१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सांसद सुवालको प्रश्नः गठबन्धन सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको हो ?


२७ चैत, काठमाडौं । नेपाल मजदुर किसान पार्टी नेमकिपाका सांसद प्रेम सुवालले गठबन्धन सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको हो भन्दै प्रश्न गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै उनले राज्यको चौथो अङ्ग आमसञ्चारमा सत्ता गठबन्धनका सांसद ढाका कुमार श्रेष्ठले स्वास्थ्यमन्त्री हुन पार्टीलाई दुई अढाई करोड बुझाउनु परेको भन्ने टेलिफोन रेकर्ड सार्वजनिक भएपछि मन्त्री भनेकै अरबौँ भ्रष्टाचार गर्ने पद हो भन्ने कुराको पुष्टि भएको दाबी गरे ।

उनले भने,‘आज राज्यको चौथो अङ्ग आमसञ्चारमा सत्ता गठबन्धनको एक सांसदले स्वास्थ्य मन्त्री हुन पार्टीलाई दुई अढाई करोड बुझाउनु परेको टेलिफोन रेकर्ड सार्वजनिक हुँदा मन्त्री भनेकै अरबौँ भ्रष्टाचार गर्ने पद भयो यो पुष्टि भयो जस्तो लाग्यो । गठबन्धनको सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको हो र ? गठबन्धनको नेताहरूले यसबारे सदनमा बोल्नु जरुरी छ ।’

सांसद सुवालले सत्ता गठबन्धनकै सांसदको लगानीमा रहेको ललितपुरको अपार्टमेन्ट बनाउँदा एक वर्षमा ४० अर्ब नाफा भएको सार्वजनिक भएता पनि सरकारलाई कति राजस्व तिर्यो सार्वजनिक नभएको बताए । उनले यस बारेमा पनि सत्तागठबन्धनका नेताले बोल्न जरुरी रहेको बताए।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १५:५४