१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पत्रकार महिलाको अनलाइन सूरक्षाका लागि सशक्त कानून निर्माण र कार्यान्वयनकाे खाँचाे


१९ मंसिर, काठमाडौं। सञ्चार माध्यममा कार्यरत महिला पत्रकारले आफुहरु माथि विभिन्न माध्यमबाट अनलाइन हिंसा हुने गरेकोले साइबर सुरक्षा सम्बन्धी सशक्त कानुन आवश्यक भएको बताएका छन् । सञ्चारिका समूहले सोमबार आयोजना गरेको “पत्रकार महिलाका लागि अनलाइन सुरक्षा निर्देशिका”सम्बन्धी अन्तिम चरणको छलफलमा सहभागिले निर्देशिका कार्यान्वयनमा जोड दिएका हुन् ।

विभिन्न सामाजिक सञ्जाल मध्ये सबैभन्दा बढी फेसबुक र फेसबुक म्यासेन्जरबाट हिंसा हुने गरेको भन्दै सहभागिले त्यस्ता हिंसाबाट जोगिन साइबर अपराधको छुट्टै कानुन र पत्रकारहरुको सुरक्षाका लागि समुन्नत निर्देशिका आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा मानवअधिकार आयोगका सदस्य मनोज दवाडीले समाज रूपान्तरण गर्ने पत्रकारले भयरहित वातावरणमा काम गर्न पाउनुपर्ने बताए । उनले कुनै पनि प्रकारको हिंसा पत्रकारको मात्र नभएर समग्र समाजको एजेन्डा भएको बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले यसको लागि सञ्चार र सरोकारका बिषयमा स्पष्ट धारणा आउनुपर्ने र निर्देशिका बनाउँदा गहन अनुसन्धानमा आधारित हुनुपर्ने बताए । उनले विभिन्न संस्थाबाट तयार भएका सुरक्षा निर्देशिका समेटेर उन्नत निर्देशिका बनाउने प्रतिवद्धता व्यत्त गरे ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले हिंसामा परेका कारण पत्रकारको कामको गुणस्तरमा असर परेको, जिम्मेवारी हेरफेर हुने गरेको, सहकर्मी र साथीभाइले आफूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको, जागिर नै छोड्नु परेको र त्यसको असर दिर्घकालिन हुने गरेको बताइन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले फरक फरक निर्देशिका बनाएर थन्क्याएर मात्र नहुने भन्दै मूल निर्देशिका कार्यान्वयनमा जोड दिनुपर्ने बताए । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सबैले निर्भयका साथ पत्रकारिता गर्नका लागि राज्यले भरपुर सुरक्षाको प्रत्याभुती दिनेमा आफू विश्वस्त रहेको बताए । पोखरेलले पत्रकार महिला माथि हुने यस्ता हिंसालाई निरुत्साहन गर्न नीतिगत सुधार,स्पष्ट कानुनको व्यवस्था र सम्मुन्नत निर्देशिका आवश्यक रहेको बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङले निर्देशकामा अनलाइन सुरक्षाका लागि कानुनी कार्वाहीलाई कडा बनाउनु पर्ने र बिशेष किसिमको सजाय उल्लेख हुनुपर्ने बताए । सञ्चारिका समूहका निवर्तमान अध्यक्ष नितु पण्डितले प्रविधिले हामीलाई केही राम्रो र केही नराम्रो कुरा दिएकोले महिला पत्रकारले डिजीटल हिंसा भोग्नु परेको बताइन् । उनले डिजिटल साक्षरताको कमि र पत्रकारका व्यावसायिकताको कमिका कारण हिंसा बढेको बताइन् ।

पत्रकार अनिता गुरुङले निर्देशिका तयार गरेर कार्यान्वयनको पाटोमा बिशेष जोड दिनुपर्ने बताइन् । छलफलमा सहभागिहरुले अनलाइन हिंसाको उजुरी गर्नकालागि सहज कानुनी र प्रक्रियागत व्यवस्था गरिनुपर्ने, दर्ता गर्ने निकायमा रहेका प्रहरी र अन्य कर्मचारीको क्षमता बढाउनुपर्ने, कार्यस्थलमा त्यस्ता हिंसा रोक्नका लागि गुनासो सुनुवाइको संयन्त्र स्थापना गरी फोकल पर्सन तोकिनुपर्ने र साइबर सुरक्षा सम्बन्धी सशक्त कानुन कार्यान्वयनमा ल्याउनुपर्ने लगायतका सुझाव दिएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार १६:२६