१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मानवअधिकार र प्रजातन्त्रको श्वेत वस्त्रभित्र लुकेको स्वार्थी अमेरिकी राजनीति


-सरोजकुमार तामाङ

संसदीय व्यवस्था अवलम्बन गरेर पनि विश्व सर्वहारावर्गको नेतृत्व गर्ने कम्युनिष्टहरु जब शक्तिशाली तवरले सत्तासीन हुन्छन र श्नमजीवीवर्गको पक्षमा पैरवी गर्न शुरु गर्छन् तब साम्राज्यवादी शक्तिहरुको निद हराम हुँदै जान्छ । त्यो बेला अप्रत्यक्ष या प्रत्यक्ष भेटघाट गरेरै भएपनि सम्बन्ध मजवुत बनाउनको साट्टो उल्टै धाक, धम्की, शोषण र उत्पीडनको शिकार बनाउने जस्ता अभिब्यक्तिहरु दिएर कम्युनिष्ट सरकारलाई कसरी हुन्छ गिराउने चलखेल गरेकै हुन्छ ।

यसको एक उदाहरण भरखरै मात्र आफूलाई संसारको शक्तिशाली राष्ट्रको दर्जा निर्धारण गर्ने साम्राज्यवादी शक्तिको नाईके अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डको नेपाल भ्रमण हो । भारत र चीनसँगको सम्बन्धको बारेमा यो बेला नेपाललाई पाठ पढाउन उनी अमेरिकाबाट भरखरै आएकी हुन् । अहिले नेपालको चीनसँगको घनिष्ठ सम्बन्धले झस्किएको अमेरिकाले आफ्नो उपविदेशमन्त्री नै नेपाल पठाउनुको मतबल उनीहरु यो बिषयलाई कति गम्भीरताका साथ लिन्छ भन्ने एक प्रमाण हो ।

आर्थिक दृष्टिकोणबाट नेपाल गरिब मुलुक भएपनि भौगोलिक हिसाबले अत्यन्तै संवेदनशील क्षेत्रमा रहेको हुँदा यसमा अमेरिकाले आफ्नो प्राथमिकतामा पार्नु नौलो बिषय त हैन तरपनि यो मुलुकको स्वाधीनता कसरी जोगाउने भन्नेमा हाम्रा राजनीतिक दलहरु भने सतर्क हुनुपर्छ । समाज बदल्ने विचार त आ-आफ्नो छदैँछ तर राष्ट्रियताको बिषयमा भने एकरुपता देखिनुपर्छ ।

पराईको दलाली र गुलामी गरेर यो मुलुकको अस्थित्व संकटमा पार्ने काम बन्द गरौं । चीनले एकपछि अर्को गर्दै विश्व भू-राजनीतिमा खेलेको महत्वपूर्ण भूमिकालाई दक्षिण एशियामा नेपालको माध्यमबाट कम गर्न र भारतलाई आफ्नो बजार क्षेत्रबाट उम्कन नदिन अमेरिकाले यो चाल खेल्दैछ । उसलाई के थाहा छ भने भारतसँग मिलेर चीनलाई खुम्च्याउन नसके आफ्नो दबदबा विश्वबाट फितलो हुँदै जानेछ भन्ने लागेको छ । विश्वको दुई उदयमान अर्थतन्त्रका महारथी चीन र भारत दुवैलाई युद्धको भूमरीमा फसाएर आफ्नो शक्तिलाई तेजले अघि बढाउन सकिन्छ भन्ने अमेरिकाको दाउ हो ।

मरसन्न अवस्थामा पुगिसकेको साम्राज्यवादलाई टालटुल गर्न रचिएको एक नाटक हो । अमेरिकाले यो विश्वमा जे गर्छ उसले आफ्नो स्वार्थको निम्ति मात्र गर्ने हो । त्यो कुरा राजनीतिको न्यूनतम आधारभूत कुरा थाहा हुनेहरु जो कसैलाई पनि जानकारी भएकै छ । तर पनि उसले मानव अधिकार र प्रजातन्त्रको वकालत गर्न भने छाड्दैन् । आफ्नै मुलुकमा दिनप्रतिदिन श्वेत र अश्वेतबीचमा जातीय द्धन्द्ध गराउने, अमेरिकी समाजमा विभिन्न सामाजिक हिंसा, हत्या र आतंकको श्नृंखला मच्चाउनेहरु आज विश्वलाई मानव अधिकारको पाठ पढाउँदैछ ।

विश्वका गरिब मुलुकहरुलाई शोषण, दमन र उत्पीडन गर्ने अमेरिकी शासकहरुले सुशासनको प्रवचन दिदैँछ । जसले विश्वभर आफ्नो साम्राज्यवादी हैकमलाई दिनमा दुई गुणा रातमा चौ गुणा विस्तार गर्दैछ, उसैले आज नेपाललाई आफ्नो सार्वभौमसत्ताको ख्याल राख्नु भन्दैछ । यो भन्दा ठूलो घृणित र लाजस्पद बिषय अरु के नै हुनसक्छ र !! अरु मुलुकको आन्तरिक राजनीतिमा दखल पुर्याउने, उसको प्रकृतिक स्रोत साधन लगायत सम्पूर्ण क्षेत्रमा आफ्नो अधिपत्य जमाउने अनि किन भनेर प्रश्न गर्दा सैनिक आक्रमणको धम्की खानुपर्ने यो कस्तो मानव अधिकार हो ?

यसलाई मानव अधिकार भन्दानि उल्लंघन भनिन्छ । मानव अधिकारको हनन् भनिन्छ । यो अमेरिकाको दादगिरी हो । मानव अधिकार र प्रजातन्त्रको श्वेत वस्त्रभित्र सामरिक महत्वका बिषयहरुलाई घुसाउँदै चलखेल गरिन्छ भने त्यो अमेरिकी साम्राज्यवादका अवयवहरुलाई संस्थागत गर्ने रणनीति हो । विश्व अर्थ-राजनीतिलाई अमेरिकीकरण गर्ने दाउ हो । प्रजातन्त्रको भाष्यमा अमेरिकीवादलाई परिभाषित गर्नु हो ।

अमेरिकी दादागिरीलाई मानव अधिकार र प्रजातन्त्रको पाठ्यक्रममा थप्दै भगवानको दर्जा प्रदान गर्नु हो । उक्त कुराहरुको अवज्ञा जो कसैले गरेको खण्डमा दण्डको व्यवस्था यशुले हैन, आधुनिक भगवानको रुप अमेरिकाले गर्छ भन्ने हो । विश्व राजनीतिको आत्मा र परआत्मा कोहि छ भने त्यो अमेरिका नै हो भन्ने सन्देश प्रवाह गर्नु हो ।

विश्वको सर्वोच्च अदालत हामी नै हो भन्ने बिजारोपण प्रत्येक मुलुकलाई दिलाउनु हो । उसको गल्तीको बिषयमा कुरा उठाउन नपाउने तर अरुको आन्तरिक मामिलामा भने बारम्बार हस्तक्षेप गर्दै यो गर, त्यो गर भन्ने अमेरिकाले परिभाषित गर्न खोजिएको कुनैपनि मुलुकको सार्वभौमसत्ता कस्तो होला ? आफू अनुकूल विश्व राजनीति डोर्याउन चाहने अमेरिकाले अन्य मुलुकलाई स्वतन्त्रपूर्वक जिउन नदिने हो भने तेस्रो विश्वयुद्ध अब धेरै टाढा छैन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १०:१८