२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

राष्ट्रपतिको रमिताः जनताको आँखामा छारो हालेर उपचारका नाममा ५५ लाख झ्वाम !


१९ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको करले भारतमा उपचारका लागि गएको बताउने राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च स्वयंले व्यहोर्ने बताएको ठ्याक्कै चार महिनापछि ५५ लाख २ हजार २७९ रूपैयाँ बुझ्ने तयारी गरेका छन । राष्ट्रपति पौडेलले भारतमा उपचार भएको खर्चको रूपमा ५५ लाख २ हजार २७९ रूपैयाँ बिलभर्पाइ पेश गरेर मागेका थिए । सोही अनुसार परराष्ट्र मन्त्रालयको अनुरोधमा अर्थ मन्त्रालयले पैसा निकासको काम सुरू गरेको हो ।

यसअघि चार महिना अघि फागुन १९ मा राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले विज्ञप्ति निकाल्दै रामचन्द्र पौडेल आफैँले उपचार खर्च व्यहोर्ने बताएका थिए । मेडिकल बोर्डको सिफारिसबिना भारतमा उपचार गर्न गएका पौडेलले बिलसहित भुक्तानीका लागि दाबी पेश गरेपछि परराष्ट्र मन्त्रालयले यही असार १८ मा अर्थ मन्त्रालयलाई पत्र लेखेर भुक्तानीका लागि अनुरोध गरेको छ ।

मेडिकल बोर्डको रिपोर्ट कीर्ते !

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराएको पैसा मागेपछि मेडिकल बोर्डको सिफारिस ब्याक डेटमा बनाइएको आशंका गरिएको छ । यसअघि व्याक डेटको सफारिस बनाउन निमल्ने देखेपछि प्रेस संयोजक कार्की मार्फत विज्ञप्ति जारी गराएर भारतमा उपचार गराउँदा लागेको सबै खर्च आफैँ व्यहोर्ने भ्रम छरेका थिए ।

मेडिकल बोर्डको सिफारिस बिनै प्रधानमन्त्री प्रचण्डको दबाबमा पौडेल उपचारका लागि नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचारका लागि गएका थिए । जनस्तरबाट चर्को आक्रोश व्यक्त भएपछि र व्याक डेटमा मेडिकल बोर्डको सिफारिस पनि नबन्ने भएपछि राष्ट्रपति आफैँले उपचार खर्च व्यहोर्ने भनेर सचिवालय मार्फत भ्रम छरेका थिए तर उनले फेरि ब्याक डेटको मेडिकल बोर्डको सिफारि बनाएको अनुमान गरिएको छ । यद्यपी यसको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको छ ।

उनी उपचारमा जानुपूर्व नै मेडिकल बोर्डको सिफारिस लिनुपर्नेमा त्यसो गरिएको थिएन । सिफारिस बिना सरकारले उपचार खर्च भुक्तानी गर्न नमिल्ने कानुनी प्रावधान रहेको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलसँग यस विषयमा जानकारी माग्दा उनले अहिलेसम्म वर्तमान राष्ट्रपति वा उहाँको तर्फबाट आफन्त कसैले पनि उपचारमा सिफारिस चाहियो भनेर निवेदन प्राप्त नभएको जानकारी दिए । उनले बाँकी कुरा भने आफूलाई थाहा नभएको बताए ।

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ९ ।

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ९ मा प्रष्टसँग विदेशमा हुने उपचार नेपालको मेडिकल बोर्डको सिफारिसमा हुनुपर्ने उल्लेख छ अन्यथा उपचार खर्च राज्यले व्यहोर्न मिल्दैन । यसअघि राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जारी गरेको विज्ञप्तिमा पनि प्रचण्डको दबाब र चिकित्सको सिफारिसमा राष्ट्रपतिको भारतमा उपचार भएको उल्लेख छ ।

यो पनि पढ्नुहोस्

सूर्य थापाको प्रश्नः पेट दुखेका राष्ट्रपतिलाई प्रधानमन्त्रीले नै जोड गरेर किन भारत पठाएको ?

राष्ट्रपति पाैडेलले नै प्रयोग गरे गलत नेपाली झण्डा, राष्ट्रिय झण्डा माथि किन अपमान ?

वीर अस्पतालका निर्देशकको अध्यक्षतामा रहेको तीन सदस्यीय मेडिकल बोर्डले क, ख र ग गरी तीन किसिमका सिफारिस गर्दछ । ‘क’ वर्गको सिफारिस विदेश उपचारमा जानका लागि दिने गरिन्छ । ‘ख’ वर्गको सिफारिस जटिल रोग लागेकोले चिकित्सकको निगरानीमा बस्नुपर्ने भन्ने हुन्छ भने ‘ग’ वर्गमा आर्थिक सहायताका लागि सिफारिस गर्ने गरिएको छ । वीर अस्पताल स्रोतका अनुसार अहिलेसम्म राष्ट्रपतिको उपचारका सम्बन्धमा कुनै सिफारिस भएको छैन ।

राष्ट्रपतिको उपचारसम्बन्धी ऐनको व्यवस्थामा यस्तो उल्लेख गरिएको छ

९. उपचार खर्च
(१) राष्ट्रपति वा उपराष्ट्रपति स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार खर्च नेपाल सरकारले व्यहोर्नेछ ।
(२) राष्ट्रपति वा उपराष्ट्रपति अस्पताल भर्ना भई उपचार गराउँदा कुरुवा बस्नु पर्ने भएमा कुरुवा खर्च बापत तीन जना सम्मको मनासिब खर्च नेपाल सरकारले उपलब्ध गराउनेछ ।

(३) उपदफा (१) बमोजिमको उपचार खर्च बापतको रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति वा उपराष्ट्रपति भर्ना भएको अस्पताललाई भुक्तानी गर्नेछ ।

राष्ट्रपति रामचन्द्र पाैडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार जारी गरेको प्रेस नोट ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले वैशाख १३ गते जारी गरेको प्रेस विज्ञप्ति ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १९:२१