१९ मंसिर २०७९, सोमबार | Tue Dec 6 2022

अब एउटै प्रश्नः कसलाई रोज्ने ?

-अर्जुन पाण्डे 

संसारको सबैभन्दा लामो नदी मिसिसिपी अमेरिकाको बिचैबिच वग्दछ । सन १८५६ मा सिकागो र रक आइलैण्ड रेलरोड कम्पनीले मिसिसिपी नदीको वार पार इलिनोय, डेवनपोर्ट र आयोवाकोबीच रक आइलैण्मा पुल बनाउने निर्णय गर्यो । यस अघि उक्त नदी वार पार गर्न स्टीम बोटहरु प्रयोग गरिन्थे । एकातिर नदी वार पार गर्ने अर्को कुनै उपाय थिएन । अर्कोतर्फ स्टीम बोट कम्पनीहरूले मनलाग्दी भाडा असुलीरहेका थिए । उनीहरूको व्यापार चकाचक थियो ।

मानिसको आवत जावतदेखि कृषि फसल, खाद्य सामाग्री, फलफुल, पशु पंछी, औद्योगिक उत्पादन आदि स्टीम बोटको माध्यमबाट नै वारपार हुन्थे । विभिन्न सामानहरू ठूला ठूला बैल गाढामा नदी किनारसम्म ल्याइन्थ्यो र स्टीम बोटमा राखेर वारीपारी गरिन्थ्यो । धेरै बर्षसम्म यहिक्रम चलिरहँदा स्टीमबोट कम्पनीहरू यस्तो सोच्दथे कि नदी नै उनीहरूको हो । उनीहरूको व्यापर बढाउन नै भगवानले उनीहरूलाई नदी दिएका हुन् । नदी वारपार स्टीम बोट चलाउने उनीहरूको एकलौटी अधिकार हो ।

यदि रेलरोड कम्पनी नदी माथि पुल बनाउन सफल भए भने स्टीम बोट कम्पनीका व्यापार धरासायी मात्र होइन, एकै चोटी बन्द हुन पुग्थ्यो, धेरैका लगानी डुब्थ्यो सयौँको रोजगारी गुम्ने पक्का थियो । यसैले उनीहरूले पुल निर्माण कार्य रोक्ने अनेक प्रयास गरे । अन्य धेरै उपाय सफल नभए पछि अन्तमा अदालतको ढोका ढकढकाउन पुगे । अदालतमा जब मुद्दा दर्ता भयो तब यसबारे समाचार छापिए, देशैभर ठूलो हल्लिीखल्ली भयो । परिणाम यो भयो कि यो मुद्दाले ठूलो रुप लियो । अमेरिकी आवागमन र जल यातायातको इतिहासमा यो मुद्दा सबै भन्दा चर्चित र ऐतिहासिक बन्न पुग्यो ।

स्टीम बोट कम्पनी मालिकहरुसँग पैसाको कमी थिएन । त्यतिबेला नदी सम्बन्धी मामिलाहरूमा बहस गर्ने विशेष जानकार, महंगा, नामुद वकिल थिएः जज वीड । उनीहरूले जज वीड लाइ नै यो मुद्दाको जिम्मा दिए । सुनुवाइको अन्तिम दिन, अदालत परिसरमा मानिसहरूको ठूलो भीड थियो । इजलास स्टीमबोट मालिकहरू र दर्शकले खचाखच भरिएको थियो । जज वीडले दुई घण्टासम्म यस्तो बहस पैरवी गरे कि न्यायाधीश लगायत दर्शक दीर्घाका मानिसहरू सबै मन्त्रमुग्ध भए ।

उनले स्टीम बोट कम्पनीहरुले जल पारवहनमा गरेका ठूलो लगानी र त्यसले श्रृजना गरेको आर्थिक समृद्धि, देशको आर्थिक विकासमा उनीहरूको योगदान आदिका तथ्यांकसहित फेहरिस्त प्रस्तुत गरे । साथै राज्यले आर्जन गरेको कर ठूलो रहेको तथ्य तथ्यांक सहित अकाट्य तर्कहरूका साथ बेजोड प्रस्तुती गरे । उनले यो पनि सुझए कि यदि स्थितीलाई नजरन्दाज गरि बल प्रयोगले पुल बनाइयो भने राज्यको संघिय ढाँचामा नै बिग्रह आउन सक्छ । गृह युद्ध समेत हुन सक्छ । राष्ट्रिय संकट आउन सक्छ । उनको जोरदार भाषणको अन्तमा दर्शक दीर्घाबाट तालिको गडगडाहट धेरैबेर सम्म लागीरह्यो ।

अब पालो थियो रेलरोड कम्पनी तर्फका वकिलको । न्यायाधीसका अगाडी एउटा दुब्लो पातलो मैलो कपडा लगाएको गाउँले झैं देखिने मानिस उभियो जसलाई देखेर सबै मानिस मुखामुख गरे । उसले धेरै बोल्दा पनि बोलेन । सिर्फ दुई मिनेट बोल्यो । उसको भनाइको सारांश थियोः पहिले त म विद्धान मित्रको अद्भुत र सारगर्भित भाषणको प्रशंसा गर्दछु र उहाँको बक्तृत्व क्षमताको निम्ति बधाई दिन्छु । मैले कहिल्यै यस्तो मज्जाको भाषण सुनेको थिइन । परन्तु, जेन्टलमैन अफ द जुरी, जज वीडले मुख्य मुद्धालाई ओझेल पारेर जुरीको ध्यान अन्यत्र मोड्न खोज्नुभएको छ । म देख्छुः जुरीको अगाडी धेरै प्रश्नहरु छँदै छैनन्, एउटै प्रश्न छ र सामाजिक न्याय के हो ? त्यसैमा फैसला गर्नु छ, प्रश्न के हो भने, के मानिसलाई नदी पार गर्न जल मार्गको मात्र अधिकार छ ? अर्थात, के मानिसलाई अरु कुनै तरिकाबाट नदी वार पार गर्ने अधिकार छैन ? यति भनेर उ आफ्नो कुर्सीमा गइ बस्यो ।

जुरीलाई फैसला गर्न समय लागेन । सबैको ध्यान वकिलको अन्तिम प्रश्नमाथि केन्द्रित भयो । तब फैसला त्यही भयो जुन त्यो दुब्लो पातलो मैलो कोटवाला वकिलको तर्क मुताविक थियो । ती वकिल थिए अब्राहम लिंकन । आज नेपालमा संघीय र प्रदेश निर्वाचनको संघारमा छ । विविध ढंगका प्रचारबाजी पनि अन्तिम मोडमा आइसकेका छन् । पार्टीहरुले जे जति रस्साकस्सी गरे पनि, जति लामा लामा भाषणबाजी गरे पनि नेपाली जनता जो न्यायाधिश हुन्ः अब उनले एउटै प्रश्नमा फैसला दिनु छ चुनाव पश्चात पाँच बर्षको लागि शेरबहादुर देउवालाई प्रम बनाउने कि के पी ओलीलाई ?

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १३:२९