१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोट २ मा घण्टी चम्किदा गठबन्धनका केसी रेड जोनमा, सूर्यका खतिवडा उत्साहित


२६ कार्तिक, नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चम्किदाँ पाँच दलीय सत्तागठबन्धनका उम्मेदवारहरू रेड जोनमा परेका छन । नुवाकोट २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हमा वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डे उम्मेदवार रहेका छन । युवाहरू स्वतस्फूर्त रूपमा यसपटक जान्नेलाई छान्ने भन्दै नयाँलाई अवसर दिनुपर्ने मतसहित क्रियाशिल भएका छन ।

पाण्डेका पाक्षमा खुलेका स्थानीय र मत प्रभावति पार्न सक्ने हैसियत भएका स्वतन्त्र छवि भएका सामाजिक व्यक्तित्वहरूले घण्टीको पक्षमा मत अपिल गर्न थालेपछि गठबन्धनका अर्जुननरसिंह केसी रेड जोनमा परेका छन । पञ्चायतदेखि निरन्तर चुनाव लडिरहेका केसीसँग नेपाली कांग्रेसकै अधिवकांश नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन ।

उनीहरूले कांग्रेस केसीको विर्ता जस्तै बनेकाले अब पिता पूर्खाको समर्थन र बीपीकै नाम बेचेरमात्र कांग्रेस उभो लाग्न नसक्ने भन्दै धेरैले घण्टीमा मत क्रस गर्ने तयारी गरेका छन । केसीसँगै चुनाव हिडिरहेका कांग्रेसका एक युवा नेताले दैनिकीसँग भने ‘यो हाम्रो औपचारिकताका लागि सहभागिता हो । यस पटक हामीले उहाँहरूलाई सबल सिकाउँछौँ ।’ स्रोतका अनुसार २ जना स्थानीय सरकारका प्रमुखले नै पाण्डेलाइ सघाउने बचन दिएका छन ।

नेकपा एमाले भन्दा केही हजार मतले मात्र अघि रहेको गठबन्धन घण्टीले मत काट्ने भएपछि तनावमा परेको छ । केसीको मुख्य प्रतिपस्पर्धीको रूपमा रहेका एमालेका नारायणप्रसाद खतिवडा स्थानीय जनतासँग भिजेको र निरन्तर मतदातासँगै रहेका कारण उनको लोकप्रिय मत झण्डै ७ हजार रहेको बुझिन्छ ।

केही मत कांग्रेस र माओवादीको असन्तुष्टको समेत प्राप्त खतिवडा दोस्रो पटक संसद प्रवेश गर्ने उत्साह बोकेर शान्त ढंगले चुनावी अभियानमा केन्द्रीत भएका छन । खतिवडा एमाले नुवाकोटका पूर्व अध्यक्ष हुन । जिल्लाका सबै क्षेत्रमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवार पर्यटक जस्ता भए पनि खतिवडा भने अहिले पनि नुवाकोटमै बसोस गरिरहेका हुन्छन ।

केसीले बढी आश गरेको बेलकोटगढी र विदुर नगरपालिकामा कांग्रेसभित्रै ठूलो अन्तरघात हुने देखिएपछि उनीहरू तनावमा रहेको गठबन्धनका नेताहरूले बताउन थालेका छन । प्रदेशसभा १ मा  कांग्रेस उम्मेदवार गीता अमात्यलाई जमानत जोगाउनै कठिन देखिएको छ । गठबन्धनका नाममा माओवादीबाट उम्मेदवार बनेका रामप्रसाद ढुंगाना पनि सम्मानजनक मतकोमात्र प्रतिक्षामा रहेका छन ।

प्रतिस्पर्धामा रहेका नेकपा एमालेको बागमती प्रदेश कमिटीका अध्यक्ष युवा नेता केशवराज पाण्डेको लोकप्रिय मत ढुंगानाको भन्दा दोब्बर रहेका कारण उनी बढी ढुक्क देखिएका छन । प्रदेशसभा ख मा भने प्रतिस्पर्धा उच्च हुने देखिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार १०:५५