१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट छुट्याउन सांसद कार्कीको माग


२६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउँन माग गरेकी छिन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा उनले सरकारी अस्पतालमा बिरामीको चाप धान्न नसकिने अवस्था रहेको बताइन् । उनले अप्रेसनको पालो कुर्दा विरामीको ज्यान गईसक्ने अवस्था रहेकाले सरकाले यस क्षेत्रमा बजेट बढाउन आवश्यक रहेको बताएकी हुन् ।

उनले भनिन् ‘यस वर्ष गत वर्ष भन्दा ४० प्रतिशत कम बजेट घटाइँदै छ रे स्वास्थ्य क्षेत्रको । सरकारी अस्पतालमा बिरामीको चाप धान्न नसकिने भएको अप्रेसन गर्न पालो कुर्दैैमा ज्यान गईसक्ने अवस्था छ । मन्त्रालयसँग जम्मा १२ सय डाक्टर मात्र छन् । कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रलाई छुट्याउनु पर्छ । ’

उनले राष्ट्रसेवकहरूको पारिश्रमिक सुनिश्चित गर्नुपर्ने टिप्पणी गरिन् । राज्यलाई भार पर्ने गरी भएका जनप्रतिनिधिहरूको सेवा सुविधा निर्मम रूपले काट्न जरुरी रहेको उनको भनाइ छ । उनले भनिन् ‘ साँच्चीकै आर्थिक संकट हो भने चालु आर्थिक खर्च राष्ट्रसेवकहरूको पारिश्रमिक सुनिश्चित हुनुपर्छ बरु राज्यलाई भार पर्ने गरी जनप्रतिनिधिहरूको सेवा सुविधा निर्मम रूपले काट्न जरुरी छ । तर आम सरोकारका आधारभूत सेवामुखी कार्यक्रमका बजेट कुनै पनि हालतमा कटौती गर्न मिल्दैन ।’ उनले सैद्धान्तिक रूपमा निःशुल्क स्वास्थ्य सेवा ,सार्वजनिक शिक्षा सबलीकरण र कृषिको मल अनुदानका बजेट कटौती गर्न नमिल्ने बताइन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १७:०६