२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

५६ लाख सेयर लगानीकर्ताको नाम लिएर सीमित व्यक्तिले कमाउने परम्परा अन्त्य हुनुपर्छः अर्थमन्त्री


२५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारबाट सीमित व्यक्तिले कमाउने र उनीहरूककाे नै लक्ष्य बमोजिम बजार तलमाथि हुने कुरा अन्त्य हुनुपर्ने बताएका छन् । बिहीबार नेपाल धितोपत्र बोर्डको ३१ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अहिले सेयर बजारका ५६ लाख लगानीकर्ताको नाम लिने र सीमित व्यक्तिले मात्रै लाभ लिने गरेकाे भन्दै यसलाई रोक्नुपर्ने बताए ।

अर्थमन्त्री महतले भने  ‘सेयर बजारमा आम मानिसहरुको लगानी र आयआर्जनको माध्यमका रुपमा ठूलो आकर्षण छ । त्यसकारण बोर्डको जिम्मेवारी र दायित्व बढेको छ । ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु यसको दायित्व र जिम्मेवारी हो । यो जिम्मेवारीलाई उच्च महत्व दिएर धितोपत्र बोर्डले काम गर्नेछ । यसलाई अझ उचाइँमा पुर्याउने छ ।’

सेयर बजार आम नागरिकको लगनी र आयआर्जनको माध्यमको रूपमा आकर्षण बढेको भन्दै नियामकको जिम्मेवारी र दायित्व बढेको उनले बताए ।

धितोपत्र बोर्डले नियमनको कामलाई अत्यन्त महत्वका साथ निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउदै डा. महतले सेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

उनले १५ जेठमा आएको आर्थिक विधयेकले सेयर बजारबाट फाइदा लिएका सीमित व्यक्तिलाई कर तिर्नुपर्ने भनेर ल्याएको व्यवस्थालाई समेत भ्रम फैलाउने काम गरेर उनीहरुले नै लाभ लिएको दाबी गरे । ‘आर्थिक विधेयकमा आएको विषय आम लगानीकर्ता लागि थिएन । तर, प्लेयरहरूले लौ बर्बाद भयो, ५६ लाख लगानीकर्ता यसको दायरमा आउने भयो भनेर भ्रम फैलाइयो,’ उनले भने, ‘बजार घट्यो हामीले होइन भनेर स्पष्टीकरण दियौ। त्यसपछि बजार बढ्यो । यसमा आम लगानीकर्ताले होइन तिनैले फाइदा कमाए ।’

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १२:०९