अपर तामाकोशीको हकप्रद सेयरमा अहिलेसम्म कति पर्यो आवेदन ?
१४ असाेज, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब ५९ करोड १ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार कम्पनीकाे हकप्रदमा आज असोज १४ गते बिहानसम्ममा २ लाख ३५ हजार ४५८ जना सेयरधनीले २ करोड ५९ लाख १ हजार १४० कित्ता हकप्रद सेयरमा आवेदन दिएका छन् । कम्पनीकाे हकप्रदमा अझै ७ करोड ९९ लाख ९८ हजार ८६० कित्ता आवेदन पर्न बाँकी रहेको छ ।
कम्पनीले भदौ १८ गतेदेखि १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ । यस हकप्रदमा असोज २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
अपर तामाकोशीको हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल छन्। हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १३:१०












