१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सामाजिक क्रान्ती त गर्याैँ समाजवादी क्रान्ती खै ?


-सरोजकुमार तामाङ

हामीले राजनीतिक व्यवस्था त फेर्यौं तर आर्थिक, सामाजिक र साँस्कृतिक व्यवस्था फेर्न सकेका छैनौं । परिवर्तनका यी आयामहरुलाई रुपान्तरण गर्न यसलाई संविधानमा पनि लिपिवद्ध गरेका छौं । अब ती रुपान्तरणहरु क्रान्तिबाट सम्भव हुन्छ या शान्तिपूर्ण तवरबाट भन्ने मात्र हो । इतिहासले के बताउछ भने कुनैपनि परिवर्तन बिना क्रान्ति सम्भव छैन् किनकि बहुसंख्यक जनतालाई शोषण र उत्पीडनमा राखेर राज्यमाथि हालीमुहाली गर्नेहरुले सजिलै सत्ता त्याग्न चाहदैँन् । ती सामन्तवर्ग, दलाल नोकरशाही पुँजीपतिवर्गहरु र साम्राज्यवादी शक्तिका घरेलु एजेन्टहरुले स्वस्फूर्त सत्ताको चावी सर्वहारावर्गलाई सुम्प्याउँदैन् । त्यसैले त्यहाँ भीषण क्रान्ति हुन्छ नै । नचाहदाँ नचाहदै पनि वर्गसंघर्षको दौरानमा रक्तक्रान्ति हुन्छ नै । क्रान्तिको सफलतापछि पनि खोस्ने र खोसाउनेबीचमा द्धन्द्ध चलेकै हुन्छ । हामी त्यो बेला चुप लागेर बसेको खण्डमा फेरी प्रतिक्रान्तिकारी शक्तिहरुले टाउको उठाउने कोशिस गर्छ । अहिलेको राजनीतिक अवस्था हेर्दा पनि प्राप्त गरेका राजनीतिक उपलब्धिहरु समेत गुम्ने खतरा पैदा हुँदैँछ ।

तर, यहाँ चर्चा गर्न खोजिएको बिषय वस्तु सामाजिक क्रान्ति नभएर समाजवादी क्रान्ति हो । संविधानको प्रस्तावनामै उल्लेख गरिएको समतामूलक समाज निर्माण गर्ने क्रममा पुग्न हामीले समाजवादी क्रान्ति नगरी त्यो लक्ष्य हासिल गर्न सक्दैनौं । सामाजिक क्रान्ति र समाजवादी क्रान्तिबीच आधारभूत रुपमै फरक रहेको छ । शोषण र उत्पीडनका सबै रुपहरु सामाजिक क्रान्तिले निर्मूल गर्न सक्दैन भने त्यसको ठिक विपरीत समाजवादी क्रान्तिले भने सदाको लागि सबै प्रकारका शोषणका रुपहरुलाई उन्मुलन गर्दै वर्गरहित समाज निर्माणको दिशा उन्मुख हुन्छ । त्यो नै वास्तवमा साम्यवादी समाजको प्रारम्भिक चरण पनि हो ।

पुँजीवादीहरुले भन्ने गरेको समतामूलक समाजको केही अंश यसमा मिल्न खोज्छ । अहिले हाम्रो मुलुकको सन्दर्भमा भएको पनि त्यहि हो व्यवस्था फेर्यौं तर जनताको अवस्था फेर्न सकिएनौं । कारण; शोषण, दमन, अन्याय, अत्याचार लगायत सबै प्रकारका सामाजिक विभेदको अन्त्य गर्न र पुरानो राज्यसत्ताका आधार र अवशेषहरुलाई जरैदेखि निर्मूल पार्न सकेनौं । समाजलाई यथास्थितिमा राखेर प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी शक्तिहरु उदयमान हुँदैँछ ।

सामाजिक क्रान्तिहरुले सामन्तवादलाई अन्त्य गर्दै नयाँ राजनीतिक कोर्ष त स्थापना गरे तर बहुसंख्यक जनताको हित अनुकूल नयाँ अर्थव्यवस्थाको निर्माण गर्न सकेन् । अर्थतन्त्रमा त्यही पुरानो व्यवस्थाका अवयवहरु नै रहेका छन् । नेपालको अहिलेको परिस्थिति पनि ठ्याँक त्यहि हो । हामीले राजनीतिक कोर्ष त परिवर्तन गरेऔं । राजनीतिक परिवर्तनलाई नै सबैथोक ठानेर बस्दा आज आर्थिक हिसाबले दिनप्रतिदिन अरुको दासत्व स्वीकार्नुपर्ने बाध्यता देखिँदैछ । अलिकति भएपनि हिजो जिविकापार्जनको निम्ति समाज उत्पादनसँग जोडिएको थियो भने आज पूरै उपभोक्तामुखी भएको छ ।

समाजवादी क्रान्तिहरुले सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद, साम्राज्यवाद लगायत सबैप्रकारका वैदेशिक हस्तक्षेप बिरुद्ध लड्दै स्वाधीन अर्थतन्त्रको बिजारोपण गर्दछ । यो नै आजको हाम्रो मुलुकको मूल आवश्यकता पनि हो । जबसम्म दलाल नोकरशाही पुँजीपतिवर्ग र साम्राज्यवादी शक्तिहरुको बिरुद्ध धावा बोल्दैनौं तबसम्म हामी आर्थिक दासत्वको जंजीरबाट मुक्त हुनसक्दैनौं । बिना आर्थिक स्वतन्त्र हामी यो व्यवस्थालाई टिकाउने नाउमा भौतिक पुर्वाधार मात्र खडा गर्दै जाने हो भने त्यही निगम पुँजीवादका सस्ता र गुणस्तरहीन बस्तु तथा सेवाहरु मुलुकको कुना कन्दरासम्म बेच्दै झन समाजलाई पुर्ण बहुराष्ट्रिय कम्पनीका बजारले कब्जा गर्नेछ ।

हामीले निर्माण गरेका भौतिक पूर्वाधारहरुलाई प्रयोग गर्दै समाजमा उत्पादित कृषि उत्पादनहरु लगायत अन्य कुटिर उद्योगका मालसामानहरुले बजारसम्मको पहुँच प्राप्त गर्नुपर्नेमा उल्टै बहुराष्ट्रिय कम्पनीहरुका मालसामान बेच्न प्रयोग भएको छ, जसले केहिमात्रामा भएको उत्पादन पनि शुन्यमा पुर्याउँदैछ । त्यसैले समाज सामूहिकताको उत्पादनसँग जोडिन समाजवादी क्रान्तिको आवश्यकता तत्काल देखिन्छ ।

सामाजिक क्रान्तिले राजनीतिक परिवर्तन गरेतापनि आर्थिक परिवर्तन गर्न चाँसो नदिने हुँदा उत्पादनका साधनहरु त्यही पुरानो सत्ताका आधार र अवशेषमै रहेको हुन्छ । जसको कारण समाजमा पुरानो उत्पादक र उत्पादनका साधनहरुबीच वर्गसंघर्ष जारी नै रहन्छ । त्यो बेला समाजको चौतर्फी विकास हुनुपर्नेमा उल्टै धनी र गरिबबीच ठूलो खाडल पैदा हुन्छ । नेपालको समस्या पनि यहि हो । अहिले हामी लोकतन्त्र भनेर चिच्याउँदै गर्दा उत्पादनका मालिकहरु त्यहि पुराना र सिमित व्यक्तिहरुमा निहित हुँदा अतिरिक्त नाफाको निम्ति मालसामानहरु उत्पादन गरिदै दैनिक उपभोग्य वस्तु तथा सेवाहरु दिनप्रतिदिन महंगो हुँदै आएको छ ।

जनतालाई चाहिने वस्तु भन्दापनि विलासितिका वस्तु तथा सेवाहरुले विश्व बजारलाई कब्जा गर्दैछ । चाहिने भन्दा ज्यादा उत्पादन सिमित व्यक्तिहरुको कम्पनीले गर्दैछ । यसरी सिमित ब्यक्तिहरु धनी बन्ने क्रम जारी छ भने बहुसंख्यक जनताहरुलाई गरिबीको खाडलमा पुरिदैछ । यस्तो बेला राज्यको अधिकांश पुँजी सिमित ब्यक्तिहरुको बैंक खातामा जम्मा हुँदा राज्यले चरम आर्थिक मन्दी बेहोर्नुपर्छ । त्यसैको परिणाम एकपछि अर्को गर्दै प्रेमप्रसाद आचार्य जस्ताहरुले आत्मदाह गर्नुपर्ने दिन आउँछ ।

यसको ठिक विपरित समाजवादी क्रान्तिले राज्यको सम्पूर्ण स्रोतसाधन र बहुसंख्यक जनतालाई आर्थिक उन्नति र प्रगतिमा संलग्न गर्दछ र असमानताको समाजबाट समानताको नयाँ मार्गलाई पछ्याउँदै समृद्धिको ढोका खोल्दै जान्छ । यसका निम्ति समाजवादी क्रान्तिको मुल उदेश्य नै सर्वहारावर्गको राज्यसत्ता निर्माण गर्नु हो । बहुसंख्यक गरिब, किसान, मजदुर, सर्वहारा र श्नमजीवीवर्गको सत्ता बेगर यो सम्भव छैन् ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार ११:२९