१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

करिब १२ लाख कित्ता सेयर बिक्रीमा गर्दै अपी पावर, न्यूनतम मूल्य कति ?

१० असोज, काठमाडौं । अपी पावर कम्पनीले असोज १७ गतेबाट करिब १२ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । कम्पनीको सर्वसाधारण समूहको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो।

बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बिक्रीमा राखिने उक्त सेयरमा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सेयर संख्यामा भने कुनै हद नलाग्ने कम्पनीले जनाएको छ। लगानीकर्ता असोज २४ गतेसम्म साे सेयरमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाडाैंको नक्सालस्थित प्रधान कार्यालयमा तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुंगा (पोखरा), बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा बोलपत्र पेस गर्न सकिनेछ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १०:४१