१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

साताव्यापी चीन भ्रमण पूरा गरी उपप्रधानमन्त्री पोखरेल अाज स्वदेश फर्कदै


१३ कात्तिक, काठमाडाैँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको सात दिने भ्रमण पूरा गरी अाज स्वदेश फर्कदै छन । बेइजिङमा भएको अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन  कात्तिक ६ गते चीन गएका पोखरेल अाज स्वदेश फर्कन लागेको उनका प्रेस संयोजक लोकेन्द्र केसीले दैनिकीलार्इ जानकारी दिए । केसीका अनुसार उपप्रधानमन्त्री पोखरेल दिउँसो १ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन ।

उपप्रधानमन्त्री पोखरेल चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि चीन गएका थिए । उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा खटिएर गरेको योगदान र भावी चुनौती तथा सहकार्यका बारेमा सम्बोधन गरेका थिए ।

उपप्रधानमन्त्री पोखरेलको भ्रमणकै क्रममा चीनले नेपाललाई दुई अर्ब ५३ करोड (१५ करोड युआन) बराबरको सैन्य सहयोग गर्ने सम्झाैता समेत भएको थियो । सहयोग सम्बन्धी सम्झौता पत्रमा चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल र चीनका रक्षा मन्त्री वेइ फेङ्घेबीच शनिबार हस्ताक्षर गरेका छन ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री पोखरेलले चीनका केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष सु छियालिङ्ग र रक्षा मन्त्री वेइ फेङ्घेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उपप्रधानमन्त्री पोखरेललाई चीनीयाँ जनमुक्ति सेनाको मुख्यालयमा एक सैनिक टुकडीले गारत सम्मान अर्पण गरेको थियो । सैनिक सहयोग र द्धिपक्षीय सम्बन्धका हिसाबले चीन भ्रमण पूर्ण सफल रहेको प्रेस संयोजक केसीले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार ०९:०६