१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रधानमन्त्री प्रचण्ड चारदिने भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमणको कार्यतालिका


१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज(बुधवार) भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो । उनी गत १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री दाहाल नेतृत्वको टोली आज दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत जाने छन् । भारत उड्नु अघि उनले १२ः२५ मा विमानस्थलमा पत्रकारसँग कुराकानी गर्ने छन् ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । उनको टोलीमा परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, र उद्योगमन्त्री रमेश रिजाल लगायतका टोली सहभागि छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली चारदिने भ्रमण सकेर जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन प्रयत्न रहने बताउँदै आएका छन् । त्यस्तै, यो भ्रमणमा ब्यापार तथा पारवहन, ऊर्जा, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास लगायतका विविध विषयलाई प्राथमिकताका साथ उठाउने बताईएको छ । विशेषगरि गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थलको रुट परमिट, मल आयात र नेपाल–बंगलादेशबीच हुन लागेको उर्जा व्यापारका बिषय भ्रमणका क्रममा छलफल हुनेछन् ।

यस्तो छ भ्रमणको कार्यतालिका

प्रधानमन्त्री दाहाल दिउँसो करिब २ः५० बजे भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । ३ बजे उनी सरदार पटेल मार्गस्थित होटल मौर्य पुग्नेछन् । होटलमा उनले भारतीय विदेश सचिव विनयमोहन क्वात्रालाई भेट्न्े छन् । लगतै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई पनि भेट्ने छन् ।

बिहीवार उनी राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा जानेछन् । समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन् । त्यसपछि हैदरावाद हाउसमा फर्किनेछन् । उनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिहीवार बिहान ११ बजे हैदरावाद हाउसमै भेटवार्ता हुनेछ । नेपाली भ्रमण टोली र भारतीय प्रतिनिधि मण्डलबीच हाउसमै भेटवार्ता हुनेछ । त्यसपछि संयुक्त पत्रकार सम्मेलन हुनेछ ।

दिवा भोजमा सहभागि भएपछि प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग ४ः३० र र उपराष्ट्रपति जगदीप धनखडसँग ४ः०० बजे भेटवार्ता गर्नेछन् । साँझ नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई)बीच शिखर सम्मेलन छ । सम्मेलनमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्नेछन् । बेलुका प्रधानमन्त्री दाहाल भारतस्थित नेपाली दुतवासले आयोजना गरेको रात्री भोजमा सहभागि हुनेछन् ।

शुक्रवार प्रधानमन्त्री दाहाल भारत मध्यप्रदेशस्थित उज्जैन र इन्दोर भ्रमणमा जानेछन् । शनिवार उनी ४ः२० बजे नेपाल एयरलाइन्स जहाजबाट स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार ०८:५६