१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

टोकियो ओलम्पिक महिला फुटबल छनाैटः नेपालले बंगलादेशलार्इ पराजित गरे नयाँ इतिहास रच्ने


२७ कात्तिक, काठमाडाैँ ।  सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक महिला फुटबलअन्तर्गतको एसियाली क्षेत्रको प्रारम्भिक छनोटको अन्तिम खेलमा नेपालले अाज बंगलादेशको सामना गर्दैछ ।

म्यानमारमा जारी छनोट प्रतियोगितामा नेपालले यसअघिका दुई खेलमा बलियो प्रतिद्वन्द्वी भारत र थाइल्यान्डसँग बराबरी खेल्दै दोस्रो चरण पार गर्ने सम्भावना जीवितै राखेको छ । यस्तोमा मंगलबार हुने खेलमा बंगलादेशलाई पराजित गरे नेपालले दोस्रो चरणमा स्थान बनाउने निश्चित छ । छनोट भएको अवस्थामा नेपाल पहिलो सहभागितामै दोस्रो चरण प्रवेश गर्दै नयाँ इतिहास बनाउनेछ ।

हरेक समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली दोस्रो चरणका लागि छनोट हुनेछन् । यससँगै नेपालले बंगालदेशलाई पराजित गरेमा शीर्ष २ अथवा तेस्रो स्थानको उत्कृष्ट २ मा पर्ने पक्का हुँदै दोस्रो चरणको ढोका खोल्नेछ ।

यस्तोमा नेपालले बंगलादेशलाई पराजित गर्ने अनि भारत र म्यानमारबीचको खेलमा हार जितको नतिजा निस्किए नेपालले समूह उपविजेताका रूपमा दोस्रो चरणमा स्थान बनाउनेछ । नेपालले बंगलादेशलाई पराजित गरेको अवस्था र म्यानमार र भारतले गोलरहित बराबरी खेलेको अवस्थामा भने नेपाल समूह विजेताका रूपमा दोस्रो चरणमा प्रवेश गर्नेछ । बंगलादेशसँग बराबरी या पराजित भएको अवस्थामा भने नेपाल प्रारम्भिक चरणबाटै बाहिरिनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार ०८:४७