२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

समृद्धि र राष्ट्रियतालाई जोड्दै एमालेको सङ्कल्प यात्रा


-प्रकाश सिलवाल

२५ मंसिर, काठमाडौँ । सात वर्षअघि प्रमुख प्रतिपक्षमै भएका बेला झापाको काँकरभिट्टाबाट कञ्चनपुरको महेन्द्रनगरसम्म मेची–महाकाली अभियान सञ्चालन गरेको नेकपा (एमाले) अहिले मध्यपहाडी क्षेत्रलाई केन्द्रित गरेर सुदूरपश्चिमबाट पूर्वतिरको यात्रामा लागिरहेको छ । राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित एमालेले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज बागमती प्रदेशमा कार्यक्रम सक्दैछ । मङ्गलबारदेखि उक्त कार्यक्रम कोशी प्रदेशमा हुनेछ ।

“हाम्रो यात्राले पार गरेको यो दूरीमा हामीले देउडादेखि काँठेसम्म धेरैथरी बाजा सुन्यौँ । सबैको साझा भाव हो–नेपाली”, यात्राको नेतृत्व गरिरहेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार व्यक्त गरेको धारणाले यात्राका क्रममा स्थानीय संस्कृति, भाषा, उत्पादन र शैलीका साथै विकास र राष्ट्रियतालाई जोड्ने सङ्कल्प उद्गार गरेको छ ।

एमालेको टोली आज इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालघाट पुग्दा अध्यक्ष ओलीले स्थानीय माछा व्यवसायीसँग कुराकानी गर्नाका साथै आफैँले माछा तारेर नेताहरुलाई खुवाए । डडेल्धुरा पुग्दा एमाले नेतृत्वले खीर खाएको दृष्य पनि लोकप्रिय बनेको थियो । एमाले नेतृत्व तथा स्थानीय कार्यकर्तासहितको टोलीले आज काभ्रेपलाञ्चोकबाट एक सय ६० किलोमिटरको दूरी पार गर्दै सिन्धुपाल्चोक, दोलखा र रामेछापका कार्यक्रममा सहभागिता जनाउनेछ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापबाट एमालेको यात्रा उदयपुरको घुर्मीतर्फ लाग्नेछ । पार्टी स्थापनाको ७५औँ वर्ष समारोहमा संस्थापक महासचिव पुष्पलालको स्मृतिमा निर्मित लोकमार्ग केन्द्रित अभियानबाट इतिहास र अग्रजको सम्मान, राष्ट्र सवल र समृद्ध बन्छ भन्ने आत्मविश्वासमा अभिवृद्धि, जनसम्बन्ध विस्तार र जनगुनासो एवं जनताका सुझाव सङ्कलन तथा स्थानीय सम्बन्ध र राष्ट्रिय सन्देश मिल्ने योजनाका साथ एमालेले सङ्कल्प यात्रा सञ्चालन गरेको हो ।

बैतडीको झुलाघाटबाट यही मङ्सिर १४ गतेदेखि आरम्भ भई आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने उक्त यात्रामा अध्यक्ष ओलीको नेतृत्वमा एमालेका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोलीसहित दैनिक नियमित कम्तीमा दुई सयको सङ्ख्यामा नेता कार्यकर्ता एउटा जिल्लामा जनसभा र जनस्तरका संवाद सकेर बास बस्दै अर्काे दिन अर्काे जिल्लामा पुगेर कार्यक्रम गर्न व्यस्त हुने गरेका छन् । यात्रामा छिमेकी जिल्लाका टोली थपिँदा दैनिक पाँच सय यात्रु हुने गरेका तथा बास बस्ने र खाना खाने समयमा उक्त सङ्ख्या दैनिक दुई हजारसम्म हुने गरेको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

हरेक दिन बिहानै सुरु भएर यात्रा राति १० बजेसम्म हुने गरेको छ । नुवाकोटको बट्टारमा शनिबार राति अबेरसम्म पनि कार्यक्रम भएको थियो । “यात्राका क्रममा अपेक्षा गरेभन्दा बढी जनसहभागिता देखिएको छ । हाम्रा एजेण्डाप्रति जनताको समर्थन, संलग्नता र उत्साह प्रकट भएको छ । मध्यपहाडी लोकमार्गसहित एमालेको सरकारका पालामा तय गरिएका विकास निर्माणका आयोजनामा बजेट कटौती र ढिलासुस्ती भएकामा जनताले आक्रोस व्यक्त गरेको पाइयो”, स्थायी कमिटी सदस्य गौतमले रासससँग भन्नुभयो, “स्थानीय कच्चा पदार्थको उपयोगसहित रोजगारी सिर्जना गरी बसाइँसराइ रोक्ने कार्यक्रम ल्याउन सर्वपक्षीय माग आएको छ । जनतासँग विकास निर्माणका एजेण्डा तय गर्न एमालेलाई थप आधार मिलेको छ ।”

पाँचथरको चिवाभञ्ज्याङसम्म पुग्ने एमालेको यो यात्राका क्रममा स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा विकासका बीच पहाडी क्षेत्रमा तीव्र बसाइँसराइँ बन्न गएकाले समृद्धिको अभियानअन्तर्गत उक्त क्षेत्रलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा अभियानका क्रममा अवलोकन गरिने एमालेले जनाएको छ । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप उक्त अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल, किसानसँग अन्तक्र्रिया, कृषि वैज्ञानिकसँग संवाद, विकास कार्यको अवलोकन र नमुना काम गरिरहेका उद्यमीसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिकस्थलको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझाव सङ्कलन गरिएका छन् ।

नेता गौतमका अनुसार अभियानबाट पहाडबाट भइरहेको तीव्र बसाइँसराइको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनमा सहयोग, मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतका सम्भावना बुझ्न सहयोग मिलेको छ ।

कोशी प्रदेशमा अवरोध नगर्न आग्रह

कोशी प्रदेशसभाबाट पारित भएको कोशीको नामकरणप्रति असन्तुष्टि जनाउँदै एकल पहिचान पक्षधरले सो प्रदेशमा एमालेको यात्रालाई रोक्न बन्दलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । घुर्मीदेखिका कार्यक्रममा अवरोध हुने त होइन भन्ने प्रश्नमा नेता गौतमले एमाले कसैसँग लड्न र भिड्नका लागि नभई जनतासँग विकास निर्माणका विषयमा जागरणका लागि हिँडेकाले अवरोध र बन्द गर्नुपर्ने कुनै कारण नभएको बताए ।

“प्रदेशसभाबाट सर्वदलीय सहमतिका साथ कोशीको नामकरण भएको हो । यसमा असन्तुष्टि भए संवैधानिक र कानुनी प्रक्रियाबाट प्रदेशसभामै प्रस्ताव लैजानुपर्ने हुन्छ । जो कोहीले पनि आफ्ना असन्तुष्टि शान्तिपूर्णरुपमा राख्न पाउँछन् । तर अरुका कार्यक्रमलाई विथोल्ने र ढुङ्गामुढा गर्ने धम्की दिनु राम्रो होइन । कसैको उक्साहटमा अवरोध भएमा हामी त्यसलाई जनताको बलमा तोडेर अघि बढ्छौँ”, सङ्खुवासभाका पूर्वसांसद गौतमले भने, “जनतासँग घुलमिल हुने एमालेको अभियानबाट कतिपयको टाउको दुखेको हुनसक्छ । तर हामी जनताबाट अलग हुन सक्दैनौँ । कुनै राजनीतिक मुद्दा भए आपसी संवाद र वार्ताका माध्यमबाट हल गर्न सकिन्छ, त्यसका लागि एमाले तयार छ । हामी सहमतिका आधारमा मुलुकको समृद्धि र विकासका पक्षमा छौँ ।” पहिचान पक्षधरले कोशी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने माग राख्दै आएका छन् । नेता गौतमले पहिचान पक्षधरलाई बन्दका कार्यक्रम फिर्ता लिन आग्रह गरे ।

एमालेको केन्द्रीय टोलीमा अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायत सहभागी छन्। रासस

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १४:१२