१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चुच्ने नक्सा गायब गरेर नेफ्टाको ११ औँ संस्करण घोषणा, अवार्डका नाममा मानवतस्करी हुन लागेको भन्दै विवाद


२६ माघ, काठमाडौँ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा अवार्डको ११ औँ संस्करण विवादित बनेको छ । विदेशीको चाकरी गर्ने नाममा राष्ट्रिय स्वभिमानमा समेत आँच आउने गरी बिहीबार काठमाडौँको सोल्टी होटलमा नेपालको पुरानो नक्सा प्रदर्शन गर्दै ११ औँ संस्करणको नेफ्टाको सुरूवात भएको घोषणा गरिएको छ ।

वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको घोषणा भएको छ । अवार्डलाइ अमेरिकी  संस्करणको उपमा दिइएको छ । अवार्डको आगामी संस्करण अमेरिकाको टेक्सासमा जेठ १३ गते (२७ मे, २०२३) मा आयोजना हुने जानकारी दिइयो ।

सो अवसरमा अवार्डको ट्रफी समेत अनावरण गरिएको थियो । अभिनेता श्रेष्ठले ट्रफी नेफ्टा अध्यक्ष पुष्कर लामा र अध्यक्ष लामाले फेम नेपालका बिमल पछाइ र युएस खबरका ओम आचार्यलाई क्रमशः हस्तान्तरण गरे ।

गैरनाफामुलक संस्थाले अवार्ड नाफाका लागि नाफामुलक संस्थालाइ अवार्ड बेचेको भन्दै संघभित्र भने चरम विवाद भएको छ । दैनिकीको सम्पकर्मा आएका संघका एक सदस्यले अवार्डका नाममा अमेरिकामा मानवतस्करी गर्ने योजना बनाइएको बताए । उनले संस्थाको विवाद जिल्ला प्रशासन कार्यालय काठमाडौ हुँदै अदालतसम्म पुग्न सक्ने संकेत पनि गरेँ । संघका अध्यक्ष पुस्कर लामाले भने दैनिकीसँग कुरा गर्दै अवार्ड बेचिएको रकमको बारेमा अहिले जानकारी नभएको भन्दै मानवस्तकरी हुन लागेको भन्ने आरोप अस्वीकार गरे ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १७:३२