२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कमिसन प्रकरणमा उपप्रमुख भन्छनः ठेकेदारसँग कुरा गरेको हो, शब्द चयनमा गल्ती भए क्षमा चाहन्छु


१८ पुस, नुवाकोट । नेपाली कांग्रेसका नेता समेत रहेका नुवाकोटको बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालले योजनाको भुक्तानीका सम्बन्धमा ठेकेदारसँग कुरा भएको स्वीकार गरेका छन । नागरिकले मौखिक र लिखित रूपमै उजुरी दिएपछि आफू अनुगमनमा गएपछि उक्त कुराकानी भएको पनि उनले प्रष्ट पारेका छन । अडियो संवादको विषय समेत स्वीकार गर्दै दाहालले आफूले ठेकेदारसँगको संवादमा केही गलत बोलेको भए क्षमा माग्छु भनेको छन ।

दैनिकीले समाचारका लागि सम्पर्क गर्दा प्रमाण लिएर नगरपालिकाको कार्यालयमा आएमात्र प्रष्ट पार्ने बताएका उपप्रमुख दाहालले समाचार प्रकाशित भएपछि भने सामाजिक सञ्जाल मार्फत नै थप प्रमाणसहित आफैँले उक्त संवादबारे बोलेका छन । यद्यपी उनले गत जेठ महिनामा ठेकेदारसँग गरिएको सांवद इडिट गरिएको आरोप लगाएका छन । आफ्नो संवाद इडिट गरेको आरोप लगाउने उपप्रमुख आफैँले फेरि उक्त संवादमा शब्द चयनमा केही कुरा गरेको भए क्षमा माग्छु भन्दै माफी समेत मागेका छन ।

दैनिकीले उक्त संवाद कुन योजनाको हो भन्नेबारेमा केही उल्लेख गरेको थिएन । तर दाहालले बेलकोटगढी नगरपालिका वडा नम्बर ९ को साधिखोला नलागाउ भट्ट थोकको सडक निमार्णको सन्दर्भमा नागरिकका तर्फबाट लिखित र मौखिक दुबै खालका उजुरी परेपछि आफूले अनुगमन गरेको र ठेकेदारसँग कुरा भएको प्रष्ट पारेका छन ।

उनले योजना अनुगमनमा जाँदा स्थानीयकै अघिबाट ठेकेदारलाई फोन गरेको तर त्यतिखेर ठेकेदारले फोन् नउठाएको बताएका छन । त्यसपछि आफू १२ नम्बर वडामा अनुगमन गएको फर्किने बेलामा ठेकेदार विवेक लामिछानेको फोन आएको र कुरा भएको उनले बताएका छन ।

उपप्रमुख दाहालले पैसा खातामा पुगेपछि पनि ठेकेदारले काम नगरेपछि आफूले ताकेता गरेको भनेर बचाउ गर्ने कोशिश गरेका छन । तर अडियोमा भने उनले आफ्ना पछि पनि धेरै मान्छे रहेको भन्दै कमिसनका लागि ताकेता गरेका छन, उनले अडियो संवादमा भनेका छन, ‘म त मदानपुरबाट फर्किराछु प्रभु । मेरो पछि पनि आसेपासे होलान । पार्टी होला । जम्मै चिज होला । तिमीहरूले पनि कुरा नबुझे कसले बुझ्ला ? मेरो भाइ ।’

उपप्रमुख दाहालले फेसबुकमा लेखेको प्रष्टिकरण ।

उनले उक्त संवाद अघि भनेका छन, ‘खातामा ल्वाम्म पैसा आएपछि त दाजुभाइको मतलबै छैन है !’ अन्तिममा उपप्रमुख दाहालले यो ताकेतामा पैसा नदिए अर्को पटक फेरि बिल पास गरिदुनिपर्यो भन्दै नआउनु भन्ने आशयको चेतावनी दिएका छन । उनले भनेका छन, ‘के गर्नुपर्ने हो गर्नु । अर्को पटक सही गर्नुपर्ने बेलामा दाइ, हिँ.. भन्न आउने होइन ।’ थप बिबरणसहितको तथ्य सार्वजनिक गरेका दाहालले आफूले कमिसन मागेको भने अस्वीकार गरेका छन ।

अरूलाई कारबाही गर्नुपर्ने जिम्मेवारी बोकेका उपप्रमुख आफैँले कमिसनका लागि ताकेता गर्नुले उनको नियतमा थप शंका देखिन्छ । उपप्रमुख दाहालले कमिसनका मागेको कुरा एउटा क्षमा मागेको भरमा टर्ने कोशिश गरेका छन । बेलकोटगढी नगरपालिकामा प्राय योजनाहरूमा कामै नसकी भुक्तानी दिएर जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कमिसन असुल्ने काममात्र व्यापक भएको भन्दै स्थानीयले गुनासो गरिरहेका छन । यही विषय नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूले उठाउँदै आएका छन ।

उपप्रमुख दाहलाको कमिसन ताकेताको अडियको सम्बन्धमा नेपाली कांग्रेस नुवाकोटले पनि आन्तरिक छानविन सुरू गरेको छ । नुवाकोट कांग्रेसका सभापति रमेश महतले पहिलो चरणमा आन्तरिक रूपमा प्रमाणहरू लिएर दुबैपक्षसँग सोधपुछ गर्ने तयारी गरिएको बताए । यता उपप्रमुखको ठेकेदारसँगको कमिसन ताकेताको अडियोसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यसअघि बेलकोटगढीकै कांग्रेस सभापति लेखनाथ मुडभरीले दोषी देखिए कारबाहीका लागि सहयोग गर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस्,

उपप्रमुखको ‘कमिसन ताकेता’ प्रकरणः कांग्रेसले कारबाहीका लागि सहयोग गर्ने

कामको गुणस्तरमा मतलब छैन कमिसनका लागि आफैँ ताकेता गर्छन जनप्रतिनिधि

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार ११:०५