१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

शैलुङलाई नमुना बनाउने एमाले नेता दुलाल भन्छनः राजनीति विज्ञान र कला दुबै रहेछ


आफूले पाएको जिम्मेवारी सफलतापूवर्क सम्पन्न गर्न रातदिन लागि पर्ने व्यक्ति हुन् भरत प्रसाद दुलाल । नेकपा एमाले दोलखाको २ पटक पार्टी सचिवको जिम्मेवारी पूरा गरिसकेका दुलाल २०७४ साल बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत शैलुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

गत वर्ष २०७८ सालमा नेकपा एमाले दोलखाको पार्टी अध्यक्षमा पराजित भए तापनि शैलुङ गाउँपालिकाको विकासको लागि भने विजयी भएको मानिन्छ । पार्टीभित्र अधिकांश नेता कार्यकर्ताले उनलाई सैद्धान्तिक, अध्ययनशील, मिहिनेती र परिश्रमी नेताको रुपमा चिन्दछन् । शैलुङ गाउँपालिका बागमती प्रदेशमा मात्र होइन, देशकै नमूना पालिकामा चिनाउन सफल पूर्वपालिका अध्यक्ष भरत प्रसाद दुलालसँग जीवन लामाले गरेको कुराकानी ।

तपाईको दैनिकी कसरी चल्दैछ ? सामाजिक सञ्जालमा त निकै सक्रिय देखिन्छ नि ?

-अहिले म कार्यकारी जिम्मेवारीमा नभएकोले लेख्ने, पढ्ने, समीक्षा गर्ने काममा तल्लीन रहेको छु । सामाजिक सञ्जालबाट सिक्न र आफ्नो धारणा अवगत गराउन सकिन्छ जस्तो लाग्दछ ।

गाउँपालिका र पार्टीको भूमिकामा नहुँदा समय कटाउन गाह्रो भईरहेको छ कि ?

-अहिले पार्टी कामको जिम्मेवारी पनि मूर्त नभएकोले स्वअध्ययनमा समय बिताइरहेको छु । नयाँ नयाँ विषयहरु अध्ययन गर्न र जानकारी हासिल गर्न पाउँदा समय गएको पत्तो नै पाइदैन ।

गाउँपालिकाका अध्यक्ष हुँदा बागमती प्रदेशकै उत्कृष्ट पालिका बनाउन सफल हुनु भयो । अहिले पनि जनताले भरत दुलाल जस्ता पालिका अध्यक्ष खोजिरहेका छन् । फर्केर हेर्दा कस्तो लागिरहेको छ शैलुङ गाउँपालिका ?

-शैलुङ गाउँपालिकाको पहिलो अध्यक्ष हुँदा सबै कामहरू प्रायः शुन्य अवस्थाबाट सुरु गरिएको थियो । कानुनको अभाव, कर्मचारी अभाव, भौतिक संरचना भूकम्पबाट ध्वस्त भएको त्यो परिस्थिति, कोरोना महामारी बीचबाट शैलुङ गाउँपालिकामा जे जति योगदान गर्न पाईयो र देशले नै चिन्ने शैलुङ गाउँपालिकाको पहिचान स्थापित गराउन पाएकोमा गर्व अनुभुति भईरहेको छ ।

तपाई गाउँपालिका अध्यक्ष हुँदा सम्पन्न गर्न नसकेका र भर्खर थालेका विकासका कार्यहरु आगामी दिनमा पूरा हुन्छ भन्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?

-गाउँपालिका दीर्घकालीन रुपमा कस्तो बनाउने भन्ने सन्दर्भमा मुल नेतृत्वको दृष्टिकोण महत्त्वपूर्ण रहन्छ । शैलुङ गाउँपालिकालाई २० वर्षपछि देशकै नमूना गाउँपालिका बनाउने उद्देश्यका साथ हामीले आधारहरु निर्माण सुरु गरेका थियौं । वर्तमान गाउँपालिकाको नेतृत्वले त्यहीँ लक्ष्यका साथ अघि बढोस् भन्ने हाम्रो शुभेच्छा छ ।

तपाई जत्तिका सक्षम, क्रियाशिल, सैद्धान्तिक, स्पष्ट वक्ता, लगनशील, उर्जाशील, मिसन र भिजन दुवै भएको, सबै सबै गुण हुँदा पनि न त पालिकाको, न त प्रदेशकै टिकट ? मनमा खिन्नता कत्तिको छाएको छ ?

-राजनीति सरल रेखामा अघि बढ्दैन भन्ने कुरा हामीलाई थाहा छ । यथास्थितिमा रमाउने र परिवर्तन चाहनेहरुका बीचमा अन्तरसङ्घर्ष चलिरहन्छ । कहिलेकाही २ कदम पछि पनि परिन्छ तर हामी हाम्रो उदेश्यमा अविचलित अघि बढी रहनुपर्छ । यो दीर्घकालीन बाटो हो अवरोधहरु आउछन् समाधान गर्दै जानुपर्छ । राजनीति सामुहिक अभियान भएकोले कहिलेकाही टिमको नेतृत्वमा फेरबदल भयो भने पनि खुशी भएर टिमलाई सहयोग गर्नुपर्दछ । मुख्य कुरा सकारात्मक परिवर्तन र लक्ष्य हो भन्नेमा ढुक्क हुुनुुपर्छ ।

पार्टीको होस या जुनसुकै क्षेत्रको नेतृत्व गर्ने अवसर पाउनको लागि के चाहिन्छ जस्तो लाग्छ ? तपाईको जस्तो इमानदार, निष्ठवान गुण भएकाले काम गर्दैन रहेछ हो ?

-राजनीति विज्ञान र कला दुबै हो । विज्ञानमा मात्र विश्वास गर्दा कलाको अभाव हुन पुग्दछ । अहिलेको समय संक्रमणकालीन समय नै हो । राजनीतिभित्र गैरराजनीतिक प्रभावहरुले हस्तक्षेप गरेको छ । यस्तो बेलामा केही तलमाथि हुने सम्भावना धेरै हुन्छ । फेरि पनि हामी सबै इतिहासको कठघरामा दाँजिन तयार हुनुपर्छ । जहाँ रहे पनि राम्रो काम गर्दै जानुपर्छ फलको आशामा रुमलिनु हुँदैन जस्तो लाग्छ ।

अबको पाँच वर्षे समयलाई कसरी सदुपयोग गर्ने योजनामा हुनुहुन्छ ?

-अबको समयमा अध्ययनलाई निरन्तरता दिनुपर्छ भन्ने निस्कर्षमा पुगेको छु । अध्ययनबाट इतिहास, वर्तमान र भविष्यको सहि निरुपण गर्न सकिन्छ जस्तो लाग्छ ।

तपाई समय, परिस्थिति, अवसर, जिम्मेवारीलाई बुुझेको, चिनेको, भोगेको हुनाले अहिले यत्तिको उर्जाशील समय त्यत्तिकै खेर गईरहेको छ भन्ने लाग्दैन ?

-समयले हामीलाई धेरै पाठ सिकाइरहेको हुन्छ सदुपयोग गर्न चुक्नु हुँदैन । यो समय मेरो व्यक्तिगत जीवन र पारिवारिक व्यवस्थापनका लागि पनि महत्वपूर्ण अवसर हो । ५ वर्षभित्र थुप्रै व्यक्तित्व विकास गर्न सकिन्छ भन्ने विश्वास छ ।

अहिलेका जनप्रतिनिधि र विकासलाई तपाई कसरी परिभाषित गर्नुहुन्छ ?

-मुख्य कुरा जनप्रतिनिधिहरु आफ्नो कामप्रति कति गहन ढंगले लाग्न सक्छन् । स्थानीय तह र जनताप्रति जवाफदेही हुने भित्री हुटहुटी पैदा हुन्छ कि हुदैन । मनैदेखि काममा लाग्ने हो, स्वार्थ नराख्ने हो, केही राम्रा परिवर्तनहरु गरौं भन्ने इच्छाशक्ति पैदा हुने हो भने थुप्रै अनुकरणीय कामहरू गर्न सकिन्छ । चल्तेचलाते अघि बढ्ने हो भने सरदर मात्र उपलब्धि हुनेछ ।

तपाईले भनेजस्तो र सोचेजस्तो जिम्मेवारी पाउनु भयो कुशलतापूर्वक सम्पन्न गर्न तपाईको भूमिका कस्तो रहन्छ ? यसो सोच्नुस त ?

-अहिलेसम्म मैले नेतृत्व पाएका सबै संस्थाहरुलाई राम्रो बनाएको अनुभव छ । भविष्यमा पनि कार्यकारी जिम्मेवारी पाउँदा नमूना बनाएर काम सम्पादन गर्ने छु भन्ने आत्मविश्वास छ ।

इदैनिकखबरबाट साभार

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १९:२५