१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सुर्खेतमा रारा ल्याब्स डिजिटल कर्णाली संवाद


२८ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल संवाद ४.० आयोजना भएको छ। आईसीटी फाउन्डेसन नेपालको आयोजनामा बुधबार सुर्खेतमा रारा ल्याब्स डिजिटल कर्णाली संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न भएको हो। बुधबार भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जीसीको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रुपमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहको उपस्थिति थियो।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनाल, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनार, सुर्खेत चेम्बर अफ कमर्सका एन्ड इन्डस्ट्रीका अध्यक्ष लक्ष्मण कँडेल, क्यान महासंघका केन्द्रीय सदस्य राम रावल, क्यान महासंघका अघ्यक्ष प्रेमप्रकाश चन्द, एशिया फान्डेसनका अनुप नेपालीलगायतको उपस्थिति थियो।

डिजिटल संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल भएको छ। संवादमा ४ वटा कार्यपत्र प्रस्तुत भएका थिए। आईसीटी फाउन्डेसन नेपालका हरिराम रिमालले कर्णाली प्रदेशको डिजिटल क्यापाबिलिटिजबारे आफ्नो प्रस्तुति दिएका थिए।

यस्तै प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम बागमती प्रदेशका आईटी तथा ई–गभर्नेन्सविज्ञ दीपेन्द्र पौडेलले बागमती प्रदेशको डिजिटल गभर्नेन्स, फोनपेका भरत पौडेलले डिजिटल अर्थतन्त्र र रारा ल्याब्सका प्रदिप ढकालले कर्णाली प्रदेशको डिजिटल क्यापाबिलिटज ल्यान्डस्केपबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

संवादमा कर्णाली प्रदेशको डिजिटल क्षमताका विषयमा प्यानल सेसनसमेत भएको थियो। सेसनमा वक्ताका रुपमा विरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनाल, सुर्खेत बहुमुखी कलेजका प्रमुख माधव खनाल, क्यान महासंघका कर्णाली प्रेश अध्यक्ष प्रेमप्रकाश चन्द र दि एसिया फाउन्डेसन नेपालका अनुप नेपाली रहेका थिए। प्यानलको सहजीकरण आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले गरेका थिए।

यसअघि कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा डिजिटल संवाद आयोजना भइसकेको छ। कर्णाली प्रदेशपछि लुम्बिनी र गण्डकी प्रदेशमा डिजिटल संवाद आयोजना हुँदैछ।

सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ।

त्यसपछि ग्रान्ड प्रोग्रामको रुपमा असार ८ र ९ गते काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना हुनेछ। गत वर्षदेखि डिजिटल संवादसहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १०:१०