विद्यार्थीका लागि आम्दानीको स्रोत बन्दै सेयर बजार, १००० लगानी गर्दा दुई लाखको पोर्टफोलियो
१३ मंसिर, नेपालगञ्ज । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले सेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले सेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् ।
“हामीले प्राथमिक बजार (आइपिओ) मा लगानी गर्न सिकेर दोस्रो (सेकेन्डरी) बजारमा पनि लगानी गरेका छौँ,” नेपालगञ्जको अल्पाइन व्यवस्थापन कलेजका स्नातक तहका विद्यार्थी पारश तिमिल्सिनाले भने । उनले साथीहरू र गुरुको माध्यमबाट सेयर बजारको अध्ययन गरेर बजारको प्राथमिक र सेकेन्डरी बजारमा प्रवेश गरेको उल्लेख गर्दै आफू अहिले पनि नाफामा रहेको बताए ।
“आवश्यक खर्च सेयर बजारबाट आएको छ”, तिमिल्सिना भन्छन् । रु एक हजार लगानी गरेर सेयर बजारको प्राथमिक बजारमा प्रवेश गरेका तिमिल्सिनाले घरबाट आउने खाजा खर्च, शुल्कको पैसा र प्राथमिक बजारबाट गरेको आम्दानीको स्रोतको सदुपयोग गरेर अहिले करिब रु दुई लाखको पोर्टफोलियो बनाएको जानकारी दिए ।
“हाम्रो कलेजका धेरै साथीले सेयर बजारमा लगानी गर्नुभएको छ त्यसमा पनि हाम्रो क्लासका २० प्रतिशत साथीले दोस्रो बजारमा पनि लगानी गर्नुभएको छ”, तिमिल्सिनाले भने । तिमिल्सिना एक वर्षदेखि सेयर बजारको प्राथमिक र दोस्रो बजारको कारोबारी हुन् ।
अर्का लगानीकर्ता विकास भट्टराई विद्यार्थीकालदेखि सेयर बजारमा लगानी गरेर सफल व्यवसायी भएका छन् । दश जोड दुईको अध्ययन गर्दादेखि नै सेयर बजारमा लगानी गरेका भट्टराईले सेयर बजारमा लगानी गर्न थालेको दश वर्ष बितेको छ । व्यवस्थापन सङ्कायमा अध्ययन गरेका उनले सेयर बजारको स्वअध्ययन र अङ्गे्रजसँग सिकेर बजारमा छिरेको बताए । “अहिले म सेयर बजारको शिक्षा प्रदान गर्ने ठाउँमा पुगेको छु”, उनले भने ।
भरोसा म्यानेजमेन्ट कन्सल्टेसीका प्रमोटरसमेत रहेका भट्टराई स्वअध्ययन गरेर मात्रै छनोट गरिएका कम्पनीमा लगानी गर्न सुझाव दिन्छन् । “जति यसमा रिवार्ड छ, त्यति नै रिस्क पनि छ”, उनी भन्छन् ।
इम्पेरियल सेक्युरिटिज कम्पनी लि (४५) नं ब्रोकर कार्यालय नेपालगञ्जका प्रमुख उदय अधिकारीले व्यवस्थापन सङ्कायको स्नातकतहका अधिकांश विद्यार्थी सेयर बजारप्रति आकर्षित भएको जानकारी दिँदै उनीहरूले सेयर बजारबाट आएको आम्दानी कलेजको शुल्कलगायत काममा खर्च गरेको बताए ।
विद्यार्थीले रु एक सयमा खरिद गरेको सेयर रु दुई सयमा बेचेर पनि नाफा सुरक्षित गरेको उल्लेख गर्दै अधिकारीले वैदेशिक रोजगारमा रहेका र केही गृहिणीले समेत बजारमा लगानी गरेको जानकारी दिए ।
“विद्यार्थीका लागि सेयर बजार आम्दानीको भरपर्दो स्रोत बनेको छ”, अधिकारीले भने । सेयर बजारमा लगानी गर्न बाँकेबाहेक बर्दिया, सुर्खेत, जाजरकोट, रोल्पा, रुुकुम, हुम्ला, जुम्ला, सल्यानलगायत जिल्ल्लाबाट लगानीकर्ता नेपालगञ्ज आउने गरेका छन् ।
अधिकारीले सेयर बजारको प्राथमिक सेयर धेरै जारी भएकाले पैसा होल्ड भएर त्यसको प्रभाव बजारमा पनि परेको हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालमा जस्तो आइपिओ जारी गर्ने प्रचलन नभएको बताए । “बाहिरको बजारमा सबैले यहाँजस्तो आइपिओ हाल्ने चलन छैन र बोनस सेयरको चलन पनि छैन”, उनले भने।
अधिकारीले केही लगानीकर्ताले एकै दिन रु ५० लाखसम्म लगानी गरेको जानकारी दिँदै अहिले औसतमा दैनिक रु एक करोड ४५ लाखको सेयर कारोबार भएको बताए । करिब ३५ हजार लगानीकर्ता भएको एम्पेरियलमा २७ हजार सक्रिय लगानीकर्ता भएको बताइएको छ । यसबाहेक कालिका सेक्युरिटिज प्रालिले पनि नेपालगञ्जमा सेयर कारोबार गर्दै आएको छ ।
प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार १४:१४












