१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023

रवि, राजेन्द्र र कट्टु खुस्किएको सुशासन

-सरोजकुमार तामाङ

वैदेशिक रोजगारको ठगी मुद्दामा संलग्न व्यक्ति डोलप्रसाद अर्याललाई तालुकदार मन्त्रालयको जिम्मेवारी दिनु समाजमा भ्रष्ट र नैतिकपतनहरुलाई राजनीतिमा कारबाही हैन पुरस्कृत गरिन्छ भन्ने अघोषित सन्देश दिनु हो । घाँटी सुक्ने गरी विगतमा सुशासनको बारेमा चिच्याउने रविको हविगत पनि जनताले गृहमन्त्री बनेको सयदिन नबित्दै देखिँन थाले ।

विगतको रविको नौटंकीलाई भगवानको स्वरुप प्रदान गर्नेहरु आज मौनब्रत साध्नु पक्कै पनि केहि गडबडी रविले गरेरै हो । भ्रष्टाचारी, तस्करी र माफियाहरुलाई नाकको डाँडी भाच्ने गरी हान्नुपर्छ भन्ने रविले अब आफ्नै नाकको डाडी चै भाच्छ या भाच्दैन; त्यो थाहा भएन तर जनताले यिनको राजनीति मेरूदण्ड चाहिँ अवस्य भाँच्ने छ ।

छोटो समयमा लोकप्रियता कमाएको रविले छोटो समयमै वेथितिको संस्कार बसाउन विश्व रेकर्ड नै राख्ला जस्तो देखिदैँछ । रविको लागि यो भन्दा ठूलो गलत राजनीतिक उपलब्धि अरु हुनसक्दैन् । जसरी उदाए त्यसरी नै अस्ताउने मार्गमा रविको राजनीति देखिन्छ । राजनीतिको ब्रमाण्डमा उदाउनु र अस्ताउनु कुनै नयाँ र नौलो विषय त हैन तर पनि लामो समयदेखिको राजनीतिक विकृतिलाई धोईपखाली गर्ला कि भनेर सानो आशाको त्यान्द्रो राखेको जनतालाई फेरी निराशा बनाउने काम गर्दैछ ।

राजनीति एक फोहोरी खेल हो भन्ने भाष्यलाई झन पुर्नै नसकिने गरी आकार दिदैँछ । यसको सिधा असर धनी र गरिबबीच विद्यामान समाजमा देखिएको खाडललाई गहिरो बनाउँदै वर्गीय संघर्षलाई थप मलजल पुर्याउने भयो । रवि लामिछाने खेमाको म्यानपावर र रेमिट्यान्स व्यवसायीलाई श्नम मन्त्रालयको चावी दिँदा मुलुकमा सुशासन आउने अरुको खेमालाई दिँदा नआउने यो कस्तो सुशासनको परिभाषा हो ?

अर्कोतर्फ, सहरी विकासका आयोजनाहरु अलपत्र पार्ने कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे नै ‘भ्रष्टाचार गर्नु आमाको मासु खानु बराबर हो’ भन्ने राजेन्द्र लिङ्देनको तर्फबाट सहरी विकासमन्त्री बनेपछि त्यस भनाईको उचित्त जवाफ खोज्न कसलाई गुहार्ने होला ? भ्रष्ट ठेक्केदारलाई उही क्षेत्रको सर्वेसर्वा अधिकार दिनु भनेको लिङ्देनले आमाको मासु खाए बराबर भएन र ?

सत्ताको निम्ति र्याल चुहाउनेहरुले सोझा सिधा जनतालाई कसरी बोलीको भरमा घुमाउन सक्दो रहेछ भन्ने एक उदाहरण रवि र लिङ्देनले पेश गरेको छ । यति नभनेसम्म चुनाव जित्न सकिदैँन भन्ने हिसाबकिताबको साथ बोलिएको हो भने लिङ्देनको राजनीति पनि प्रचन्डको भन्दा के फरक भयो र ? सबैको उदेश्य जनतालाई झुक्याएर वेथितिको संस्कार नै बसाउने हो भने प्रचन्डले माओवादी, लिङ्देनले राप्रपा र रविले स्वतन्त्र भनेर किन दलगत विभाजन गर्नु ?

जुनसुकै दलबाट जितेर आएपनि त्यही भ्रष्टाचारको दोबाटोमा भेट हुन्छ भने जनतालाई यो या त्यो दलको नामबाट किन झुक्याउनु ? बाहिरी आवरण युवाको भिरेर भित्री व्यक्तिगत लेनदेनको हिसाब गर्ने हो भने युवा नेतृत्वको नाउमा यो कलंक मात्रै हो । कलंकित हुन राजनीति गर्ने नै हो भने त्यही पुरानै दलहरुबाट टिकट लिएर जितेको भए थप कलंकित हुदैँन्थ्यो !! ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हो’ भन्ने लिङ्देनको भनाईलाई जनताले ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्ने उक्तिले विस्थापित गर्नु पर्ने भो ।

अब संसदमा बोल्ने क्रममा रवि र लिङ्देनले के अर्को नाटक रच्ला !! नाटकै नाटकको राजनीतिमा नेपाली जनता भने दर्शकको भूमिका बाहेक अन्य पात्रको रुपमा फिट नहुने भो । जब विश्वासको भगवानहरुले आफ्नो वास्तविक राक्षसी अवतारको रुप धारण गर्छन् तब जनता आफूले दिएको मतप्रति पश्चाताप गर्न विवश हुन बाहेक सुनौलो दिनको कामना गर्न सकिन्न ।

वास्तवमा यो रवि र लिङ्देन जस्ता दहिचिउरेहरुको गल्ती भन्दापनि हामीले अवलम्बन गरेको मिश्नित निर्वाचन प्रणालीको दोष हो । यो प्रणालीबाट कसैको पनि स्पष्ट बहुमत नआउने हुँदा बेईमानी र नैतिकपतनहरुले मात्र राज्यको निर्णायक ठाउँहरु जनताकै शासन व्यवस्था भन्ने साईन बोर्डभित्र हालीमुहाली गर्ने हो । यसैगरी सरकार भ्रष्टहरूका लागि स्वर्ग बन्दै गएको छ ।

जबसम्म राज्यको निर्णायक तहहरुमा जनमतले दलाली, विचौलियाहरु हैन; गरिब, किसान, मजदूर, सर्वहारा र श्नमजीवीवर्गको प्रतिनिधित्व हुँदैन तबसम्म जनतालाई झुक्याउने खेलको अन्त्य हुँदैन् । कथित महान् क्रान्तिको सुप्रमो प्रचन्ड नेतृत्वको छत्रछाँयामा भ्रष्टहरुले मन्त्रीको पद पाउँदै जाने परम्पराले निरन्तरता पाउनु व्यवस्था परिवर्तन भएको हैन् । त्यसलाई उल्टै संस्थागत गर्नु हो । प्रचन्डले विचौलियाको छलांङ्ग मारेको मात्र हो । सत्ताको निम्ति जोसँग पनि हात मिलाउन तयार प्रचन्डबाट यो मुलुकले निकास पाउन सक्दैन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १०:३३

UniversityCollege.com