८ फाल्गुन २०८०, मंगलवार | Wed Feb 21 2024

द्धन्द्धात्मक भौतिकवादको दोस्रो नियम


-सरोजकुमार तामाङ

मार्क्सवादी द्धन्दवादको परिमाणात्मक परिवर्तनवाट गुणात्मक परिवर्तनमा संक्रमणसम्बन्धी नियम बुझ्न सर्वप्रथम परिमाण र गुणबारे जान्न जरुरी देखिन्छ । जुन स्वभावले वस्तुहरु र घटनाहरुलाई अन्यबाट अलग गराएको हुन्छ, त्यसैलाई गुण भनिन्छ । यहाँ हामी सामाजिक जीवनको बारेमा मार्क्सवादी द्धन्द्धवादको व्यवहारिक पक्षलाई लिएर विश्लेषण गर्दैछौं ।

वस्तु उत्पादनको अधिपत्य, सामाजिक स्रोत र साधनमाथि व्यक्तिको स्वामित्व, मौलिक मानव अधिकारमा अल्पसंख्यकको प्रभूत्वको लक्षणहरुले गर्दा पूँजीवादी व्यवस्था समाजवादी व्यवस्था भन्दा गुणका हिसाबले पृथक देखिन्छ । परिमाणको दृष्टिकोणबाट हेर्दा राज्यसित निश्चित उत्पादक क्षमताहरु, जनशक्ति, कच्चापदार्थ र उर्जाशक्तिका स्रोतहरु रहेका हुन्छन् ।

पूँजीवादी स्वामित्वको गुणलाई नष्ट गर्दै सामूहिकताको अवधारणा समाजमा बसाउँदै जाने हो भने त्यसले समाजवादी गुण देखाउँदै जानेछ । त्यो सर्वहारावर्गहरुको क्रान्तिकारी पहलबिना असम्भव हुन्छ । यसरी गुणमा परिवर्तनद्धारा सामाजिक व्यवस्थामा स्वत: परिवर्तन देखिँन्छ र त्यो पूर्णत: अर्को व्यवस्थामा रुपान्तरित हुन्छ ।

अर्कोतर्फ, पूँजीवादी स्वामित्वलाई केन्द्रिकृत र सुदृढ पार्दै सम्पूर्ण मौलिक हक र अधिकार पूँजीवादी राज्यको हातमा एकजुट गर्दै जाने हो भने त्यसले पूँजीवादको अस्थित्वलाई मेटाएर समाजवादी व्यवस्थामा रुपान्तरण हुनसक्दैन् । तर, परिमाणको सिमा नाघ्ने वित्तिकै गौण जस्तो देखिएको परिमाणात्मक परिवर्तनले गुणात्मक परिवर्तन उत्पन्न गर्दछ । परिमाणात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनमा संक्रमण भौतिक जगतको सार्वभौम नियम हो ।

गतिशीलताले विकास जन्मिन्छ भने विकासमा गतिशीलता ल्याउन परिमाणात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनमा संक्रमण हुनैपर्छ । त्यो प्रक्रिया निम्नबाट उच्च र पुरानोबाट नयाँ सामाजिक सम्बन्धहरुतर्फ सोझिँनु हो । पूँजीवादी व्यवस्थामा उत्पादक शक्तिहरुको विकास, उत्पादनको सामाजिक चरित्रमा बृद्धि, क्रान्तिकारी सर्वहारावर्गको संख्यामा उल्लेख बृद्धि जस्ता परिमाणात्मक पूर्वाधारहरुले समाजवादतर्फको गुणात्मक परिवर्तनमा संक्रमण गर्दछ ।

परिमाणात्मक परिवर्तनले गुणात्मक परिवर्तनमा संक्रमण गर्ने मात्र होइन, गुणात्मक परिवर्तनको प्रभावद्धारा परिमाणमा बृद्धि भएको पनि पाइन्छ । उदाहरणार्थ, सामाजिक व्यवस्थामा आमूल गुणात्मक परिवर्तन अर्थात् पूँजीवादको ठाउँमा समाजवादको स्थापनाले परिमाणात्मक सूचांकहरुमा निकै ठूलो परिवर्तन ल्याउँदछ । जस्तै : उद्योग र कृषि उत्पादनमा बृद्धि, आर्थिक र साँस्कृतिक विकासको दरमा बृद्धि, राष्ट्रिय आयमा बृद्धि, श्नमिजीवीवर्गको रहनसहनको स्थितिमा सुधार इत्यादि सम्भव तुल्याउँछ ।

यसरी विकासले परिमाणात्मक र गुणात्मक परिवर्तनहरुको एकत्वको प्रतिनिधित्व गर्दछ । तिनमध्ये एउटाको अस्थित्वलाई ईन्कार गरेऔं भने विकासको प्रक्रियालाई सही रुपमा बुझ्न नसकेर अधिभौतिकवादीलाई अंगाल्न पुगिन्छ । गुणात्मक परिवर्तनलाई नकार्नु, टड्कारो रुपमा नदेखिने परिमाणात्मक संचयसम्म नै विकासलाई सिमित तुल्याउनु अधिभौतिकवादीहरुको स्वाभाविक चरित्र हो ।

संशोधनवादीहरु र बुर्जुवा सिद्धान्तकारहरु सामाजिक विकासको व्याख्या पनि यस्तै अधिभौतिकवादी दृष्टिकोणले गर्न खोज्दछन् । उनीहरुको धारणाअनुसार सामाजिक विकासमा क्रान्तिकारी परिवर्तनको कुनै अस्थित्व हुँदैन, मात्र यो निरविच्छिन्न प्रक्रिया हो । यस प्रकारले उनीहरु समाजवादी क्रान्तिको आवश्यकतालाई अस्वीकार गर्दै पूँजीवादी व्यवस्थालाई अजर-अमर तुल्याउने प्रयत्न गर्दछन् ।

परिमाणात्मक परिवर्तनहरुलाई अस्वीकार गर्नु नै मार्क्सवादप्रति शत्रु भावना राख्ने निम्नबुर्जुवा विचारधारा – अराजकतावादको सैद्धान्तिक आधार हो किनकि अराजकतावादीहरु शक्ति-संचय गर्ने, जनसमूदायलाई संगठित तुल्याउने र क्रमश: उनीहरुलाई क्रान्तिकारी कार्यमा सरिक तुल्याउने जस्ता दीर्घकालीन र कठिन कार्य मन पराउँदैनन् । अवसरवाद र षड्यन्त्र नै अराजकतावादीहरुको कार्यनीति हो

। यसले श्नमजीवीवर्गको आन्दोलनलाई निकै क्षति पुर्याउँछ । मार्क्सवादी द्धन्द्धवादकानुसार विकासको प्रक्रियामा टड्कारो रुपमा नदेखिने क्रमिक परिमाणात्मक परिवर्तनहरुले आमूल गुणात्मक परिवर्तनहरुमा संक्रमण गर्दछन् । वास्तवमा यो संक्रमण छलाङ्गको रुपमा सम्पन्न हुन्छ । यो नै परिमाणात्मकबाट गुणात्मक परिवर्तनमा संक्रमणसम्बन्धी मार्क्सवादी द्धन्द्धात्मक नियमको सारतत्व हो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १०:४०