२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

माओवादीले खुशी लुटेको २५ वर्षपछि अम्बिकाले दिएको सामाजिक सन्देश


१ मंसिर, काठमाडौँ । चितवन स्थायी घर भएकी गजलकार अम्बिका पोखरेल कार्की अमुले पति वियोगको २५ वर्षपछि दोस्रो बिबाह गरेकी छिन । माओवादीको आक्रमणमा नेपाल प्रहरीमा कार्यरत रहेका पति ओम कार्कीको २५ वर्षअघि मृत्यु भएपछि अम्बिका एकल महिलाको रूपमा आफ्नो सन्तानको जिम्मेवारी पूरा गर्ने अभियानमा लागेका थिइन । उनले आफ्नो छोरीलाई उच्च शिक्षा दिएर बिबाह गरेपछि आफूले थप जिम्मेवारी लिने निर्णयसहित बिबाह गरेकी हुन ।

शुक्रबार बिबाह बन्धनमा बाँधिएकी अम्बिकाले आजबाट जिन्दगी नयाँ बाटोमा हिडेँको सार्वजिनक रूपमै जानकारी दिएकी छिन । उनले परिवारका सदस्यहरूको सहमति र उपस्थितिमा बुटवल मंगलापूर निवासी पत्नी वियोगको पीडा खेपिरहेका भएका तीन छोरीका पिता ज्ञवालीसँग बिबाह गरेकी हुन । उनले ज्ञवालीको नाम भने खुलाएकी छैनन् । उनले सामाज परिवार्तनको नारा फुकेर मात्र परिवर्तन नहुने भन्दै परिवर्तनको सुरूवात आफैँबाट गर्नुपर्ने बताएकी छिन ।

अम्बिकाको निर्णय निकै चुनौतिपूर्ण रहेको भए पनि सामाजिक सन्देशका हिसाबले निकै महत्वपूर्ण रहेको छ । अम्बिकाको निर्णयले खुशी भएकाहरूले उनको फेसबुक पोस्ट सेयर गर्दै सफल दामपत्य जीवनका लागि बधाई दिएका छन । उनले छोरीको बिबाह भएपछि आफूले एक्लो महशुष गरेकाले सबैको सल्लाहले यस्तो निर्णय गरेको जानकारी दिएकी छिन ।

अम्बिकाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकी छिन

आजबाट यो जिन्दगी नयाँ बाटोमा हिड्यो।

मैले दोस्रो बिवाहा गरेँ। जिन्दगी सोचेजस्तो नहुने रहेछ । १६ बर्सको उमेरमा मैले पहिलो बिवाहा गरेकी थिएँ । २० बर्ष पूरा हुँदै गर्दा म विधवा भएँ। नेपाल प्रहरीमा कार्यारत ओम जिलाई देशको द्वन्द्वले लग्यो । यसरी प्रेम वियोगमा मैले २५ बर्ष गुजारेँ । यो दौरानमा आर्थिक ,सामाजिक ,राजनितिक उतारचढावहरू मेरो जीवनमा आए । व्यवस्था परिवर्तनको नाममा मच्चिएको उत्पातले म जस्ता कैयौं दिदीबहिनीहरूले वियोगमा जिन्दगी जिउनु परेको सत्यताहरू हाम्रो आँखा अगाडी छन् ।

सन्तानको लागि मैले जानी नजानी ,सकि नसकी आफ्नो कर्तव्य पूरा गर्न लागि परेँ र उचित शिक्षा दिएर कुटुम्बको जिम्मा लगाएँ। त्यसपछि म विल्कुल एक्लो भएँ अबको यो उमेरमा झन् कसैको साथको आवस्यकता खड्किन थाल्यो । मनले साथीको आवस्यकता महसुस गरेकै बेला परिवारिक थ्रोबाट ज्ञवाली जिको कुरा मसम्म आयो । मैले जवाफ दिन सकिन र निर्णय गर्ने पूरा अधिकार छोरी ज्वाइँलाई दिएँ ।

मेरो पहिलो घर ,माइती ,मावली र इष्टमित्र समक्ष यो कुरा राखेर सबैको सर्वसहमतिमा र उपस्थितिमा बुटवल, मंगलापूर निवासी पत्नी वियोगको पीडा खेपिरहनु भएका तीन छोरीका पिता ज्ञवालीजिलाई अबको बाँकी जिन्दगी सुम्पने निर्णय गरेँ । अब हामी चार वटी छोरीको माता पिता भएका छौं ।हिजो पनि म मेरो कर्तव्यबाट विमुख भइन अब भोलीपनि कर्तव्यवोध गर्नेनैछु । अब हाम्रो चाहना हामी दुबैले गुमाएका हाम्रा आफ्ना मान्छे( ओमजि र कृष्णा दिदी) को स्मरण गर्दै चार सन्तानको कुशल माता पिता बनेर हाँसी खुशी बाँकीको जिन्दगी बिताउनु हो।

समाज परिवर्तनको नारा फुकेर मात्र समाज परिवर्तन हुँदैन सुरुवात हामी आफैले गर्ने हो । (हजुरहरू सबैलाई यो मेरो निर्णय चित्त नबुझ्न सक्छ कृपया केही लेख्नु अघि आफ्नो श्रीमती, आमा, दिदीबहिनी, भाउजू, बुहारीलाई मेरो ठाउँमा राखेर दुई सेकेन्ड सोचेर मात्र लेखिदिनू होला हवस् त धन्यवाद ।)

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार १७:५१