२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बालुवाटार प्रकरणः लोकसेवा आयोगका अध्यक्ष रेग्मी र सञ्चार सचिव राउत पनि तानिए


२४ असार, काठमाडौँ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गराउने काममा संलग्न रहेकाहरूको अनुसन्धान गर्ने क्रममा नेपाली प्रहरीले लेकसेवा आयोगका अध्यक्ष माधव रेग्मी पनि जोडिएका छन । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतको पनि संलग्नता देखिएको आजको कान्तिपुरमा मातृका दाहालले लेखेका छन ।

लोकसेवा आयोगका अध्यक्ष रेग्मी ०६९ ताका ललिता निवासको जग्गा टिकिन्छा गुठीमा लैजान मन्त्रिपरिषद्को सामाजिक समितिबाट निर्णय हुँदा आमन्त्रित सदस्य थिए । उनी त्यतिखेर मन्त्रालयका सचिव रहेका थिए । रेग्मीका सहोदर भाइ सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मीको समेत यसमा संलग्ता देखिएको छ ।

यस्तै प्रहरीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतको पनि यस प्रकरणमा संलग्नता भेटेको छ। नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिने निर्णय गर्दा राउतले टिप्पणी उठाएका थिए । उनी त्यतिखेर भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत थिए ।

तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले प्रधानमन्त्री निवास विस्तार गर्ने नाममा नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिने निर्णय गरेको थियो ।त्यसबेला मन्त्रालयले समरजंग कम्पनीका नाममा रहेको जग्गा नक्कली मोही र बिचौलियालाई दिने निर्णय अघि बढाएको थियो । सोही निर्णयको जगको रूमा रहेको टिप्पणीमा त्यतिखेर आर्थिक प्रशासन शाखामा अधिकृत रहेका राउतले जग्गा सट्टाभर्ना र नक्कली मोहीलाई जग्गा कायम गर्नेसम्बन्धी टिप्पणी उठाएका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असारमा पूर्व सचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा ललिता निवासको सरकारी जग्गा हिनामिनाको सम्बन्धमा अनुसन्धान गर्न छानविन समिति बनाएको थियो । सोही छानविन समितिको सिफारिसमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ११० जनाको विरूद्धमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको बनाउन संगठित र योजनाबद्ध निर्णय प्रक्रियामा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई, ६ पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी, प्रभुनारायण चौधरी, सञ्जयकमुमार साह र दीनानाथ शर्मा, दुई पूर्वमुख्य सचिव माधव घिमिरे र लीलामणि पौडेलको संलग्नता देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यससम्बन्धी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार ०९:२५