१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

-सरोजकुमार तामाङ

सरकार फेरियो, सत्तारुढ दलहरु फेरिए तर शोषणप्रथा फेरिएन किनकि दलभित्रका सामन्त र शोषकवर्गहरु उही भए । पुरानोको ठाउँ नयाँ जोगीहरुले लिदैँमा जनताको शासन भन्न सकिन्नँ जब शोषण, उत्पीडन, दमन, अन्याय, अत्याचार लगायत सम्पूर्ण सामाजिक भेदभावका आधार र अवशेषहरु जिवित्तै हुन्छ भने ।

परिवर्तनका संवाहकहरु सर्वशक्तिमान हुनुपर्ने ठाउँमा त्यही पुरानो शोषण दमनका छोटे राजनहरु अझ शक्तिशाली हुँदै आउनु प्रतिगमन हो । शोषणका लगाम समात्नेहरु नफेर्ने अनि घोडामात्र फेरेर परिवर्तन कसरी सम्भव हुन्छ ? जुन चीज फेर्नुपर्नेछ, त्यो फेरिएको छैन; जुन चीज नफेर्नुपर्ने हो त्यो फेरेकै फेरेइ छ । गरिखानेको दिन आउनुपर्नेमा नगर्दा नै खान पुग्नेहरुले राज्यको सबै संयन्त्रहरु आफ्नो अधिनमा राख्दा ईलामको प्रेम आचार्य जसरी आत्मदाह गर्नुपर्ने दिन आउँछ ।

नचाहेर पनि मर्नुपर्ने बाध्यता उसको व्यक्तिगत चाहानाले होइन । यो त लोकतान्त्रिक व्यवस्थाभित्र हुँर्केको कुप्रथाले गर्दा हो । जनमतले काँटछाँट गर्दै असमानताको जगलाई सामाजिक समानताको आधार बनाउनु पर्नेमा उल्टै सिमित मुठ्ठीभरका लागि मलजल गर्दै गरेको देखिन्छ । अब यो बेला दन्किएको क्रान्तिको राँकोले सिंहदरवारलाई नजलाउन भन्न सकिन्न । हुनेले त खाएकै छ नि, नहुनेलाई पो खुवाउनु पर्छ त । राज्यको धर्म यही होइन र ? न्यायभीरुले नजानेको हो कि श्नमजीवीवर्गले नबुझेका हुन् ।

जनता आफैं जान्ने सुन्ने भए किन आफ्ना जनप्रतिनिधि पठाउनु पर्थ्यो र ? नजानेको र नबुझेको जनतालाई बुझाउने र सहि मार्गनिर्देश गर्ने दलहरु नै पदको लागि लडाई गरिरहँदा जनता अन्यायमा पर्नु अस्वभाविक भएपनि स्वभाविकै हो । यो मुलुकलाई जबसम्म सामन्तवर्ग, दलाल नोकरशाही पुँजीपतिवर्ग र साम्राज्यवादी शक्तिहरुका घरेलु एजेन्टहरुबाट मुक्त गरिदैँन तबसम्म न्यायिक समाजको कल्पना नगरे हुन्छ । यी हामीमाथि निर्भर रहने परजीवीहरु हुन् । यिनले जनताको रगत र पसिना सोस्नु बाहेक अरु केही जानेको हुँदैन् ।

अहिलेसम्म हामी अरुको निम्ति लडेका रहेछौं ॥ त्यसैले, हे सम्पूर्ण श्नमजीवीवर्गहरु हो !! फेरी एकपटक हामी हाम्रो लागि लड्न एकतावद्ध हौं किनकि तपाई हाम्रा वर्गीय दुश्मन एकै हो । यिनको रंग र जात फरक भएपनि शोषण, दमन र उत्पीडन गर्ने गुण एकै हो । मुक्तिको संग्राहमा आ-आफ्ना ठाउँबाट उठौं जागौं किनकि यो धर्तीमा बाँच्न पाउने हक हाम्रो पनि छ । यी दलालहरुलाई जरैदेखि उन्मुलन नगरे बारम्बार हामी अन्याय र अत्याचारमा जिउनुपर्छ ।

जिन्दगीभर दासत्वको जंजीरले बाँधिएर बस्ने भन्दा बरु केहीदिन भएपनि न्यायको सास फेरेरे मर्न पाऔं । जति पसिना बगायौं त्यति यिनीहरुको ऋणी भएर बाँच्नु भन्दा मुक्तिको संग्राहमा समाहित हौं । हामीले हामीभित्र लुकेर बसेको तागतलाई चिन्ने कोशिस गरौं । यी शोषक सामन्ती, दलाल नोकरशाही पुँजीपतिवर्गहरु के थाहा छ भने राज्य संयन्त्रका औजारहरु आफ्नो हातमा एकत्रित नगरे उनीहरुको अस्थित्व समाप्त हुन्छ भन्ने छ । हामी विभक्त बनेर हैन, एकतावद्ध भएर जनताको जनवादी व्यवस्था ल्याउन लागौं ।

यदि हामी रोइकराई र ती सामन्तीवर्गलाई न्यायको निवेदन मात्र दाखिला गरेर बस्ने हो भने हाम्रो सुखको दिन आउने छैन् । यो स्वार्थी संसारमा न्याय पैसामा बिकिसकेको छ । पैसाको निम्ति भौतारिनेहरुलाई न्यायको कठघरामा अपराधी सावित गर्न उभ्याउँदैछन् । पैसाको बिटोले नियम कानूनलाई पुर्दैछ । यो सामन्ती संस्कारमा हुँर्केका न्यायाधीशहरु अन्यायमा परेकाहरुलाई न्याय दिलाउनुको साट्टो सामन्तवर्गको घरघरमा भतुवा बन्दैछ ।

न्यायाधीशहरु नै पैसाको लागि पशुबजारको खसी बोका जसरी बिक्न थालेपछि अब न्यायको बली नचढि, अरु के चढ्छ । अर्कोतर्फ, कानूनका ठेक्केदार भनौदाहरु नै विधि र पद्धतिको धज्जी उडाउँदै सामन्तवर्गको निम्ति होम सर्भिस गर्न तल्लीन देखिन्छ । लोकतन्त्रमा न्याय पनि भगवान भरोसामा परिन्त हुनु कति दुखदायी कुरा भो ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १०:२५