१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परीक्षा नै नदिइ उत्कृष्ट अंंकसहित ८ कक्षा पास


२९ फागुन, नुवाकोट । नुवाकोटको एक विद्यालयले सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्षलाई परीक्षा नै नदिइ कक्षा ८ को परीक्षा उतीर्ण गराएको पाइएको छ । एक वर्षअघिकै घटना भए पनि राजनीतिक प्रभावमा लुकाएर राखिएको विषयका बारेमा दैनिकीले प्रमाणसहितको तथ्य फेला पारेको छ ।

जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ को शिखरबेशीमा रहेको बछला माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक अशोककुमार पण्डितले कानुनविपरित सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर तामाङलाई परीक्षा नै नदिइ कक्षा ८ को परीक्षामा उच्च अंकसहित उत्तीर्ण गराएका हुन ।

परीक्षामा सहभागी नै नभइ उत्कृष्ट अंकसहित उत्तीर्ण भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर तामाङको प्रवेश पत्र ।

शिक्षा ऐन अनुसार प्राथमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि सामान्य लेखपढ गर्न जान्ने, निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि कम्तीमा कक्षा आठ उत्तीर्ण गरेको हुनुपर्ने र माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि कम्तीमा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ । सोही अनुसारको योग्यता पुर्याउनका लागि तामाङलाई परीक्षा नदिइ उत्तीर्ण गराइएको हो ।

२०७८ सालको कक्षा ८ को गाउँपालिका स्तरीय वार्षिक परिक्षाको परिक्षा फाराम भराइ परीक्षामा उपस्थिति नै नभइ विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई ४२ विद्यार्थी मध्ये सातौँ स्थानमा उत्तीर्ण गराइएको छ । यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी परे पनि कुनै कारबाही नभएको पाइएको छ । अख्तियारमा दर्ता नम्बर c-045766 मा २०७९ असार १ गते उजुरी दर्ता भएको देखिन्छ ।

विद्यालयले परीक्षामा सहभागी नै नभइ उत्कृष्ट अंकसहित उत्तीर्ण गराएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ७ नम्बरमा ।

प्रधानाध्यापकले राजनीतिक प्रभावमा अध्यक्ष तामाङको शैक्षिक योग्यता पुर्याइदिनका लागि परीक्षा नदिइनै उत्कृष्ट अंकसहित उत्तीर्ण गराइदिएका हुन । तामाङ अहिले पनि व्यवस्थापन समितिको अध्यक्षमा रहेका छन । उनलाई नेकपा माओवादी केन्द्रले राजनीतिक संरक्षण दिएको छ । गाउँपालिकामा पनि उनको बारेमा समेत उजुरी रहेको र अध्यक्ष शंकर थापालाई सबै कुराको जानकारी भएर पनि कुनै पनि किसिमको कारबाही अघि बढाएका छैनन् । अध्यक्ष थापाले तामाङको बारेमा कुरा गर्न जाने स्थानीयलाई समेत हप्काउने गरेको बुझिएको छ ।

व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर तामाङको कक्षा ८ को परिक्षा फाराम भरिएको तथ्याङ्क अनुसार नाम डिल बहादुर तामाङ, जन्म मिति २०४५/०३/१७ गते, बुवाको नाम मान बहादुर तामाङ र तामाङको परीक्षा संकेत नम्बर ७८०६९००७ रहेको छ । डिल बहादुर तामाङले कक्षा ८ को वार्षिक परिक्षा फाराम भरेर विद्यार्थीको रुपमा रहेको तर परिक्षामा उपस्थित नभएको विद्यालयभित्र मात्रै होइन शिखरबेसीका सबै जनताले समेत जानकारी पाइसकेका छन । तर उनी अहिले पनि व्यवस्थापन समितिको अध्यक्षमै बाहल रहिरहेका छन ।

अख्तियारमा परेको उजुरी अनुसार तामाङलाई परीक्षा नै नदिइ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण गराउन तत्कालीन प्रधानाध्यापक अशोक कुमार पण्डित, सहायक प्रधानाध्यापक अच्युत थापाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ । तामाङसहित तीनै जना उक्त कसुरमा कारबाहीमा पर्नुपर्नेमा राजनीतिक संरक्षणमा थप पुरस्कृत भएर बसेपछि विद्यालय परिवारका अन्य सदस्य भने निराश भएका छन ।

आयोगमा परेको उजुरीमा तीनै जना व्यक्ति मिलेर विज्ञान प्रयोगशालाको नाममा भ्रष्टाचारको गरेको पनि उल्लेख गरिएको छ । उनीहरूले विज्ञापन प्रयोगशालाका नाममा नक्कली बिल बनाएर शिक्षा विकास निर्देशनालय वाग्मति प्रदेश हेटौडाबाट भुक्तानी लिएको दाबी उजुरीमा गरिएको छ । विज्ञान प्रयोगशालाको नाममा भएको भ्रष्टाचारमा गाउँपालिकाका इन्जिनियर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार अधिकारीको समेत संलग्नता रहेको दाबी गरिएको पाइएको छ ।

सामान नै नकिनी विज्ञान प्रयोगशाला बनेको भनेर गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत विनोदकुमार अधिकारीले भुक्तानीका लागि लेखेको पत्र ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १०:४९