२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

बिरामीको संवेदनशीलता नबुझ्ने चिकित्सकलाई बर्खास्त गर


बिरामीको संवेदनशीलता नबुझ्ने कान्ति बाल अस्पतालका चिकित्सकलाई बर्खास्त गर्नुपर्नेमा उल्टै अस्पतालले अनुसन्धान गर्ने भन्दै समिति बनाएको छ । मकवानपुर थाहा नगरपालिका १० की पाँच वर्षीया रेजिशा गोपालीको अस्पतालका चिकित्सकको वेवास्ताले आकस्मिक कक्षमै सोमबार निधन भएको थियो । उक्त घटनाको समाचार बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएपछि बुधबार अपरान्ह अस्पतालका निर्देशक डा पंकज रायले एउटा समिति बनाएको पत्र सार्वजनिक गरेका छन । सञ्चारमध्यले यो विषय सार्वजनिक नगर्दासम्म अस्पतालले यस विषयमा कुनै चासो लिएको थिएन । अर्थात ङटना लुकाउन खोजेको देखिन्छ । यस्ता सबै घटनाहरूमा सञ्चारमाध्यमको आँखा नपुग्न सक्छ अर्थात पीडितहरूको पहुँच नहुन सक्छ । जसले गर्दा दिनहुँ यस्ता घटना भैरहेका हुन सक्छन । त्यसकारण अस्पताल प्रशासनको यस्ता घटनामा हुने हदैसम्मको लापरवाही रोक्न राज्यले ठोस कदम चाल्नुपर्छ ।

अस्पतालकाको आकस्मिक कक्षामा रोइकराइ र बिन्ती गर्दा पनि बिरामीको अनुहार समेत नहेर्ने अस्पतालका चिकित्सक र कर्मचारीमाथि कारबाही गर्नुको साटो निर्देशक रायले छानविन समितिको नाममा यस्तो गम्भीर विषय टार्न खोजेका छन । सरकारले निर्देशकलाई नै बर्खास्त गरेर कारबाही गर्ने अपेक्षा गरिएकोमा रायले बालिकाको मृत्यु कुरेर बस्ने चिकित्सक र कर्मचारी जोगाउने उद्देश्यले छानविन समिति बनाएका छन ।

उनले डा प्रकाश जोशीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएका छन ।  उक्त छानविन समितिको सदस्यमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरू दाहाल सदस्य रहेका छन । अस्पतालका निर्देशक रायले मृतक रेजिशाले समाचारहरूमा आएजस्तो २ घण्टा नभइ ८० मिनेटमात्र लाइनमा बस्नुपरेको भन्दै गैरजिम्मेवार जवाफ दिएका छन ।

उच्च ज्वरोले थलिएकी रेजिशालाई सोमबार अपरान्ह ५ बजे उनका आमा र हजुरबुवाले अस्पतालको आकस्मिक कक्षमा पुर्याएका थिए । उनीहरूले रेजिशाको अवस्था नाजुक भैसकेको भन्दै हेरिदिनका लागि अनुनयविनय गरे तर अस्पतालका चिकित्सक र कर्मचारीले पालो कुर्नुस् भनेर अन्य सामान्य अवस्थाका बिरामी जाँच्ने काममा लागे । तर ८० मिनेट कुर्दा पनि कुनै उपचार नपाएपछि छटपटिएर रेजिशाले मृत्युवरण गरिन ।

तस्बिरमा मृत्युवरण गरेकी बालिका, अस्पतालका निर्देशक र उनले छानविनका लागि समिति गठनको गरेको भन्ने अस्पतालको पत्र ।

अस्पताल प्रशासनले १ बजे नै ओपिडी सेवा बन्द गरेर त्यताको बिरामी समेत ओपिडीकै शैलीमा आकस्मिक रूपमा परीक्षण गर्ने गरेको छ । विगत लामो समयदेखि कान्ति बाल अस्पतालमा यस्तो हुँदै आएको छ । यसका बारेमा पटक पटक समाचारहरू पनि प्रकाशित र प्रशारित भएका छन । राजनीतिक नेतृत्वको चाकरी गरेर अस्पतालको निर्देशक बन्नेहरूले यसतर्फ सुधारका लागि कहिल्यै पहल गरेको देखिदैन । अन्य अस्पतालहरूमा बिरामीको उपचार सुरू गरेर टिकटदेखि लिएर अन्य काम त्यसपछि प्रारम्भ हुन्छ । तर कान्ति जस्तो संवेदनशील बाल अस्पतालमा ओपिडिमै जस्तो पहिलो टिकट लिएर, पालो कुराेर त्यसपछि मात्र आकस्मिक सेवाको बिरामीको सोधखोज र परीक्षण सुरू हुन्छ । उपचार त धेरै परको कुरा हुन्छ । अर्थात सामान्य अवस्थामा कान्ति अस्पतालमा आकस्मिक कक्षमा बिरामीले चिकित्सकको पहुँच प्राप्त गर्नका लागि कम्तिमा २० देखि ३० मिनेट कुर्नुपर्छ ।

सोमबार पनि यस्तै हुँदा एक अबोध बालिकाले ज्यान गुमाउन पुगेकी छिन । यो उनको मृत्यु नभएर अस्पताल प्रशासन र चिकित्कसको गैरजिम्मेवारीका कारण भएको हत्या हो । यसमा राज्यले गम्भीर रूपमा स्वतन्त्र छानविन गरी कारबाही गरेर अस्पतालाई प्रभावकारी बनाउनुपर्छ । बिरामीको संवेदनशीलता नबुझ्ने कान्ति बाल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी बर्खास्त गरेर सरकारले निमुखका लागि पनि सरकारले काम गर्छ र गर्दैछ भन्ने सन्देश दिनुपर्छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार २०:१६