२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

कांग्रेस सांसद रमेश महतले जब प्रदेशसभामै दुप्चेश्वरको पुल बाढीले भत्काइदिए…


२० असार, काठमाडौँ । नुवाकोट नेताहरूको कारण जहिल्यै चर्चामा हुन्छ । अझ नेताहरूका अनेक काण्डले पनि पछिल्लो समय चर्चा हुने गरेको छ । जिल्लाको विकासको अवस्था बत्तिमुनीको अध्याँरो जस्तो भए पनि नेताहरूको व्यक्तिगत प्रगति भने धेरै अगाडी गैसकेको छ । बृद्धभत्ता चोरलाई संरक्षण गर्नेदेखि काम नगर्ने ठेकेदारको संरक्षण गर्ने काम सम्ममा नुवाकोटका विभिन्न नेताहरूको नाम जोडिने गरेको छ ।

मंगलबार यस्तै एउटा दृष्टान्त भेटियो । नेपाली कांग्रेस नुवाकोटका सभापति समेत रहेका बागमती प्रदेशसभा सदस्य रमेश महतले प्रदेशसभा बैठकमा बाढीले क्षति नै नगरेको पुलमा बाढीले क्षति गर्यो सरकारले बनाओस भनेर ध्यानाकर्षण गराए । उनले नुवाकोटको दुप्चेश्वर १ को पुल बाढीले भत्काएको र दुईतर्फी आवत जावतमै समस्या भएको बताएका थिए ।

उनको संसदको अभिव्यक्ति सुनेपछि सोही क्षेत्रकी प्रदेशसभा सदस्य समेत रहेकी नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य राधिका तामाङले स्थानीय र स्थानीय सरकार प्रमुखसँग बुझ्दा त्यहाँ बाढी नै आएको र पुल पनि महतले भनेको जस्तो नभएको रिपोर्टिङ पाइन ।

त्यसपछि उनले सामाजिक सञ्जालमै यस कुराको बिरोध गरिन । उनले फेसबुकमा लेखिन, ‘आज म आफै अचम्मित भएकि छु ! दुप्चेश्वर गा.पा. वडा नं १ मा पहिरोको कारण झो.पु. मा क्षति पुगेको खबर सदनमा सुनियो । सम्बन्धित निकायमा बुझ्दा हैन रे, हैन भएको चाही के हो ???’

सांसद महतले प्रदेशसभामा भनेका थिए, ‘देशभरी आएको बाढीले नुवाकोट जिल्ला र रसुवा जिल्ला पनि प्रभावित छ । नुवाकोट र रसुवा जिल्लाको सडकहरू खेतीयोग्य जमिन, बस्ती र पुलहरू क्षति भएको छ । र त्यसैगरी नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर १ घ्याङफेदीको सैजुङ झोलुङ्गे पुल क्षतिग्रस्त भएका कारण दुइवटा टोललाइ नै आवत जावतको ठूलो प्रभाव छ तत्काल सरकारले यसको निर्माणको लागि ध्यानाकर्षण गराउन चाहन्छु ।’

अहिले सामाजिक सञ्जालमा महतले संसदमै झुट बोलेको भन्दै उनको बिरोध भैरहेको छ । आफ्नो निर्वाचन क्षेत्र भन्दा बाहिरको विषयमा गएर महतले बाढी नै नआएको समयमा पनि बाढीले पुल भत्कायो भनेर संसदमा झुट बोलेपछि नागरिकहरूले भने विभिन्न शंकाहरू गरिरहेका छन । यसअघि २०७२ को शक्तिशाली भुकम्पको समयमा महतमाथि राहतको जस्ता बेच्न खोजेको भन्दै कांग्रेसकै नेताहरूले आरोप लगाएका थिए । यद्यपी पछि उनले आफूले अख्तियारबाट सफाइ पाएको दाबी गर्दै आएका छन ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार १०:३१