१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, गच्छदारको व्यवस्थापन र महासमिति बैठक एजेण्डा


२० कात्तिक, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ । बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै केही दिन पछाडि सार्न सक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काङ्ग्रेसको महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्मका लागि तोकिएको थियो । महासमिति बैठक मङ्सिर अन्तिम साताका लागि तोकिने सम्भावना रहेको शर्माले बताउनुभयो । बैठकमा बिजय गच्छदारको व्यवस्थापनको सम्बन्धमा समेत छलफल हुने बुझिएको छ । उनलार्इ उपसभापतिमा मनोनयन गर्ने सम्भावना रहेको कांग्रेस नेताहरूले बताएका छन ।

बैठकमा पार्टीको विधान संशाोधन मस्यौदा समितिको प्रतिवेदनसमेत प्रस्तुत हुने र त्यसबारेमा पनि छलफल हुने बताइएको छ । काङ्ग्रेसले संविधानको सङ्घीय संरचनाअनुसार पार्टीको संरचना बनाउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । बैठकमा भातृसंस्था नेपाल विद्यार्थी सङ्घको महाधिवेशनको मितिको बारेमा समेत छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो । नेविसङ्घको दुईवर्षे कार्यकाल समाप्त भएर थप गरिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि त्यसबारेमा पार्टीमा छलफल हुन लागेको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७५, मंगलवार ११:१२