१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

२० लाख पर्यटक भित्र्याउन चीन र भारतमा ध्यान केन्द्रित गरौः मन्त्री अधिकारी


१७ असोज, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति दीर्घकालीन योजनाका साथ वर्तमान सरकार कार्यक्षेत्रमा जुटेको बताएका छन । नेपाल भ्रमणवर्ष २०२० का सन्दर्भमा नेपाल उद्योग वाणिज्य सङ्घले मंगबालरर राजधानीमा आयोजना गरेको छलफलमा मन्त्री अधिकारीले सन् २०२० भित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने जानकारी दिए ।

उनले नेपाल भ्रमणवर्ष २०२० मा २० लाख पर्यटन भित्र्याउन चीन र भारततर्फ हामीले ध्यान केन्द्रित गर्नुपर्छ भन्दै एक दशकसम्म त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।  नेपालको दिगो विकासको आधार पर्यटन क्षेत्र भएकाले निजी क्षेत्रसँगको सहकार्यमा प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले परिणाम देखिने गरी काम गर्न सम्बद्ध सबैलाई आग्रहसमेत गरे ।

कार्यक्रममा  गत वर्ष नौ लाख ४० हजार पर्यटकले नेपाल भ्रमण गरेको जानकारी गराइएको थियो । यस वर्ष १२ लाख पर्यटक आउने अनुमान गरिएको छ । पोहोर चीनबाट एक लाख चार हजार ६६४ जना र भारतबाट एक लाख ६० हजार ८३२ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

महासङ्घका पदाधिकारी तथा पर्यटन व्यवसायीले हवाईजहाज किनेर विमान चालकको खोजी गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने, भौतिक पूर्वाधार निर्माणमा गम्भीर भएर लाग्नुपर्ने, नेपाललाई खरिदबिक्रीको गन्तव्यका रुपमा विकास गर्नैपर्ने, खरिदकर्ता पर्यटकलाई करछुटजस्ता आकर्षक सुविधा दिनुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार ०६:२७