९ बैशाख २०८१, आईतवार | Sun Apr 21 2024

भौतिकवाद र अध्यात्मवादबीचको फरक


-सरोजकुमार तामाङ 

मानिसको वरिपरिको जगत, यस जगतको विकासका नियमहरू र यी नियमहरुको बोध गर्ने तरीकाहरुको सुसंगत दृष्टिकोणहरुको प्रणालीलाई नै मार्क्सवादी दर्शन भनिन्छ । हाम्रो वरिपरि रहेको जगतको ध्यानपूर्वक अध्ययन गर्ने हो भने यस जगतका सबै वस्तु र घटनाहरु भौतिक र अध्यात्मिक पाउँछौं । मानिसको चेतना बाहिर र त्यसबाट स्वतन्त्र रुपमा अस्थित्व रहेका ती सबै भौतिक घटना हुन् ।

जे जति कुरा मानिसको चेतनामा निहित हुन्छ, ती सबै अध्यामिक हुन् । त्यसैले भौतिक र चेतनाबीच आदितत्व कुन हो भनि बहस र छलफलको बिषय नै दर्शनशास्त्रको मूल प्रश्न हो । दर्शनशास्त्रको मूल प्रश्नका दुइ पक्षहरु मध्ये पदार्थलाई आदितत्व मान्नेहरु भौतिकवादी हुन् । अर्कोतर्फ, चेतनालाई आदितत्व मान्नेहरु अध्यात्मवादी हुन् ।भौतिकवादीहरुको दृष्टिकोणमा पदार्थ शाश्वत छ ।

कसैले पनि कहिल्यै पनि यसको सृष्टि गरेको होइन र जगतमा कुनै किसिमको अलौकिक र परालौकिक शक्तिको अस्थित्व छैन् । चेतना चाहिँ पदार्थको ऐतिहासिक विकासको उपज हो । अध्यात्मवादीहरुको दृष्टिकोणमा पदार्थ भन्दा पहिल्यै चेतनाको अस्थित्व थियो र त्यसैले पदार्थलाई जन्माएको अर्थात चेतना नै सम्पूर्ण अस्थित्वको पूर्वाधार हो । कुन चेतनाले जगतको सृष्टी गर्दछ भन्ने प्रश्नमा भने आध्यामवादीहरुबीच मतभेद देखिन्छ ।

दोस्रो पक्षमा, जगत बोधगम्य छ कि छैन् , मानिसको बुद्धिविवेकले प्रकृतिको रहस्य बुझ्न र त्यसको विकासका नियमहरु पत्ता लगाउन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर सन्निहित छ । भौतिकवादी सोचकानुसार जगतको बारेमा मानिसको ज्ञान प्रामाणिक छ, मानिसको बुद्धिविवेकले वस्तुहरुको आन्तरिक स्वभाव थाहा पाउन र पत्ता लगाउन सक्छ, तिनको सारतत्व बुझ्न सक्दछ । यसको ठिक विपरीत अध्यामवादीहरु जगतको बोधगम्यतालाई अस्वीकार गर्दछन् ।

भौतिकवादको आधुनिक रुप नै मार्क्सवाद-लेनिनवाद हो । जगतको सही चित्रण गर्दै वस्तुहरुको वास्तविक रुप र जगत जस्तो रुपमा छ, त्यस्तै व्याख्या गर्ने हुनाले भौतिकवाद प्रगतिशील र वैज्ञानिक विश्वदृष्टिकोण हो । भौतिकवादले जनताको भलाई, मानवजातिको विकासको पथलाई सही मार्ग प्रदान दिने र समाजको अर्थतन्त्र र संस्कृतिको प्रगतिशील विकासका निम्ति नवीनतम सोचको आविष्कार गर्ने हुँदा यो सामाजिक वर्गहरुको विश्वदृष्टिकोण हुँदै आएको छ । अध्यात्मवादले अलौकिक र परालौकिक शक्तिहरुलाई नै जगतको विकसित घटनाक्रमहरुको केन्द्रबिन्दूमा राख्ने हुँदा यसले अति सुक्ष्म र छद्मभेषी धर्मको रुप लिन पुग्छ ।

ईश्वरले जगतको सृष्टि गरेको धार्मिक कथालाई अध्यामवादले विद्धतापूर्ण दार्शानिक वाक्यहरुको पर्दाले छोप्दछ । त्यसैले अध्यात्मवादले प्रगतिशील सामाजिक शक्तिहरुको विरुद्ध प्रतिक्रियावादी शक्तिहरुलाई साथ दिनु स्वाभाविकै हो । श्नमजीवीवर्गलाई बौद्धिक रुपमा दास बनाउनु, उनीहरुमाथिको आफ्नो प्रभूत्वको औचित्यलाई सावित गर्न र दरिलो तुल्याउन शोषकहरुले सदैव नै अध्यात्मवाद र धर्मको प्रयोग गर्दै आएको छ ।

वर्तमान समयमा अध्यात्मवाद र धर्मले शोषण, दमन, उत्पीडनले भरिपूर्ण पूँजीवादी व्यवस्थाको बचाउ गर्दै आएको छ । यसरी विज्ञान र प्रविधिको उत्कृष्ट युगमा पनि आफ्नो शोषण प्रथालाई जिवित्तै राख्न दैनिक जसो मठमन्दिर, चर्चको स्थापना गर्दै जनजिविकाका लागि दैनिक तड्पिरहने वर्गहरुलाई भाग्य भरोसाको स्थूतिगान गर्न लगाएर राज्यसत्तामा लुट मच्चाउँदै आएका छन् ।

यसले साम्राज्यवादी प्रतिक्रियावादका शक्तिहरुको विरुद्धको संघर्षबाट विमुख तुल्याउने, श्नमजीवीवर्गको महत्वपूर्ण सामाजिक समस्याहरुको समाधानबाट विचलित पार्ने र मानव अधिकारलाई दवाएर शोषण, दमन, शान्ति, प्रजातन्त्र, राष्ट्रिय मुक्ति र समाजवादको निम्ति गरिएका वर्ग संघर्षहरुबाट विमुख तुल्याउँछ । शोषकहरुको वर्गीय स्वार्थको नाफामूलक अशस्त्रको रुपमा अध्यात्मवादले अहिले काम गरेको छ । यस प्रकारले हामी जुन आधारमा दर्शनशास्त्रको मूल प्रश्नको समाधान गर्छौं, त्यसै अनुरुप भौतिकवादी र अध्यात्मवादी बन्न पुग्छौं ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १२:३६