१९ मंसिर २०७९, सोमबार | Mon Dec 5 2022

कुरा सही बाटोको, सन्दर्भ चुनावको

–राम विनय

विषय प्रवेश

नेपालमा अहिले आम चुनावको वातावरण बनेको छ । विभिन्न पार्टीका र स्वतन्त्रका उमेदवारहरू आफनो पक्षमा मत माग्न मतदाताहरूकहाँ जानथालेका छन् । लोकतन्त्रमा यो एक महत्त्वपूर्ण पक्ष हो । अहिलेको अवस्थामा मतदाताहरू अन्यौलमा पर्नुहुन्न । कुन पक्षका उमेदवारहरूलाई जिताउनुपर्छ भन्नेबारेमा सबै मतदाताहरूले अहिलेदेखि नै मानसिकरूपले तयार हुनु आवश्यक छ ।

अहिले देशमा पाँच दलीय गठबन्धनको सरकार छ । यो गठबन्धनले प्रतिगामी शक्तिको विरुद्ध भनेर मत मागिरहेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले जनताका बिचमा लोकप्रिय भएको कारणले कसरी त्यस पार्टीका विरुद्ध भ्रम छरेर मत प्राप्त गर्नसकिन्छ भनेर यो गठबन्धन कम्मर कसेर लागेका छ । त्यसका लागि मतदाताहरूले तथ्यका आधारमा सत्य कुरा पत्ता लगाउने सिद्धान्त र नीतिबाट विषयगत विश्लेषण गर्नु र निर्णय गर्नु आवश्यक छ ।

किन भयो गठबन्धन ?

२०१५सालको प्रथम आमनिर्वाचनले नेपाली काङ्ग्रेसलाई बहुमत दिएको र बिपी कोइराला प्रधानमन्त्री रहेर सरकार बन्यो तर त्यसलाई तत्कालीन निर्दलीय राजाले धेरै दिन टिक्न दिएनन् । २०७४ सालको निर्वाचनले नेकपालाई बहुमत दिएर केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्यो तर त्यसलाई पनि बहुदीलय राजाहरूले धेरै दिन टिक्न दिएनन् ! नेपालमा पहिलोपटक नेकपाको बहुमतको सरकार बन्यो । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा एक प्रकारले तरङ्ग पैदा गर्यो । यसले कम्युनिस्टविरोधी राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूलाई असैह्य भयो, औडाह भयो र त्यसलाई कसरी असफल पार्ने होला भनेर तिनीहरूले षडयन्त्र गर्नथाले । बहुमतको सरकारले थालेका लोककल्याणकारी कार्यक्रमहरूबाट तिनीहरू तर्सिए । सरकारको कामलाई असफल पार्न अनेकन बाधाहरू खडा गरे, असहयोग गरे । एक प्रकारले घेराउ गरेर कार्यक्रम असफल पार्न लागे ।

पार्टीको नीति, विधि र प्रणालीविपरीत महाधिवेशनबाट तोकिएको अवधिका लागि निर्वाचित अध्यक्षको अपमान गरे तिनीहरूले । तिनीहरूले नेपालको संविधानबमोजिम जनताले पाँच वर्षका लागि चुनेका प्रधानमन्त्रीलाई असफल पार्न अनेकन बाधाहरू सिर्जना गरे । पार्टीअध्यक्षलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरे । पार्टीलाई पूरा कब्जा गरी पार्टीभित्र बबन्डर मच्चाए । पार्टीअध्यक्ष तथा प्रधानमन्त्रीलाई अनेकन लान्छना लगाई ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान चरितार्थ गरिदिए !

पार्टीका जिम्मेवारहरूले आफनो निजी र पदीय स्वार्थका लागि प्रतिष्ठाको विषय बनाई पार्टीअध्यक्ष तथा प्रधानमन्त्रीप्रति अन्यायपूर्ण व्यवहार गरे । तिनीहरू पार्टी र सरकारलाई असफल पार्नतिर लागे । यस्तो असहयोग र घेराबन्दीको वेलामा जनताको बिचमा जानखोज्नु एक प्रकारले बाध्यता थियो र सँसद् विघटन भयो । त्यो एक प्रकारको स्वभाविक प्रक्रिया थियो । वास्तविकता नहेरी संविधान, नियम, कानुनको दुहाइ दिएर त्यस कदमलाई प्रतिगामी भनियो । संसदीय तरिकाले होइन परमादेशको तरिकाका आधारमा वर्तमान सत्तागठबन्धन बन्यो । कम्युनिस्ट नामका नेताहरूले कुनै दर्शन, नीति र सिद्धान्तको आधारमा होइन, आफनो व्यक्तिगत स्वार्थका लागि (भागबन्डा नमिलेर) विद्रोहको नाममा जनताको प्रिय पार्टी फुटाए ।

तिनीहरूले आआफना डम्फु बजाउन थाले । जनताबाट तिरस्कृत भइसकेको नेपाली काङ्गे्रसको फेरि प्राण भर्ने काम यिनै छोटे राजाहरूले गरेर काङ्गे्रसलाई जगाए । आफनो पार्टीघरलाई डढेलो लगाएर ती पार्टीविरोधीहरू खरानी घसेर मगन्ते भएर हिँडनथाले ! ती सामन्त कम्युनिस्टहरूले केकसरी षडयन्त्र गरेर बहुमतको सरकारलाई ढाले भन्नेबारेमा सचेत मतदाताहरूका बिचमा जगजाहेर नै छ । हामी सबैले अझ राम्रोसँग तिनीहरूलाई चिन्नु आवश्यक छ ।

गठबन्धनको पृष्ठभूमि

नेपालमा नेपाली काङ्गे्रसले धेरै वर्ष शासन गरेको इतिहास छ । उसले आपूmलाई एक मात्र शासक भन्ठान्छ र प्रतिपक्षमा कोही देखा पर्यो भने त्यसलाई निर्मूल पार्नचाहन्छ भन्ने कुरा इतिहासले देखाउँछ । नेकपा एमाले भूमिगत जीबनबाट जब खुल्ला अवस्थामा देखा परयो तब उसले जनताको बहुदलीय जनवादको नीति, सिद्धान्त र कार्यदिशा अघि सार्यो । त्यसमा “शान्तिपूर्ण सङ्क्रमण, शान्तिपूर्ण सहअस्तित्व, शान्तिपूर्ण प्रतिस्पर्धा”लगायत पर्दछन् । त्यसलाई लागू गर्न मदन भण्डारीको अगुवाइमा नेकपा (एमाले) इमान्दारितापूर्वक प्रतिस्पर्धामा उत्रिन सफल भयो । त्यस सफलताको पछाडि जननेता मदन भण्डारीको कौशलपूर्ण बोली, बचन, प्रखर क्षमता, इमान्दारिता, नीति र नैतिकताको प्रमुख भूमिका छ । त्यसैले गर्दा कम समयमा एमालेले जनताको मन जित्न र स्थापित हुन सफल भयो ।

मदनको भाषणशैली र व्यवहार यति धेरै आकर्षक भयो कि सामन्तवादी, प्रतिक्रियावादीहरू थरथर काप्न थाले । यसले गर्दा विदेशी शक्तिसमेत तर्सिन थाले र तिनीहरू सबै मिलेर षडयन्त्रको जालो बुन्न थाले । एकपटक त्यस वेला हल्ला चलेको थियो, “कम्युनिस्टलाई मार्न, दबाउन तत्कालीन सरकारले अपराधी तत्त्वलाई पैँसठ्ठी करोडमा ठेक्का दिएको छ रे ।” त्यति वेला त्यो कुरा पत्याउन सकिने खालकोजस्तो थिएन । गिरिजाका तत्कालीन भित्रिया पात्र (मानिस) उमेश गिरीले जनतासमक्ष दिएको साविती बयानले मदन–आश्रितको हत्याको पर्दा खोलेको छ । एमाले खासगरी मदन भण्डारीको तेज यति बढी भयो कि गिरिजा काङ्गे्स तर्सिन थाल्यो । मदन–आश्रितको हत्याको वेलामा गिरिजा प्रधानमन्त्री र देउवा गृहमन्त्री थिए । तत्कालीन अमेरिकन राजदूत जुलिया चाङ (जसले केपी भट्टराईको असहमतिमा नै देउवा र आरजुको विवाह गराएकी थिइन) पनि अपराधिक कार्यमा प्रमुख हात थियो भनिन्छ । यी विगतका विषय भए ।

नेपाली काङ्गे्रसको सरकारको पालामा निजीकरण, उदारीकरणको नाममा मित्रराष्ट्रहरू (चीन र तत्कालीन सोभियत सङ्घ)को सहयोगमा स्थापित उद्योग, कलकारखानाहरूलगायतका उद्योगधन्दाहरू कौैडीको भाउमा बेचिए र हजाराैँ, लाखाैँ युवाहरूलाई विदेशिन बाध्य पारे । खाद्यान्नमा आत्मनिर्भर भएको देशलाई परनिर्भर बनाइदिए । यिनै देशविरोधी गतिविधि गरेकै कारण काङ्गे्रसलाई जनताले सजाय दिएर गएको चुनावमा पाखा लगाइसकेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीभित्रका बहुदलीय राजाहरूले आफनो घर जलाएको खरानी घसेर जोगी हुन होइन भोगी हुन आफना पार्टीअध्यक्ष र प्रधामन्त्रीको विरोधमा अलख जगाउन गए र सुनपानी छर्केर सुतेको काङ्ग्रेसलाई जगाए ! काङ्गे्सको बैसाखी टेक्न गएर तिनीहरू अहिले त्यसै रुखको ऐजेरु भएर बसेका छन् ! यसरी तिनीहरूको रसायन मिल्नगएको छ । त्यसबाट गठबन्धन बनेको छ । त्यसबाट नेकालाई धेरै फाइदा भएको छ ।

जरा कुराको रसायन

गठबन्धनको जराको काङ्गे्सको कुरो माथि उल्लेख भएको छ । अब अन्यको जरातिर हेरौँः

(१) नेकपा माकेले देशमा जनवादी व्यवस्था ल्याउन माओको नाममा पार्टीको नाम राख्यो । देशमा जनयुद्धका नाममा हत्या, हिंसा मच्चायो । धेरैको ज्यान गयो । क्रान्तिको नाममा मुक्ति या मृत्युको नाम दिएर धेरैलाई बलिदान गरेगराए । पछि भारतको स्वार्थसित मिल्नेगरी गिरिजासित आत्मसर्मपण गरेर सशस्त्र सङ्घर्ष अन्त्य गरे । भारतको लागि सुविधा हुने सरकार गठन गर्ने मानसिकताका साथ यसरी माकेले काम गर्यो र नेकासित रसायन मिलेर नजिक हुनपुग्यो ।

(२) नेकपा मालेमा मदनकुमार भण्डारी महासचिव भएको वेलामा भारतीय सेना भित्र्याएर राजतन्त्र समाप्त पार्नुपर्छ भनेर हालका नेकपा यसका अगुवाले प्रस्ताव गरेका थिए । मदनलगायतका अरूहरूले यो आफनो देशविरोधी भारतपरस्त प्रस्ताव हो भनेर अस्वीकार गरे । यो विषय राधाकृष्ण मैलालीको “नलेखिएको इतिहास” किताबबाट थाहा पाउनसकिन्छ । यो उनको भारतभक्ति र लम्पसारवादको एक उदाहरण हो । उनले आफनो पार्टीको सरकार भएको वेलामा आफना पक्षको पक्षको, आफन्त तथा नातेदारको निजी स्वार्थ पूरा भएन भनेर विद्रोहको खोल ओढेर पार्टी फुटाए !  जबजलाई दक्षप्रजापतिको टाउको भन्ने अर्को अगुवाको मानसिकता पनि जबजविरोधी भएकाले यसको रसायनसित मिलेर यसतिर एकताबद्ध भए ।

(३) नेकपा मसाल राजमोको पनि विगतको इतिहास केलाउनुपर्छ । नेकपाका सँस्थापक महासचिवलाई यिनीहरूले नेपाली काङ्गे्रसकको पुच्छर भयो भनेर गद्धार भनेर बदनाम गरेका थिए । अहिले आफैँ नेकाको पुच्छर भएर गठबन्धनमा बसेर रुखको ऐजेरु बनेको प्रस्ट छ ।

(४) भनिन्छ, ‘राजनीतिमा मित्र र शत्रु भन्ने हुन्न । कुनै पनि वेला मित्र शत्रु र शत्रु मित्र बन्नसक्छ, आआफ्नो स्वार्थको कारणले ।’ हालै जसपा र लोसपाको अवस्था त्यस्तै देखियो । ‘ताक परे तिवारी नत्र गोतामे’ भन्ने उखान हाम्रो संसदीय व्यवस्थामा लागू भएको देखिन्छ । यिनीहरू आप्mनो पद र प्रतिष्ठाका लागि जता पनि तालमेलमा लाग्छन भन्ने कुराको यो एउटा उदाहरणको रूपमा देखिएका कुरा हुन् भन्नसकिन्छ । यसरी जरो कुरो थाहा भएपछि यसभित्रको चुरो कुरो बुझ्न सकिन्छ ।

अब हामी कता ?

नेकपाको बहुमतको सरकारले भारतीय नाकाबन्दीको विरोधमा स्वाभिमानी अडान लिएको थियो । आफनो स्वाभिमानको प्रदर्शन गरेर नेपाल कसैसँग झुक्दैन भन्ने उदाहरण दिएको थियो । नेपालको भारततिर मात्र एकतर्फी मात्र पारवहन सुविधा भएको र वेला वेलामा भारतले नाकाबन्दी गरेर धोका दिने गरेको हुँदा तत्कालीन सरकारले चीनसित पारवहन सम्झौता गरेर त्यो बाधा फुकाएको छ । यो नेपालको लागि महत्त्वपूर्ण काम भएको छ ।
पहिलेदेखिको नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा आफनो देशको नक्सामा समावेश गरेको छ ।

देशको पूर्वाधार बिकासका धेरै कामहरू — सुरुङमार्ग, रेलप्रणालीमा आधुनिकीकरण, अन्तर्राष्ट्रिय विमानस्थलनिर्माण, राजमार्गहरूको निर्माण, भूकम्पपीडितहरूका लागि बासस्थान निर्माण, धरहरा, रानीपोखरीकोे पुनर्निमाण, लोडसेडिङको अन्त्य, मरिन डाइभर्सन निर्माण, पेट्रोलखानी, फलाम खानीको उत्खनन, कोरोना नियन्त्रण, मेलम्ची खानेपानी आयोजना सम्पन्न; शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायत अन्य आर्थिक सामाजिक कार्यमा सुधारजस्ता धेरै सामाजिक आर्थिक कल्याणकारी कामहरू भएका छन । यिनै कामहरूले गर्दा र आफनो पदीय स्वार्थ पूरा नभएपछि गठबन्धन निर्माण भएकोले ओलीसरकारलाई परमादेशबाट हटाएका हुन भन्ने कुरा जगजाहेर छ । यिनीहरूले तत्कालीन ओलीसरकारका कामलाई प्रतिगामी भनेर प्रचार गरिरहेका छन् ।

नीहरूले नै बरु संसदीय प्रणाली छाडेर परमादेशी प्रणाली अपनाएर सरकार बनाएका छन । तिनीहरूले देश र जनतालाई ढाँट, छल गरेर ठगिरहेका छन् । त्यसैले जनताहरूले यो सरकारलाई ठगबन्धन भन्ने गरेका छन् । वास्तवमा यिनीहरू प्रतिगामी हुन भन्ने कुरा यिनीहरूका राजश्वमारासमेतका व्यवहारले देखाएका छन् भन्ने कुरा जनसमुदायले बुझेको छ किनकि जनता सचेत छन् ।

सतर्कताको कुरा

यो गठबन्धनको सरकारले नागरिकताको विधेयक नेपालको अस्तित्व मेटाउने खालको ल्याएको छ । सँसारमा कतै नभएको नियम भारतबाट विवाह गरेर ल्याएकी दुलहीेले विवाहका भोलिपल्टै नागरिकता पाउने व्यवस्था गरेको छ । त्योलगायतका कारणले यो विधेयक देशघाती छ भन्ने कुरा जनस्तरबाट यसको व्यापक विरोध भएकोबाट स्पष्ट हुन्छ ।वर्तमान सरकारले नेपाललाई विदेशीको रणमैदान बनाउने खालको एमसिसी पारित गरेको छ । देशको अर्थतन्त्र बहुसङ्ख्यक नेपाली जनताको पक्षमा होइन उच्च वर्गका माफियाको हातमा छ भन्ने प्रमाण बजेट निर्माण गर्दाको घटना (सिसिटिभी फुटेज प्रकरण)ले प्रमाणित गरेको छ ।

वर्तमान नेपालको तीब्र विकासका लागि प्रमुख बाटो दुरदृष्टि (भिजन), अभियान (मिसन), ध्येय र लक्ष स्पष्ट हुनु आवश्यक छ । त्यसलाई स्पष्ट पारेर समृद्ध नेपालको निर्माण गरी नेपाली जनतालाई सुखी र खुसी बनाएर नेपाललाई विकशित देश बनाउनु छ । यसैका लागि जनपक्षीय सरकार आवश्यक छ । जनपक्षीय काम नगर्ने गठबन्धनवालाहरू वास्तविकरूपमा प्रतिगामी हुन् । यिनीहरू भारतीय शासकको लागि सुविधाजनक (कम्फोर्टेबल) सरकार कायम गराउने भक्त हुन् । देशका पक्षमा होइन विदेशीको स्वार्थका लागि खट्ने लम्पसारवादी शक्ति हुन् त्यसैले यस्तो प्रवृत्तिको विरोधमा नेपालीहरू सचेत भएर उठनुपर्छ ।

वर्तमान गठबन्धनको जनद्रोही राजनीतिविरुद्ध लडनका लागि सदनमा प्रभावकारी भूमिका खेल्नसक्ने एकाध व्यक्तिलाई सघाउन पार्टीले गरेको समझदारी(तालमेल)लाई अराजनैतिक भन्न मिल्दैन । यो त्यही ठगबन्धनले निम्त्याएको परिणाम पनि हो । अग्रगामी प्रणालीबाट देशभक्त, प्रगतिशील, प्रगतिवादी र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरूको एकता अहिलेको आवश्यकता हो । त्यसका लागि सबै मतदाताहरू लाग्नुपर्ने समय आएको छ ।
हामी सधैँ अँध्यारोमा बस्ने होइन । उज्यालोको लागि हामीले उज्यालोलाई खोजेर, बुझेर, चिनेर, जानेर सही बाटोमा लाग्नुपर्छ । आपूmलाई र आफनो देशलाई उज्यालो दिनसक्नुपर्छ । उज्यालो पाउनसक्नु हाम्रो अधिकार हो र यसको रक्षा गर्नु हामी सबैको दायित्व हो । आमचुनावको सन्दर्भमा नेकपा एमालेको घामले हामी सबैको रक्षा गर्नसक्छ ।

मदन भण्डारी भन्नुहुन्थ्यो, “यो मदन भण्डारी नआउन पनि सक्छ, तर सूर्य त आयो, आयो ।” अहिले नेपालमा एमालेका अध्यक्ष केपी ओलीको अगुवाइमा सूर्य आएको छ । उज्यालो दिने घाम आएको छ । त्यो घाम हाम्रो जीवन हो । त्यसको बाटो नै जनपक्षीय बाटो हो । त्यो उज्यालो बाटो नै हाम्रो सही बाटो हो । त्यसैलाई चिनेर आफ्नो मतको रक्षा गर्नु हाम्रो सही बाटोको सफल यात्रा हुने छ, समाजवादको यात्रा हुने छ, नेपाल र नेपालीको व्यापक विजयको यात्रा हुने छ ।

(लेखक, राष्ट्रिय जनसहित्यिक सङ्घ, नेपालका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १०:१९