२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सिड्नी नेपाल फेस्टिबल-२०२२ विगतभन्दा फरक छः संयोजक गुरुङ


प्रवासमा नेपाललाई चिनाउने महत्वपूर्ण पर्वको रुपमा नेपाल फेस्टिबल विकास हुँदै गएको छ । प्रवासमै हुर्कदै गरेको नयाँ पुस्तालाई नेपालका विविध पक्षको जानकारी दिने अवसरका रुपमा समेत फेस्टिबललाई लिइन्छ । अस्ट्रेलियामा नेपाल फेस्टिबलको शुरूवात सन् २००६ मा सिड्नीबाट भएको हो । हाल अष्ट्रेलियाका सबै राज्यमा एनआरएनएले फेस्टिबल आयोजना गर्दै आएको छ । यसै क्रममा नेपाली समूदायको ठूलो उपस्थित रहेको एनएसडब्लु राज्यमा आगामी नोभेम्वर १९ मा वरउड पार्कमा नेपाल फेस्टिबलको आयोजना हुँदैछ । फेस्टिबल सफल बनाउन एनआरएनले राष्ट्रिय उपाध्यक्ष तथा एनएसडव्लु संयोजक देबबहादुर गुरुङको संयोजकत्वमा एक समिति निर्माण गरि काम अघि बढाइसकेको छ । शुरूका बर्षहरूदेखि नेपाल फेस्टिबलमा प्रत्यक्ष रुपमा जोडिएर आएका गुरूङ यो पटक संयोजकको भूमिकामा रहेका छन ।

गुरुङ अष्ट्रेलियाका नेपाली समुदायका बीचमा चिरपरिचित नाम पनि हो । नेपाली समुदायको सहयोग र विकासका लागि सधै लागि पर्ने अभियन्ता गुरूङ सन् १९८५मा ब्रिटिस आर्मीमा भर्ना भएका थिए । गुरुङले सन् २००४ मा नाटो पदक कोसोभो, सियरा लियोन पदक (ओपीएस सिल्क–म्यान), एचएम द क्वीन्स जुबली मेडल र लामो सेवा र राम्रो आचरण गरे वापतका पदकहरु हासिल गरिसकेका छन । गुरूङ सन् २००५मा अस्ट्रेलियाली सेनामा एडीएफ पदक, वर्षको सामुदायिक सेवा व्यक्ति, लिभरपूल काउन्सिल सामूदायिक सेवा व्यक्ति र दशौँ वार्षिकोत्सवको समयमा लिभरपूल काउन्सिल अफ द इयरबाट समेत सम्मानित भएका थिए ।

नेपाली समुदायको हितका लगि गठित विभिन्न संस्थाहरूमा गुरुङको प्रत्यक्ष र अप्रत्यक्ष संलग्नता रहेको छ । गुरुङ २००९ –२०१३ सम्म तमु समाज सिड्नीको अध्यक्ष रहेका थिए भने २०१३–२०१५ सम्म गोर्खा नेपाली समूदायको उपाध्यक्ष, २०१७ देखि २०१९ सम्म गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका सचिव, २०१९–२०२१ सम्म गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलिया उपाध्यक्ष तथा एनएसडव्लुका संयोजक रहेका उनी दोस्रो कार्यकालका लागि २०२१ –२०२३ सम्मको लागि पुन निर्वाचित भएर क्रियासिल रहेका छन् ।

गुरुङले कोरोना महामारीको समयमा नेपाली समुदायमा एनएसडव्लुको नेपाली समुदायमा पुराएको योगदानलाई नेपाली समुदायमा प्रशंसनीय मानिन्छ । आफ्नो दोस्रो कार्यकाल अन्तर्गत नेपाल फेस्टिबल सिड्नी २०२२ आयोजना नेतृत्व गर्दै गरेका गुरुङसँग दैनिकीका प्रवास संयोजक बालगोपाल उपाध्यायले गरेको विशेष कुराकानीः

नेपाल फेस्टिबलको उद्देश्य के हो ?

यस फेस्टिबलको मुख्य उद्देश्य नेपाललाई चिनाउने हो । सन् २००६ बाट नेपाललाई चिनाउने पर्वका रुपमा फेस्टिबल सुरू भएको हो । पहिले सिड्नीबाट शुरु भएको अहिले सबै स्टेटमा गर्दैछौ । नेपालको पर्यटन प्रवर्द्धन गर्न फेस्टिबल सहयोगी हुने विश्वास लिएका छौँ । प्रवासमा हुर्केको नयाँ पुस्तालाई चिनाउने पर्व पनि हो यो । अर्कोतर्फ धेरै नेपालीहरुले विभिन्न व्यवसाय गरिरहनु भएको छ । उहाँहरुको व्यापार प्रवर्द्धनका लागि यो राम्रो अवसर समेत हो ।

नेपाल फेस्टिबल लागि तयारी कस्तो चल्दै छ ?

यस बर्ष अलिक फराकिलो स्थान र सबैलाई पायक पर्ने नयाँ ठाउ बरउड पार्कमा फेस्टिबल गर्ने निर्णय गरेका छौँ । स्पोन्सरहरूको टुङ्गो लागेको छ भने सरोकारवालाहरूसँग छलफल गरेर अगाडि बढिएको छ । स्टेज कस्तो बनाउने भन्ने छलफल हुँदैछ भने नेपाल हाउसको लागि समिति क्रियाशिल रहेको छ । सांस्कृतिक कार्यक्रमका लागि पहिलो अडिसन लिइएको छ । दोस्रो अडिसन पनि लिँदैछौ । सांस्कृतिक कार्यक्रममा सहभागी हुने सामूदायिक संस्थाहरूले अडिसनमा भाग नलिए पनि फाइनल रिहल्सलमा अनिवार्य भाग लिनै पर्नेछ । नेपालबाट आउने कलाकारहरूको भिसाको काम भैरहेको छ । चर्चित गायक प्रकाश सपुत आउने निश्चित भएको छ । भने यस बर्ष बहुसांस्कृतिक समुदायलाई पनि जोडन चाइनिज लगायतका समूदायसँग कुरा गरिरहेका छौँ । अतिथिहरुलाई निमन्त्रणाको र उपस्थिति निश्चित गर्नका लागि कुराकानी भैरहेको छ । अष्ट्रेलियाको संघीय सरकारको बहुसांस्कृतिक मन्त्री आउने टुंगो लागेको छ ।

विगत वर्षहरूको भन्दा यस वर्षको सिड्नी नेपाल फेस्टिबल के कुराले फरक छ ?

पहिलो यस वर्ष कार्यक्रम स्थल परिवर्तन गरिएको छ । वरउड पार्क ठाउ ठुलो र नेपाली समुदायको बसोबासका हिसावले उपयुत्त केन्द्र हो भन्ने हाम्रो बुझाइरहेको छ । दोस्रो यस वर्ष नेपाली बाहेक अन्य समुदायहरुलाई पनि जोड्ने प्रयास स्वरुप सांस्कृतिक कार्यक्रममा चाइनिज लगायतका समुदायलाई जोड्दै छौ । तेस्रो स्थानीय काउन्सिलबाट समेत उसको न्युज लेटर मार्फत स्थानिय रुपमा प्रचार प्रसार गर्ने व्यवस्था मिलाएका छौ । जसले अन्य समुदायमा पुग्न हामीलाई सहजता थपेको छ ।

फेस्टिबलको नारा ‘वान कन्ट्री मेनि स्टोरी’ राख्नु भएको रहेछ यो कसरी प्रस्तुत गर्दै हुनुहुन्छ ?

नेपाल बहुभाषिक बहुजातिय मुलुक हो । मेचीदेखि महाकालीसम्ममा हाम्रा कला संस्कृति हाम्रा सम्पत्ति हुन् । त्यसको प्रदर्शन सांस्कृतिक कार्यक्रम र झाँकीहरू मार्फत देखाउदै छौँ । हाम्रो संस्कृति र इतिहासलाई सक्दो प्रदर्शन गर्ने प्रयासमा छौँ ।

नेपाल फेस्टिबलको बारेमा तपाईलाई थप केही भन्न मन लागेको छ ? 

मुख्य कुरा तयारीको यो विन्दुसम्म आइपुग्दा सक्रिय साथीहरू र सहयोगी सबैमा मन देखिनै आभार व्यक्त गर्दछौँ । यो टिम वर्क हो । हाम्रा उपसमितिहरु क्रियाशिल छन् । पहिलो काम स्पोन्सर खोज्ने भएको छ भने अर्को प्रचार प्रसारको काम द्रुत गतिमा भैरहेको छ, पत्रकार साथीहरूले ठूलो सहयोग गर्नु भएको छ । नेपाली समूदाय सदस्यहरुलाई आफ्ना नजिकका नेपाली मात्र हैन गैर नेपालीहरुलाई पनि कार्यक्रममा निमन्त्रणा गर्न अनुरोध गर्दछु ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार १८:२०