१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

काँचुली फेर्नेमा सर्प र रङ फेर्नेमा छेपारोलाई उछिनेका अर्जुननरसिंह केसी नवौँ पटक उम्मेदवार


-माधव बस्नेत

उमेर ७५ । उम्मेदवार नवौं पटक । ४ पटक विजयी । ४ पटक पराजित । यस पटक प्रतीक्षा… । तीन पटक मन्त्री । एक पटक राज्य मन्त्री । स्वास्थ्य, शिक्षा, आवास तथा भौतिक योजना, सहरी विकास–४ वटा मन्त्रालयको जिम्मेवारी ।

आउँदो ४ मंसिरमा हुँदै गरेको संघीय प्रतिनिधि सभाको निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ का उम्मेदवार अर्जुननरसिंह केसीको पहिचान हो, यो । जो नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् । पञ्चायतले सुरु गरेको पहिलो आम निर्वाचनदेखि यस पटकसम्म निरन्तर उम्मेदवार भइरहने केसी सायद एक मात्र ‘भाग्यमानी’ हुन् ।

२७ बैशाख ०३८ मा राष्ट्रिय पञ्चायतको पहिलो आम निर्वाचन भएको थियो । त्यसबेला नुवाकोटबाट राष्ट्रिय पञ्चायत सदस्यमा दुई जना प्रतिनिधि चुनिन्थे । त्यो निर्वाचनमा नुवाकोटमा १ लाख ६ हजार ३ सय मतदाता थिए । जसमा २० हजार २ सय १९ मत प्राप्त गरी केसी पहिलो पटक राष्ट्रिय पञ्चायतमा छिरेका थिए । त्यस निर्वाचनमा नुवाकोटबाट राष्ट्रिय पञ्चायतमा चुनिनका लागि २२ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

राष्ट्रिय पञ्चायतको निर्वाचन पछि राजा वीरेन्द्रले २ असार ०३८ मा सूर्यबहादुर थापालाई प्रधानमन्त्री नियुक्त गरे । त्यसको २२ दिनपछि २४ असार ०३८ मा प्रधानमन्त्री थापाले केसीलाई स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी दिएका थिए । ९ जना राज्य मन्त्रीमा केसीको मर्यादाक्रम अन्तिम थियो । नेपालका मन्त्री र सांसदहरु पुस्तकमा उल्लेख भएनुसार २९ असार ०४० मा थापा सरकार ढालेर लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए । यसपछिको सरकारमा भने उनले मन्त्रीमा निरन्तरता पाउन सकेनन् ।

अस्ति २४ असोजमा उम्मेदवारी मनोनयन दर्ताको मध्यराती १.१८ मा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक राम लोहनीले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘नुवाकोटमा अर्जुननरसिंह केसी उठेछन्, कांग्रेसबाट । केसी नेपालको इतिहासमा आम चुनाव भएदेखि उम्मेदवार छन् । कहिले जित्छन्, कहिले हार्छन् । (१५ सालको चुनावमा उम्मेदवार बन्ने योग्यता नपुगेकोले नपाएका हुनसक्छन् ।)…..’

केसी नुवाकोटबाट राष्ट्रिय पञ्चायत, प्रतिनिधि सभा, संविधान सभा र फेरि प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नवौं पटक उम्मेदवार बनेपछि त्यहीँ जन्मथलो भएका आलोचनात्मक चेतका अगुवा लोहनीले ‘कडा’ स्टाटस् लेख्नु स्वभाविकै हो । तर, पनि नेताहरुको संवेदना यस्तो कमजोर भइसकेको छ कि जति कठोर शब्द प्रहार गरे पनि सितिमिति छुँदै नछुने गैडाको छालाभन्दा बाक्लो ।

नुवाकोटमा नेपाली कांग्रेसमा सक्रिय पात्रहरु कोही नभएर केसी जर्वजस्ती उम्मेदवार बन्नु परेको होइन । बरु ‘घाट नपुन्जेल’ पद नछाड्ने विकृत, लोभी र रोगी राजनीतिका कारण कांग्रेसको भर्भराउँदो नर्सरी हुँदाहुँदै केसी ‘र्‍याल चुहाउँदै’ नवौं पटक उम्मेदवार बनेका हुन् ।

०७४ को निर्वाचनमा केसी नुवाकोट क्षेत्र नं. २ बाटै झण्डै १० हजार मतान्तरमा तत्कालीन बाम गठबन्धनका एमाले उम्मेदवार नारायणप्रसाद खतिवडासँग पराजित भएका थिए । खतिवडा ३६ हजार ८ सय ९२ मत मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित हुँदा केसीले २६ हजार ३ सय ३५ मतमा चित्त बुझाउनु परेको थियो । तर, पनि केसीले यस पटक आफ्ना उत्तराधिकारीलाई सदासयता देखाएर भूगोल खाली गरिदिएनन् ।

लेखकः माधव बस्नेत ।

०७० को दोस्रो संविधान सभा निर्वाचनमा केसी नुवाकोट क्षेत्र नं. १ बाट १७ हजार ३ सय ४६ मत ल्याएर निर्वाचित भए । उनको प्रतिस्पर्धी एकीकृत नेकपा कम्युनिष्ट पार्टी (माओवादी) की विमला सुवेदीले ९ हजार १ सय ४५ मत प्राप्त गरेकी थिइन । ०६४ को संविधान सभाको पहिलो निर्वाचनमा केसी तत्कालीन नेकपा (माओवादी) कै सुवेदीसँग नराम्रोसँग पराजित भएका थिए । सुवेदी २० हजार ५ सय ८१ मत ल्याएर विजयी हुँदा केसीले १२ हजार ९ सय ८४ मत पाएर निकटतम प्रतिद्धन्द्धी बनेका थिए ।

त्यस अघि ०५६ को निर्वाचनमा पनि केसी नुवाकोट क्षेत्र नं. ३ मा नेपाली कांग्रेसबाट तेस्रो पटक उम्मेदवार भएका थिए । त्यो निर्वाचनमा पनि उनी नेकपा (एमाले) का महेन्द्रबहादुर पाण्डेसँग केसी ५ सय ६९ मत अन्तरले पराजित भए । त्यसबेला पाण्डेले १३ हजार १ सय ७७ र केसीले १२ हजार ८ सय ८ मत प्राप्त गरेका थिए ।

०५१ को मध्यावधी निर्वाचनमा केसी नुवाकोटको क्षेत्र नं. ३ बाटै उम्मेदवार भएका थिए । त्यस पटक १५ हजार ९ सय ५१ मत ल्याएर निर्वाचित भए । केसीका निकटतम् प्रतिद्धन्द्धी राप्रपाका डा. प्रकाशचन्द्र लोहनीले १० हजार ३ सय ८७ र ०५६ मा उनलाई पराजित गर्ने महेन्द्रबहादुर पाण्डेले ९ हजार ९ सय ४० मत प्राप्त गरेका थिए । ०५१ मा केसीको जित तेस्रो पटक संसद प्रवेश थियो ।

०४८ को आम निर्वाचनको सम्मुखमा केसी राप्रपा (थापा) बाट तत्कालीन क्रान्तिकारी रापतापको नेपाली कांग्रेसमा आइपुगे । जानकारका अनुसार उनलाई कांग्रेस भित्र्याउने चाँजोपाँजो उनकै कान्छा भाई ने.वि. संघका नेता डा. जगदिशनरसिंह केसीले गरेका थिए । राप्रपा थापा समूहबाट कांग्रेस भित्रिएका केसी त्यसबेला नुवाकोट क्षेत्र नं. ३ बाट उम्मेदवार बने । र, ११ हजार ८६ मत ल्याएर विजयी भए । त्यसबेला उनका प्रतिद्धन्द्धी एमालेका महेन्द्रबहादुर पाण्डेले १० हजार १ सय ४० मत पाएका थिए ।

पञ्चायतमा पनि उस्तै सिगौरी

२९ बेशाख ०४३ मा भएको राष्ट्रिय पञ्चायतको दोस्रो निर्वाचन (दुई जिल्ला बाहेक) मा समेत केसी नुवाकोटबाट उम्मेदवार नहुने कुरै भएन । किनभने त्यस अघि नै उनी स्वास्थ्य राज्य मन्त्री भइसकेका थिए । तर, त्यस पटक उनले निर्वाचनमा बाजी मार्न सकेनन् । उनलाई जीतसिंह खड्काले पराजित गरेका थिए । राष्ट्रिय पञ्चायतको यात्रामा रोक लागे पनि केसीको राजनीतिक ‘सुविधा खोज’ को यात्रा रोकिएन । ०४३ सालकै चैत्रमा भएको गाउँ/नगर पञ्चायत निर्वाचनमा होमिए केसी । अनि ०४४ जेठमा भएको जिल्ला पञ्चायतको निर्वाचनबाट नुवाकोटको जिल्ला पञ्चायत सभापति चुनिए ।

रोचक के भने ०४६ सालमा पञ्चायत विरुद्ध जनआन्दोलन भइरहदा पञ्चायती व्यवस्थाका हिमायतीहरुले देशभर प्रतिकार समिति गठन गरेका थिए । नुवाकोटमा त्यो प्रतिकार समितिको प्रमुख यिनै केसी थिए । यो प्रतिकार समितिले जनआन्दोनकारीमाथि जतिसुकै दमन गरे पनि पञ्चायतलाई जोगाउन सकेन । अन्ततः तत्कालीन राजा वीरेन्द्र २६ चैत्र ०४६ मा बहुदल घोषणा गर्न बाध्य भए ।

‘०४७ जेठ १५ गते एकै दिनमा पञ्चहरुका दुईवटा दल गठन भए । त्यो पनि एउटै नामका–राष्ट्रिय प्रजातन्त्र पार्टी । एउटा मेरो अध्यक्षतामा गठन भएको थियो । अर्को लोकेन्द्रबहादुर चन्दको । क्रमशः राप्रपा (थापा) र राप्रपा (चन्द) नाम दिइयो दुई दललाई ।’ (थापा सूर्यबहादुर, मेरा नौ दशक, पाँच व्यवस्था, पाँच राजा, पाँच पटक प्रधानमन्त्री, बुकहिल पब्लिकेसन प्रा.लि., प्रथम संस्करण भदौ २०७९, पृष्ठ ३३४)

अझ् रोचक त के भने पञ्चायतभित्रका ‘हार्डलाइनर’हरुले खोलेको पार्टी थियो राप्रपा (थापा) । जो बहुदल पक्षधरहरुप्रति निकै असहिष्ण त थियो नै, यो समूह बहुदल स्थापना भएकोमा निकै रुष्ट थियो । नुवाकोटे केसी ‘हार्डलाइनर’ समूह थापा नेतृत्वको पार्टीमा आवद्ध मात्र भएनन्, राप्रपा (थापा) समूहको प्रवक्ता नै बनेका थिए । तर, उनले यति छिट्टै काँचुली फेरे कि सर्पको पनि एक वर्षमा मात्र फेरिन्छ ।

संसद सचिवालयले ०७० को दोस्रो संविधान सभापछि प्रकाशित गरेको तत्कालीन संविधान सभाका सदस्यहरुको परिचय पुस्तिका अनुसार केसी २००४ साल असोज ११ गते नुवाकोटको तत्कालीन राउतवेंसी–४ मा जन्मिएका हुन् । उनी ०१८ साल अर्थात १४ वर्षको उमेरदेखि नै राजनीतिमा आवद्ध भएका थिए । केसीले ‘पार्टी प्रतिबन्धको अवस्था र आन्दोलनका क्रममा पटक–पटक भूमिगत भएको एवं ६ वर्ष ९ महिना बन्दी जीवन बिताएको’ पुस्तिकामा उल्लेख छ । केसीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् भने कानुन शास्त्रमा स्नातक गरेका छन् ।

सभापति गिरिजाप्रसाद कोइरालाको कालमा केसी कांग्रेसका सह महामन्त्री, प्रवक्ता र विभिन्न विभागीय प्रमुख भएका थिए । तर, तिनै केसी कांग्रेसको १३ औं महाधिवेशनमा शेरबहादुर देउवा गुटबाट महामन्त्रीका प्रत्यासी बन्न भ्याए । जानकारका अनुसार केसीको सुरुवाती ‘स्कुलिङ’ कांग्रेस नै हो । तत्कालीन प्रतिबन्धित कांग्रेसको राजनीति गर्दै उनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा राजनीति शास्त्र अध्यापन गराईरहेका थिए । पञ्चायत समर्थकहरुले ०३२ सालमा उनलाई जागिरबाट बर्खास्त गरिदिए । यसपछि त्यही व्यवस्थासँग आत्मसमर्पण गरेर केसी राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए ।

छेपारोले जत्तिकै रङ फेर्न सक्षम केसीलाई यस पटक नुवाकोटे मतदाताले जिताउँछन् वा हराउँछन् ? त्यो आजको १९ दिन पछि देखिनेछ । तर, केसीलाई नुवाकोटे अगुवाहरुले भने रुचाएको देखिन्न । त्यसको अर्को दृष्टान्त हो, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, २०७९ को उम्मेदवारी दर्ताको दुई दिन अघि अस्ति २१ असोजमा दिनेश आचार्य, जो नुवाकोटका अगुवा वौद्धिकभित्र पर्छन्, ले आफ्नो फेसबुक ‘वाल’ मा लेखे, ‘भनेपछि हाम्रो नुवाकोट–२ मा ०३८ सालदेखिकै सदाबहार उम्मेदवारले फेरि टिकट पाउने भएछन् हैन त ? परिवर्तन/युवा र नयाँ सोंच–भिजन भन्दै उफ्रनेहरु अब चुप लाग्नुस् है । लाज हुन्छ ।……….’

नेपाल मुहारबाट साभार 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १९:२९