सोनापुर मिनरल्सको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा
३ असाेज, काठमाडाैं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीकाे आईपीओ असोज २ गते मंगलबार बाँडफाँड भएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले जनाएकाे छ ।
कम्पनीले गत साउन २९ गतेदेखि भदौ २६ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्काशन गरेको थियो। त्यस्तै, कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा १० लाख ७६ हजार २३८ कित्ता सेयर गत असोज २९ गतेदेखि भदौ ११ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। कम्पनीले सो सेयरमा रितपूर्वक आवेदन दिएका लगानीकर्ताहरुलाई सेयर बाँडफाँड गरेको जनाएकाे छ । वैदेशिक रोजगारीमा रहेका ३० हजार ३६० जना नेपालीले १६ लाख ९३ हजार ३५० कित्ता आईपीओका लागि आवेदन दिएका थिए । जसमध्ये १२ जनाले ४५० कित्ताका लागि दिएको आवेदन अयोग्य भएको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई न्यूनतम १० देखि ४० कित्तासम्म माग गर्ने १० हजार ५९१ जना आवेदकहरुलाई माग बमोजिमका २ लाख ४६ हजार ६० कित्ता सेयर बाँडफाँट गरिएको छ । यस्तै, ५० देखि ३ हजार कित्तासम्म माग गर्ने १९ हजार ७५७ जना आवेदकहरुलाई पनि ४० कित्ताका दरले नै गरी ७ लाख ९० हजार २८० कित्ता बाँडफाँड गरिएको छ । यसरी बाँडफाँड गरिसकेपछि बाँकी रहेको १ लाख ८० हजार २२८ कित्ता सेयर भने ५० देखि ३ हजार कित्तासम्म माग गर्ने आवेदकहरुमध्ये बाट गोलाप्रथा गरी १८ हजार २२ जनालाई १० कित्ताका दरले थप गरिएको छ । यसपछि बाँकी रहने ८ कित्ता सेयर भने ६० देखि ३ हजार कित्तासम्म माग गर्ने ११ हजार ४१८ जना आवेदकहरुबाट पुनः गोलाप्रथा गरी १ जनालाई दिइएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीकाे आईपीओकाे नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका वेबसाइट https://www.nimbacecapital.com र सिडिएस एण्ड क्लियरिङ्गबाट सञ्चालित वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ।
प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ११:५६












