२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कामको गुणस्तरमा मतलब छैन कमिसनका लागि आफैँ ताकेता गर्छन जनप्रतिनिधि


-माधवप्रसाद तिवारी

१६ पुस, काठमाडौँ। दुई नगरपालिका र दश गाउँपालिका रहेको नुवाकोट जिल्लामा सुशासनको सवालमा बेलकोटगढी नगरपालिका अन्तिम नम्बर रहेको चर्चा चियापसलमा चुलिँदो छ । प्रायः योजनाहरू पूरा नहुँदै भुक्तानी लिने दिनेमा बेलकोटगढी अग्रस्थानमा परेको भनेर सामाजिक सञ्जालमा समते चर्को आलोचना भैरहेको छ ।

विगतमा पनि विभिन्न बहानामा घुस माग्ने दुई जना इन्जिनियरहरू पालैपालो घुससहित पक्राउ परेका थिए । ती इन्जिनियरहरूले जनप्रतिनिधिका लागि घुस उठाउने गरेको भन्ने गरेका थिए । तर अहिले जनप्रतिनिधि नै योजनाको भुक्तानीपछि कमिसनका लागि ताकेतामा लाग्ने गरेको प्रमाण दैनिकीले प्राप्त गरेको छ ।

दैनिकीले बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल र एक जना निर्माण व्यवसायीका बीचमा भएको संवादको अडियो प्राप्त गरेको छ । उक्त अडियोमा उपप्रमुख दाहालले सबैजसो योजनाको भुक्तानपछि कमिसनका लागि ताकेता गर्ने गरेको प्रष्ट बुझ्न सकिन्छ । दाहालले जुन व्यवसायीसँग डिल गरेका छन उनलाई त अहिले कमिसन नदिए भोलिका दिनमा भुक्तानीका लागि सही (हस्ताक्षर) नै नगर्ने चेतावनी समेत दिएका छन । उनले आश गरेर आफ्नो पछि लाग्नेहरू र पार्टीका लागि समेत आफूले योगदान गर्नुपर्ने भन्दै कमिसन मागेका छन ।

बेलकोटगढीमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कम गुणस्तरको काम गर्ने र कमिसन दिने सर्तमा व्यवसायीहरूले भुक्तानी लिने गरेको पनि यसै अडियो संवादबाट प्रष्ट हुन्छ । अडियो संवाद सुन्दा व्यवसायी पनि नेपाली कांग्रेसकै कार्यकर्ता रहेको अुनमान गर्न सकिन्छ । पछिल्लो वर्ष बेलकोटगढी नगरपालिकामा काम नहुने, तर योजनाका नाममा भुक्तानी भैरहेको भन्ने व्यापक जनगुनासो रहेको छ ।

हामीले यस विषयमा अडियो संवादमा कमिसन माग्ने उपप्रमुख दाहालसँग चासो राख्दा उनले यस्तो विषयमा कार्यालयमा बसेरमात्र कुरा गर्ने तर फोनमा कुरा नगर्ने बताए । उनले भने, ‘तपाई पत्रकार नै हो कि होइन मैले कसरी चिन्ने ? तपाईसँग प्रमाण छ कि छैन मैले कसरी थाहा पाएर जवाफ दिने ? त्यही भएर कार्यालयमै आउनुस् त्यहीँ कुरा गरौँला ।’

हामीले नगरप्रमुख जगत गुरूङसँग पनि उपप्रमुखले कमिसन माग्ने गरेको गुनासो रहेछ भनि चासो राख्दा उनले पनि आफूले पनि हल्लामात्र सुनेको तर प्रमण नभेटेको बताए । प्रमुख गुरूङले प्रमाण नहुँदा केही बोल्न नमिल्ने भन्दै प्रमाण प्राप्त भएपछि नगरपालिकाको केन्द्र बाघखोरमा पत्रकार सम्मेलन नै गरेर आफूले बोल्ने जानकारी दिए । प्रमुख गुरूङ र उपप्रमुख दाहाल दुबै जना गत स्थानीय निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट विजयी भएका थिए । गुरूङ नेकपा माओवादी केन्द्रका नेता हुन भने दाहाल नेपाली कांग्रेसका नेता हुन ।

उपप्रमुख शिवप्रसाद दाहाल र व्यवसायीबीचको संवाद यस्तो छ 

ठेकेदारः दाइ नमस्कार, जय नेपाल।

उपप्रमुखः जय नेपाल । कता हो ?

ठेकेदारः म त यतै विदुरतिरै छु ।

उपप्रमुखः खातामा ल्वाम्म पैसा आएपछि त दाजुभाइको मतलबै छैन है !

ठेकेदारः के गर्नु दाइ ? एक छिनमै सकिन्छ । के गर्नु दाइ ?  घाटाको विजनेशमा परियो ।

उपप्रमुखः हुन्छ, घाटाको विजनेश भैहाल्छ नि !

ठेकेदारः दाइ अब केमा चाहिँ नाफा हुन्छ र ?

उपप्रमुखः दाइलाई म्यासेन्जरमा हाइ लेख्नु । म्यासेन्जरमा भिडियो हालिदिन्छु । हेर्नु ।

ठेकेदारः ल, ल हालीदिनु ।

उपप्रमुखः दाइलाई भेट्नु पर्दैन, मेरो भाइ !

ठेकेदारः कहाँ दाइ ? मेरो दाइ ।

उपप्रमुखः म त मदानपुरबाट फर्किराछु प्रभु । मेरो पछि पनि आसेपासे होलान । पार्टी होला । जम्मै चिज होला । तिमीहरूले पनि कुरा नबुझे कसले बुझ्ला ? मेरो भाइ ।

ठेकेदारः दाइहरूले भाइहरूको कुरा नबुझे कसले बुझ्ला ! कर्यकर्ताले नेताको ! म कार्यकर्ता तपाई नेता । अब हि.हि.. । भरे भोलितिर यसो चिया खाउँला दाइकोमा बसेर ।

उपप्रमुखः के गर्नुपर्ने हो गर्नु । अर्को पटक सही गर्नुपर्ने बेलामा दाइ, हिँ.. भन्न आउने होइन ।

ठेकेदारः ल सल्लाह गराैँला ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १३:२५