१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बजेटले लक्ष्य अुनरुप राजश्व प्राप्त गर्दैन, भैंसी हाम्रो प्राथमिकता होइनः राजेन्द्र लिङदेन


२६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुमान, अनुदान र ऋणमा आधारित बजेटले लक्ष्य अनुसार राजस्व प्राप्त नहुने बताएका छन् । आज पार्टी कार्यालयमा बसेको कार्य सम्पादनको बैठकपछि पत्रकारहरुसँग उनले सरकारले ल्याएको बजेटले नेपालको आर्थिक अवस्थाको सम्बोधन र सामना गर्न नसक्ने बताए ।

उनले भने, बजेटको विषयमा पनि हाम्रो अवधारणा तय भएको छ, अहिले सरकारले जुन प्रकारको बजेट ल्यायो, नेपालमा जुन प्रकारको संकट आएको छ । बजेटले सम्बोधन गर्न सक्दैन्, सामना गर्न सक्दैन् । अनुमान, अनुदान र ऋणमा आधारित बजेटमा न लक्ष्य अनुसार राजस्व प्राप्त हुने वाला छ न भएको बजेट यो कार्यशैलीबाट प्रयोग हुन सक्छ । अर्थमन्त्रीले राजस्व बढाउने नाममा जुन प्रकारले करको दर र दायरा बढाउने प्रयास गर्नु भएको छ । त्यसले अर्थतन्त्रमा झन नकारात्मक प्रभाव पार्छ । ’

उनले प्रधानमन्त्रीको भारत भ्रमणमा अखण्ड भारतको नक्सामा रहेको नेपालको भूमिको बारे कुनै कुरा नउठेको भन्दै आपत्ति जनाएको बताए । उनले भने, भैंसी हाम्रो प्राथमिकताको विषय होईन्, प्रधानमन्त्री भारत भ्रमणमा जानु भयो उहाँले पनि यसलाई प्राथमिकता दिनु आवश्यक थिएन् । अखण्ड भारतको जुन नक्सा राखिएको छ, नेपालको महत्वपूर्ण भूभागहरु समावेश गरिएको देखिन्छ, त्यसको बारेमा कुरा उठाउनु पर्ने थियो, उठाउनु भएन त्यसप्रति आपत्ति जनाएका छौ ।

अध्यक्ष लिङ्देनले बैठकमा विवादमा रहेका केही जिल्ला कार्य समितिहरुलाई विधान वमोजिम विघटन गर्ने, केन्द्रीय नेताहरुलाई तत्कालै भूगोल केन्द्रित जिम्मेवारीमा पठाउने र ७ दिनभित्र कार्य योजना बनाएर नेतालाई जिम्मेवारी दिएर पठाउने निर्णय भएको जानकारी दिए । उनले राप्रपाका मान्यता र जनजीविका सम्बन्धि मुद्दाहरुमा सरकारको ध्यानाकर्षण गर्न शान्तिपूर्ण नागरिक आन्दोलन अगाडि बढाउने खालको निर्णय भएको पनि जानकारी गराए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १६:४८