२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

१० माघ, दमक । कवी जानुका खतिवडाद्वारा लिखित लोपोन्मुख सन्थाल जातिको जीवनीमा आधारित उपन्यास ‘आतोओडा’को गौरादहमा विमोचन गरिएको छ । गौरादह साहित्य समाजले सोमबार आयोजना गरेको कार्यक्रममा संविधानसभा सदस्य दीपक कार्कीले उपन्यास विमोचन गरे ।

पूर्वीझापा, मोरङ र सुनसरीमा मुख्य बसोबास गर्ने यो समुदायको जीवनीमा आधारित उपन्यास पहिलो पटक प्रकाशित भएको लेखक खतिवडाले दाबी गरे । त्यस अवसरमा वक्ताहरुले उपन्यासले सन्थाल समुदायको जीवन सङ्घर्ष, भूमिहीन तथा नागरिकता विहीनताको कथाव्यथा र कठिनाइलाई मुखरित गरेको उल्लेख गरे ।

काठमाडौँमा रहेर साहित्य क्षेत्रमा लेखकले आफ्नो जन्मस्थानको विषय परिवेशलाई आधार बनाएर उपन्यास लेखेको बताए। उनको यो आफ्नो पाचौँ कृति हो ।

कार्यक्रममा कलम प्रकाशनका नरेन्द्रकुमार नगरकोटी, गौरादह नगरपालिकाका सामाजिक विकास समितिका संयोजक दुर्गामणि बस्नेत, लेखक तथा साहित्यकार कृष्ण अविरल, गौरादह बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख भोजराज दाहाल, गौरादह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गोपालप्रसाद काफ्ले, सन्थाल समुदायकी अगुवा लक्ष्मी मर्डीले उपन्यासले सन्थाल जातिको सामाजिक चित्रण गरेकोमा जोड दिएकी थिइन् ।

कार्यक्रममा गौरीगञ्ज २ कोरोबारीको जोयोड झरना सन्थाल युवा क्लबले जातीय संस्कृति झल्काउने नृत्यसमेत प्रदर्शन गरेको गौरादह साहित्य समाजका अध्यक्ष खगेन्द्र न्यौपानेले जानकारी दिए ।

सांसद साँवाद्वारा ११ विद्यार्थीको अभिभावकत्व ग्रहण

झापाको क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद एलपी साँवाले ११ जना विपन्न तथा जेहेन्दार छात्रछात्राको अभिभावकत्व ग्रहण गर्नुभएको छ । साँवाले सो पालिकामा पर्ने डिल्लीराज मावी र त्रिभुवन आधारभूत विद्यालयमा अध्ययनरत ती विद्यार्थीलाई एसईइसम्मको अध्ययनका लागि आवश्यक विद्यालय पोसाक, स्कुल ब्याग र स्टेशनरी सामग्रीसमेतको सम्पूर्ण खर्च आफनो निजी स्रोतबाट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

आफनो निर्वाचन क्षेत्रमा रहेका समस्याको स्थलगत जानकारी लिने क्रममा ती विद्यालयमा पुग्नुभएका साँवाले सम्बन्धित विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा विद्यार्थी माझ त्यस्तो प्रतिबद्धता जनाउँदै आवश्यक सहयोग उपलब्ध गराउने बताए।

त्यस अवसरमा सांसद साँवाले झापा र गौरीगञ्ज गाउँपालिकालाई जोड्ने हुलाकी मार्ग अन्तर्गतको निर्माणाधीन कन्काई पुलकोसमेत निरीक्षण गरे । उहाँले पटक–पटक म्याद थप भएर पनि पूरा हुन नसकेको सो पुलको निर्माण तत्काल पूरा गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन समेत दिए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १५:०६