अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?
५ असोज, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले गत भदौ १८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा यही असोज ७ गतेसम्म आवेदन दिने म्याद रहेको थियो। मागबमोजिम आवेदन नपरेकोले अब यो हकप्रदमा यही असोज २२ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको हो।
कम्पनीले कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरिरहेको छ।
हकप्रद निष्कासनार्थ कम्पनीले गत साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। यसको अर्थ साउन २५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा आउने दिने पाउनेछन्।
लगानीकर्ताले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। कम्पनी र धितोपत्र बिक्री प्रबन्धकले तोकेको स्थानबाट हकप्रदमा आवेदन दिन पाइने व्यवस्था गरिएको छ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। शत प्रतिशत हकप्रद निष्कासन पश्चात् कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन्।
प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार ११:३७












