२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

टोखा-छहरे सुरुङमार्गको निर्माण यसै वर्ष, १ अर्ब बजेट बिनियोजन


१५ जेठ, काठमाडौँ । सरकारले काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्मको सुरूङ मार्गको निर्माणको काम यसै वर्ष सुरू गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक गर्दै यसै वर्षदेखि सुरूङ मार्गको निर्माण सुरू हुने बताएका छन । उनले डिपिआर निर्माणको काम गरिब सकिएको भन्दै निर्माण सुरू गर्नका लागि एक अर्ब बजेट बिनियोजन गरिएको जानकारी दिए ।

यसअघि नेपाली कांग्रेसले चुनावी घोषणापत्रमा पनि सुरूङ मार्ग प्राथमिकतामा राखेको थियो । उसले पाँच वर्षभित्रै सुरूङ निर्माण गर्ने घोषणा गरेको थियो ।

काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्ग प्राविधिक रूपमा सम्भव भएपछि सरकारले निर्माणको काम अघि बढाउने घोषणा गरेको हो ।  चिनियाँ प्राविधिक टोलीले एक महिना लगाएर गरेको प्रारम्भिक अध्ययनले सो सुरुङमार्गको निर्माण तथा सञ्चालन प्राविधिक रूपमा सम्भव देखिएको थियो ।

सुरुङमार्गको निर्माणपछि अढाइ घण्टामै राजधानीदेखि चीनको सिमानासम्म र आधा घण्टामा नुवाकोटको थानसिङ्ग फाँटसम्म पुग्न सकिनेछ । यो सुरुङमार्ग निर्माण भएपछि थानसिङ्ग फाँटमा ‘स्याटेलाइट सिटी’ निर्माण गर्ने योजना सरकारको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १८:४५