३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

३० प्रतिशत लाभांश पारित गर्दै नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न

१८ मंसिर, काठमाडाैं। नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडाैंकाे र्याडिसन होटलमा आइतबार आयोजित कम्पनीको २०७९ /८० को १२ औं वार्षिक साधारणसभाले २८.५ प्रतिशत बोनस सेयर र त्यसका कर प्रयोजनका लागि आवश्यक १.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेकाे छ ।

बोनस सेयर पारित भएपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब ६६ लाख ३७ हजार ९०० पुगेको छ । सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गरी रु. २ अर्ब बनाउने एजेण्डा स्वीकृत गरेको छ ।

कम्पनीले पूँजी वृद्धिमार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नका साथै नेशनल तथा क्रसबोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुढृढ बनाउनका लागि उक्त पूँजी प्रयोग गर्ने साधारणसभापछि जारी विज्ञप्तिमा उल्लेख छ ।

साधारण सभाको बैठकले कम्पनीको शेयर स्वामित्व संरचनामा साविक झैं नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मात्र कायम रहने गरी गाभ्न/गाभिन वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

त्यस्तै एनसीएचएलले वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास समेत गर्ने उद्देश्यसहित कम्पनीको सहायक कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी खोल्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न समेत सभाले निर्देशन दिएको छ ।

आ.व. २०७९-८० मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या १६% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ६% ले वृद्धी भएको छ । सो आर्थिक वर्षमा एनसीएचएलले भुक्तानी प्रणालीहरुमार्फत कुल १४१ खर्ब बराबरको ८.१९ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो ।

एनसीएचएलमा नेपाल राष्ट्र बैंकको १०% र बैंक तथा वित्तीय संस्थाहरुको ९०% स्वामित्व रहेको छ । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र निदेशक गरी क्रमशः १–१ जना रहेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १४:११