२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

रविले फेरि भनेः डिपोजिट स्लिपमा कसले नाम लेख्यो थाहै भएन


१२ पुस, काठमाडौँ । चिया पसल र सामाजिक सञ्जालमा ठट्टा गर्नेका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नयाँ नयाँ शब्दहरू दिने गरेका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एकैछिन बाहिर राख्ने हो भने पछिल्लो समय त्यस्ता ठट्टायुक्त गतिबिधिका लागि लामिछाने एक्लैले मसला दिइरहेका छन । सहकारी ठगी प्रकरणका केही खुलासामा लामिछानेले ‘थाहै भएन’ भनेको कुरा अहिले धेरैका लागि हाँसीमजाकको विषय बनेको छ ।

लामिछानेले कसैले एक प्रश्न गर्दा प्रतिउत्तरमा पाँचदेखि दशवटा प्रश्न गर्ने गरेका छन । यसअघि टेलिभिजनको पर्दाबाट घाँटी सुक्नेगरी चिच्याउदै एकोहोरो प्रश्न गर्ने लामिछाने अहिले भने अरूको प्रश्नको जवाफ दिने भन्दा पनि प्रतिपश्न गरेर पन्छिने अवस्थामा देखिएका छन । गोरखा मिडिया नेटवर्कका नाममा थुप्रै सहकारी ठगी गरेको समूहका एक जना जिम्मेवार पदाधिकारी लामिछाने यतिखेर बच्नका लागि मलाई थाहै थिएन भन्ने गरिरहेका छन ।

पछिल्लो पटक सहकारी ठगीको श्रृङ्खलामा निरन्तर नाम जोडिइरहेका लामिछानेले नै विभिन्न सहकारीबाट पैसा उठाएर ठगी गरेर भूमिगत भएका जिबी राईलाई भगाउन सहयोग गरेको आशंका समेत गरिएको छ ।  यद्यपी रवि स्यंवले भने यी सबै विषय अस्वीकार गर्दै आएका छन ।

कान्तिपुर दैनिकले रविले विभिन्न सहकारीको करोडौँ रकम अपचलनमा खेलेको भूमिकाका बारेमा श्रृङ्खलावद्ध रूपमा समाचारहरू प्रकाशित गर्न थालेपछि उनले थाहै थिएन भन्ने थेगेको विकास गरेका छन । सहकारीको पैसा निजी कम्पनीमा लैजानेदेखि, सहकारीको सदस्य नै नभएको व्यक्तिको नाममा नक्कली ऋणिपत्र बनाएर कुम्ल्याएको विषयमा थाहै नभएको भन्दै पन्छिने कोशिश लमिछानेले गरिरहेका छन । बिहीबार पनि उनले रूपन्देहीको सुप्रिम सहकारीको विषयमा जवाफ दिँदै डिपोजिट भौचरमा कसले आफ्नो नाम राख्यो थाहै नभएको प्रतिक्रिया दिएका छन ।

समाचारका लागि नै करोडौँको मोलमोलाइ गर्ने गरेको आरोप लागेका लामिछाने काण्डै काण्डमा मुछिएका छन । समाचारका विषयमा बार्गेनिङ गरेर झापाको एक कम्पनीमा करोड भन्दा माथि पैसा बुझ्न रवि आफैँ पुगेको भन्दै यसअघि व्यवसायी दुर्गा प्रसाइले सार्वजनिक कार्यक्रममै बोलेका थिए । जुन कुराको लामिछानेले अहिलेसम्म खण्डन गरेको सुनिएको छैन । उनी जेसुके काण्डमा जोडिए पनि पनि उनका कट्टर समर्थकले गुड लक रवि दाई भन्दै उनलाई अघि बढ्न हौस्याइरहेका छन ।

ठगी, कमिसन र भष्टाचारका काण्ड बाहेक दुई मृत्यु प्रकरणमा समेत उनको शंकास्पद भूमिका रहेको भनेर अहिले पनि चर्चा हुने गरेको छ । पहिलो पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरूत्साहन र अर्को रविकै चालकको रहस्यमय मृत्युप्रकरण । ती चालक सिर्फ रविकामात्र चालक थिएनन्, चलचित्र विकासको बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त भएदेखि उनकै सवारी चलाउने चालक थिए । पछिल्लो समय भने रविले सँगै लिएर हिड्ने गरेका थिए । ती चालकको रविकै चितवनको घरको छतबाट लडेर उपचारका क्रममा मृत्यु भएको भनिएको छ । यद्यपी धेरैले शंकाको नजरले हेरेका छन । यस्ता सबै प्रकरण र काण्डमा लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन । उनले यस्ता विषय कसैले उठाइहालेँ आफूलाई फसाउन षडयन्त्र गरेको भन्ने गरेका छन ।

रविले बिहीबार दिएको प्रष्टिकरण तल पढ्न सक्नुहुन्छ

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १४:१५