१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एडिलेडमा व्यासाचार्यको प्रवचन सहितको भव्य शिवरात्रि (फोटोफिचर)


७ फागुन, एडिलेड । नेपाली भजन कीर्तन समुह एडिलेडको आयोजनामा महाशिवरात्री ब्रतपुजा तथा भजन कीर्तन सम्पन्न भएको छ । व्यासाचार्य भुवन गुरुले हिन्दुहरुका आराध्यदेव पशुपति नाथको महिमा सहितको शिवरात्रिको महत्व दर्शाउदै संगितमय प्रवचन प्रस्तुत गरेका थिए ।

व्यासाचार्यले स्थानिय एक्टिभ एल्डर एसोसिएशनको हल एस्कट पार्कको सभा हलमा बिहान १० बजेबाट एडिलेड नेपाली विद्यालयका विद्यार्थीका लागि प्रवचन दिएका थिए । वालबालिकाहरुलाई अनुशासन, परिवार र मुल थलो नेपाल प्रतिको दायित्व वारेमा प्रकाश पारेका थिए । दिनको १२ बजेबाट शिव पुजा शुरु गरिएको थियो । हिन्दु संस्कार अनुसार निर्माण गरिएको जग्गेमा भगवान शिवको पुजा आराधना गरिएको थियो । ३ बजेबाट व्यासाचार्यले सांगितिक प्रबचन प्रस्तुत गरेका थिए ।

साझ ६ बजे शिव जीको सन्ध्याको आरती गरिएको थियो । नौ सय भन्दा बढि श्रध्दालु भक्तजनहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाली संस्कृति अनुसारका हलुवा, पुरी, तरकारी, अचार सहितका प्रसाद वितरण समेत गरिएको थियो । रातको दश बजे सम्म भजन कीर्तन संचालन भएको थियो ।

ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । हिन्दुहरुको प्रमुख पर्व हो महाशिवरात्रि भगवान शिव उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका हो । जसको पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको प्यारो दिनका रूपमा लिइने गरिन्छ ।

नेपालमा व्रतहरु मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने चलन रहेको छ । शिव रात्रिमा वर्त बसी ” ऊँ नमः शिवाय” मंत्र जप गरि सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

आयोजक समुहका अध्यक्ष गणेश पराजुलीले विगतमा भन्दा नेपालबाट व्यासाचार्य गुरुको प्रवचन सहित कार्यक्रम गर्न पाउदा खुशी लागेको बताउदै गुरु जी, भक्तजन तथा सम्पुर्ण सहयोगीहरुमा धन्यवाद व्यक्त गरेका छन् । पराजुलीले नेपालीहरुका मुख्य पर्वहरुमा नेपालबाट गुरु जीहरु जस्ता व्यक्तित्वहरुको साथमा मनाउन पाउदा कर्मभुमीमा मातृभुमीकै अनुभती भएको बताए । उनले चाड पर्वहरुमा कलाकार संग मात्र हैन अब आस्थाका धरोहरहरु गुरु महात्माहरु संग समेत प्रत्यक्ष ज्ञान श्रवण गर्ने अबसरहरु पनि श्रृजना गर्दै जानु पर्ने बताए ।

कार्यक्रमका सहभागी नेपालबाट भ्रमणमा आएका धर्म कोईरालाले नेपालमा भन्दा प्रवासमा सबै मिलेर उत्सवको रुपमा मनाएको देखेर खुशी लागेको बताए । उनले विदेशीदैमा धर्म संस्कृति नासिदैन भन्ने प्रमाण बोकेर नेपाल जाने बताए । फिलिन्डर युनिभर्सिटीका विद्यार्थी सरोज कार्कीले परदेशमा पनि एकै स्थानमा भेला भएर शिव रात्री मनाउदा नेपालमा जस्तै खुशीको महशुस भएको बताए ।

२०१७मा स्थापित समुहले प्रत्येक वर्ष शिवरात्रि विशेष कार्यक्रम गर्दै आएको छ । यस बर्ष कार्यक्रमको संयोजन नेपाल संस्कृत विश्वविद्यालयबाट शास्त्री तहको अध्ययन पुरा गरेका संभव सुवेदीले गरेका थिए भने कार्यक्रमको संचालन समुहका सचिव आर के शर्माले गरेका थिए । कार्यक्रममा समुहका अध्यक्ष गणेश पराजुली र उपाध्यक्ष सुरेन्द्र रेग्मीले व्यासाचार्य भुवन गुरुलाई दुवोको माला र रामनामीले सम्मान समेत गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार १४:११