हुने पूर्व कार्यसूची रहेको जानकारी दिए । प्रदेशका अर्थमन्त्रीले भाषण गर्दा सुन्नेको संख्या तलको भिडियोमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार २१:२९