ग्लोबल आइएमई बैंक
२० कात्तिक, काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हाे । २०६३ मा स्थापना भएकाे यस बैंक २०७६ मा जनता बैंकसँग गाभिएकाे थियाे । केही समय अगाडि मात्रै ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर भएकाे छ ।
यो मर्जरसमेत गरेर हालसम्म ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनीसहित कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु एउटै संस्थाका रुपमा एकीकृत भएर बनेको ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष छन् भने बैंकको सीईओमा रत्नराज बज्राचार्य छन्। अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैंक नेपालको पहिलो बैंक बनेको अध्यक्ष ढका बताउँछन् । पहिलो बैंक बन्नुमा बैंकप्रति ग्राहकको विश्वास सबैभन्दा ठूलो कुरा भएको अध्यक्ष ढकाल बताउँछन् । जुन विश्वास आर्जन गर्न बैंकका अध्यक्ष रहेका ढकालको प्रमुख भूमिका छ । मुलुकको वित्तीय क्षेत्रको कूल बजार हिस्साको करिब १० प्रतिशत ओगट्ने आकारमा यो बैंक पुगेको अध्यक्ष ढकालकाे भनाइ छ ।
‘हामीले शुरुदेखि यसलाइ सबैका लागि बैंक बनाउने प्रयास गरिरह्यौं,’ ढकालले भने, ‘सबै किसिमका ग्राहकहरुलाई सेवा दिने एउटै बैंक बनाउन हामीले कुनै पनि कसर बाँकी राखेका छैनौं ।’ ग्लोबल आइएमई बैंक छोटो समयमै सफल हुनुकाे कारण ढकालले आर्जन गरेको विश्वास रहेकाे छ । ग्लोबल आइएमई बैंकको नाम जोडिनेवित्तिकै ग्राहकको मानसपटलमा चन्द्र ढकालकाे नाम आउँने गरेकाे छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।
गत शुक्रबार मात्रै ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेकाे विवरण अनुसार बैंकको खुद आम्दानीमा सुधार देखिएपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफामा असर देखिएको छ। पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपात बढ्ने क्रमले निरन्तरता पाएको छ, जुन यस बैंकको रिपोर्टमा पनि देखिन्छ। अघिल्लो वर्षको यही अवधिसम्म २.१० प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात भने याे अवधिमा बढेर ४.३८ प्रतिशत पुगेको छ ।
समिक्षा अवधिमा खुद नाफामा बैंकको सामान्य वृद्धि देखिन्छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। जुन गत आर्थिक वर्षको तुलनामा ३.०४ प्रतिशतको वृद्धि हो। ग्लोबल आइएमई बैंकले व्यवसाय विस्तारमा उल्लेख्य प्रगति गरेको देखिन्छ । फलस्वरुप बैंकले पहिलो त्रैमासमा ४ अर्ब ८० करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंककाे खूद ब्याज आम्दानी ३ अर्ब २० करोडमा सीमित थियो ।
याे अवधिमा बैंककाे सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो वर्ष १ अर्ब ६९ करोड रुपैयाँ रहेको बैंककाे सञ्चालन मुनाफा बढेर यो वर्ष १ अर्ब ७९ करोड पुगेको छ । यस त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ। बैंककाे प्रतिसेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेकाे छ । भने बैंककाे प्रति सेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा, मूल्य आम्दानी अनुपात १४.७४ गुणा र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३० पैसा रहेकाे छ ।
चुक्तापूँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ रहेकाे यस बैंककाे जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ जम्मा रहेकाे छ । समीक्षा अवधिसम्म बैंकले ४ खर्ब ४३ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ५७ अर्ब बढी कर्जा परिचालन गरेको छ । बैंकहरूले सार्वजनि गरेकाे विवरण अनुसार याे अवधिमा नबिल बैंक, ग्लोबल आइएमई बैंक र एनआइसी एशिया बैंककाे तुलना गर्दा मूल्य आम्दानी अनुपातको हिसाबले यी तीन बैंकमध्ये ग्लोबल आइएमई बैंक लगानीका लागि उपयुक्त देखिएको छ।
ग्लोबल आइएमई बैंकले हिजाे (कात्तिक १९ गते आइतबार) मात्रै आर्थिक वर्ष २०७९/८० का लागि वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे छ । बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १४:२६












