१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

काम गर्ने ठेकेदारलार्इ पुरस्कृत गर्ने प्रचण्डको घोषणा


१७ कात्तिक, रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताउनुभएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको आज निरीक्षणका क्रममा उहाँले गौरवका आयोजना समयमै सम्पन्न नहुने, गुणस्तरीय नहुने र पटकपटक आन्तरिक किचलो हुँदा देशभरका यस्ता आयोजनामा बेलाबेला समस्या देखिएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, “बुद्धको जन्मस्थल हुनुको नाताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्व झन दिनप्रतिदिन बढ्दै गएको छ ।” विमानस्थल निर्माणको कार्य सन्तोषजनक भएको भएता पनि अझै धेरै काम गर्नुपर्ने रहेको उहाँको भनाइ थियो । सो अवसरमा आयोजनाका अधिकृत प्रदीप अधिकारीले आयोजनाको बारेमा प्रकाश पार्दै ५५ प्रतिशत काम सम्पन्न भएको बताउनुभएको थियो ।

अध्यक्ष दाहालसँगै नेकपा महासचिव विष्णु पौडेल, कृषिमन्त्री चन्द्रप्रकाश खनाल, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री छविलाल विश्वकर्मा, पूर्वसभामुख ओनसरी घर्तीसहित, प्रदेश सरकारका मन्त्री भैरहवा पुग्नुभएको हो । नेपालीको मुख्य पर्व विजयदशमी, दीपावली, छठ, नेपाल संवत्का अवसरमा नेकपाद्वारा आज बुटवलमा आयोजना गरिने शुभकामना कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रासस

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार १४:५०