१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

छिमेकी मुलुकको समृद्धी नै नेपालको समृद्धीको आधार होः प्रधानमन्त्री प्रचण्ड


३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, छिमेकी देशको आर्थिक प्रगति नै नेपालको आर्थिकका लागि सहयोगी बन्ने बताएका छन् । चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् (सीसीपीआईटी) को प्रतिनिधि मण्डलसँगको विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले छिमेकी देशको चामत्कारिक आर्थिक प्रगती नेपालको विकासका लागि प्रेरणा बन्ने बताएका हुन् ।

उनले भने ‘हाम्रा छिमेकीहरूले हासिल गरेको अभुतपूर्व आर्थिक प्रगतिले निर्यात व्यापारको विस्तार र आन्तरिक लगानीको स्तरवृद्धि गरी नेपालको विकास र समृद्धिको अवसरका फराकिलो मार्गहरू खोल्नेछ भन्ने हाम्रो विश्वास छ । हामी हाम्रा छिमेकीहरूको विशाल बजारहरूमा हाम्रा उत्पादनहरूमा सजिलो र अधिक उदार बजार पहुँचको आशा गर्छौं । मापदण्ड र मान्यताको पारस्परिक मान्यताले हाम्रो निर्यात प्रवर्द्धन गर्न मद्दत गर्नेछ । ’

कुल अन्तर्राष्ट्रिय व्यापारमा १४ प्रतिशतभन्दा बढी चीनसँग कारोबार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले, प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत समेत चीन भएको भन्दै प्रसंशा गरे । विदेशी लगानीका लागि स्थिर राजनीतिक वातावरण चाहिने बताएका प्रचण्डले वर्तमान सरकार त्यसका लागि प्रयत्नशील रहेको बताए ।

उनले वित्तीय र प्राविधिक खाडलहरू भर्न चिनियाँ लगानीमा भरोसा योग्य रहेको भन्दै नेपालमा लगानी गर्न चाहने चिनियाँ कम्पनीहरूको सहयोगका लागि सरकार तयार रहेको बताए । उनले चीनले बाह्य गतिशीलतामा लगाइएको प्रतिबन्ध हटाएकोमा धन्यवाद दिदै नेपालमा चीनियाँ पर्यटकको वृद्धी र पर्यटन उद्योगको विकासमा सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १३:११