१९ मंसिर २०७९, सोमबार | Tue Dec 6 2022

पद्दती अनुसार नै दाबी गरेको हुँ, अवसरको न्यायोचित वितरण हुनुपर्छ: भरत पराजुली

मंसिर चार गते हुने आमनिर्वाचनका लागि प्रत्यक्षतर्फ दुई साताभित्रै उम्मेद्वार मनोनयन गर्नुपर्ने छ । त्यसैले दलहरु भित्र छनोटको रस्साकस्सी छ । चुनावी मोर्चाबन्दी पनि गरेको पाँच दलीय सत्तारुढ गठबन्धन सीट भागवण्डाको अन्तिम कसरतमा छ । एमालेले पनि स्थानीय कमिटी हुँदै सिफारिस भएको नाममा छलफल गरिरहेको छ । उम्मेद्वारको अन्तिम छनोट चाहिँ पार्टी सचिवालयले गर्ने भनिएको छ । साना दल पनि सामथ्र्यअनुसार चुनावको तयारीमा छन् ।

देशैभरझैं सिन्धुपाल्चोक–१ का लागि उम्मेदवार छनोटको विषय सत्तागठबन्धन र नेकपा एमाले दुवैका लागि सकसपूर्ण बनेको छ । सत्ता गठबन्धनले सिन्धुपाल्चोक–१ मा कुन दलको उम्मेद्वार हुने भन्ने अन्तिम निर्णय गरिसकेको छैन । दल टुंगिएपछि मात्रै उम्मेद्वारमा छलफल सुरु हुनेछ । सैद्धान्तिक रुपमा माओवादी केन्द्रको सुरक्षित रहेको क्षेत्रमा कांग्रेसको दाबी कायमै छ ।
त्यस्तै, एमालेमा नेताद्वय अरुण नेपाल र सरेश नेपालसँगै भरत पराजुली पनि चर्चामा छन् । जलविद्युतलगायत विभिन्न व्यवसायमा संलग्न पराजुली आर्थिकरुपमा बलिया मानिन्छन् । प्रस्तुत छ, उम्मेद्वार सुनिश्चित हुन दौडधुप गरिरहेका पराजुलीसँग गरिएको कुराकानी–

किन उम्मेद्वारी दाबी गर्नुभएको ? योगदान चाहिँ के छ पार्टी र सिन्धुपाल्चोक–१ का जनताका लागि ? कार्यकर्ताले पत्याएरै दाबी गर्नुभएको हो ?

स्कूल र कलेज पढ्दा अनेरास्ववियुमा संगठित र सक्रिय थिए । कलेज हुँदा अखिलले गरेका राष्ट्र, राष्ट्रियता र जनजीविका तथा शिक्षासम्बन्धि अभियान, आन्दोलनमा अग्रमोर्चामै थिए । विद्यार्थी कालमा नै पार्टी सदस्य भएँ । सम्पर्क मञ्चका अभियानमा जोडिएर पार्टीकै पक्षमा काम गरेको छु । लामो समय सिन्धुपाल्चोकलाई नै आधार बनाएर सामाजिक क्षेत्रमा काम गरे । त्यहाँका दर्जनौं गाउँमा खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्यको योजना लगेको छु । जनसम्बन्ध गाँसेको छु । संभव भए जतिलाई सकेको सहयोग पनि गरेको छु । अधिकांशले प्रत्यक्ष नै चिन्नुहुन्छ ।

कमिटीगत जिम्मेवारीमा नहुँदा चाहेर पनि प्रत्यक्षरुपमा पार्टीमा सक्रिय हुन सकिन्न् । यसको अर्थ पार्टी, मोर्चा, अभियान र आन्दोलनमा सक्रिय छैन भन्ने होइन । पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै आएको छु । कसैले नभने पनि स्वयविवेकले पार्टीलाई हित हुने अभियानमै थिए, छु । अहिलेसम्म पार्टी र सदस्यले आलोचना गर्नुपर्ने काम गरेको छैन ।

प्रदेश र संघीय निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ताले उम्मेदवारका लागि अन्यसहित मलाई पनि सिफारिस गर्नुभएको हो । जिल्लाले प्रदेश र प्रदेशले केन्द्रलाई सिफारिस गरेको छ । पार्टी र कार्यकर्ताले नपत्याएको भए त सिफारिस नै हुँदैनथ्यो नि, होइन ?

जनप्रतिनिधिका लागि अहिलेसम्म कुनै तहको उम्मेद्वार बन्नुभएको छैन, एकैचोटी सांसद ? चरम महत्वकांक्षा हो कि आवश्यकता ?

पार्टी पद्दतिमा व्यक्तिगत चाहनाले भन्दा आवश्यकताले जिम्मेवारी निर्धारण गर्छ । पार्टीको आवश्यकता र व्यक्तिको चाहना एकै पटक नमिल्न पनि सक्छ । अर्को कुरा, पार्टीले यसअघि संसदीय मोर्चामा अगाडि नसारेकाले नै जनप्रतिनिधि नभएको हुँ । चाहना, योग्यता र क्षमता नै नभएर होइन् । पार्टी सदस्य र शुभेच्छुकले आग्रह गर्दा–गर्दै पनि आफूले भन्दा अरुले नै त्यो जिम्मेवारीमा बढि न्याय गर्लान् भनेर यसअघि अगाडि नसरेको हुँ । यसपटक पार्टीका कमिटी, कार्यकर्ता, शुभेच्छुक र मतदाताले समेत अगाडि बढ्न आग्रह गर्नुभयो । र, दाबी गरेको हुँ । यसमा व्यक्तिगत महत्वकांक्षाको कुरै हुँदैन र छैन पनि । त्यस्तो महत्वकांक्षा हुँदो हो त अघिल्ला निर्वाचनमै दाबी गर्थे होला ।

संभावित अबसर निरन्तर अरुका लागि छोड्दै आउँदा एकैपटक सांसदमै दाबी गर्नुपर्ने परिस्थिति बन्दो रहेछ । यसमा कसैले पनि अन्यथा लिनु जरुरी छैन । म हरेक कोणबाट त्यसका लागि सक्षम छु । अर्को कुरा, मैले सार्वजनिकरुपमा होइन पार्टी पद्दतिअनुसार नै दाबी गरेको हुँ । मापदण्ड पुगेका हरेक नेता–कार्यकर्ताले दाबी गर्न सक्छन् ।

सरेश नेपाल र अरुण नेपालजस्ता बलिया दाबेदार त्यही क्षेत्रमा छन् । उनीहरु असान्दर्भिक भएर तपाईं अगाडि सर्नुभएको हो ? पार्टीमा पहुँच त उनीहरुकै होला, अनि टिकट तपाईंले पाउने आधार चाहिँ के त ?

हो, मलाई राजनीतिमा अगाडि बढाउनु हुने, मेरा सामाजिक अभियानमा निरन्तर भरथेग गर्नुहुने, सधैं सत्कर्मका लागि प्रेरित गरिरहने र मैले सधैं अगाध सम्मान र स्नेह गर्ने नेताद्वय अरुण नेपाल र सरेश नेपाल त्यही क्षेत्रमा हुनुहुन्छ । र, दुबै जना उम्मेदवार सिफारिस पनि हुनुभएको छ । उहाँहरुले सिन्धुपाल्चोकको कम्युनिष्ट आन्दोलनमा, एमालेको हुकाई र बढाइमा मात्रै होइन त्यहाँको राजनीतिक तथा आर्थिक–सामाजिक रुपान्तरणमा सदा स्मरणीय योगदान गर्नुभएको छ । जसको म बिगतदेखि भविष्यसम्मको उच्च प्रशंसक हुँ । पार्टी संगठन, कार्यकर्ताले गर्ने सम्मान, विभिन्न आन्दोलन र अभियानको अगुवाई, जनसम्बन्ध हरेक दृष्टिले उहाँहरु सदा सम्मानयोग्य हुनुहुन्छ । योगदानका हिसाबले न हिजो असान्दर्भिक हुनुहुनथ्यो र भोलि हुनुहुनेछ ।

उहाँहरु अयोग्य र असान्दर्भिक हुनु भयो भनेर मैले उम्मेद्वार दाबी गरेकै होइन । कसैलाई भ्रम नपरोस् । मेरोभन्दा पहुँच पनि उहाँहरुकै बढि छ । किनकि, पार्टीगत योगदानका हिसावले मभन्दा उहाँहरु अग्रज हुनुहुन्छ । अर्को कुरा, कार्यकर्ताको सद्भाव र उहाँहरुको पनि समर्थनमा मेरो नाम तल्लो कमिटीबाट सिफारिस भएको हो । माथिल्ला कमिटीमा पनि उहाहरुकै पहुँच छ । तर, त्यहाँबाट पनि मेरो नाम अगाडि बढ्नु भनेको उहाँहरुकै सहयोग रहनु होइन र ?

तेस्रो कुरा, दुबै जनाले यसपटक नयाँ अनुहारका साथ जाने कि, लौ आन्तरिक तयारी पनि गर्दै गर्नुस् भनेकैले अगाडि सरेको हुँ । तर, यहाँ केही सीमित व्यक्तिले म उहाँहरु विरुद्ध उभिए जसरी अफवाह फैलाइरहेका छन् । जुन सत्य होइन ।

चौथो कुरा, मतदाताको चाहना, कार्यकर्ताको समर्थन, नेताहरुको सहयोग र सद्भाव भएपछि टिकट नपाउनु पर्ने अन्य कारण हुन्छ र ? एमालेको मूल नेतृत्वले उपयुक्त बेलामा सबैलाई अबसर दिँदै आएको छ । फेरि पनि दिन्छ नै । यसअघि कस–कसले अबसर पाए, कस–कसलाई न्याय र अन्याय भयो त्यता फर्किन चाहान्न् । र, यो त्यो समीक्षा गर्ने बेला पनि होइन् । यसपटक चाहिँ मैले अबसर पाउनुपर्छ भनेर दाबी गरेको हुँ । र, मेरो दाबी कोही नेता विशेषविरुद्ध होइन । मतदाता र कार्यकर्ताको पक्षमा तथा नयाँ अनुहार खोज्ने जनचाहना सम्बोधनका लागि पनि हो ।

नेपालद्वय नै टिकटका लागि मारामारमा छन् रे । त्यति सजिलै मैदान खाली गर्देलान् त उनीहरुले ? लौ, टीकट तपाईंले पाउनुभयो, उनीहरुले सहयोग गरेनन् भने त लडेको लड्यै भइन्छ नि ?

पहिलो कुरा त उहाँहरु पारिवारिक सम्बन्ध छ । पारिवारिक सम्बन्ध सुमधुर र हार्दिक हुन्छ नै । मेरो पनि उहाँहरु दुबैसँग अत्यन्तै हार्दिक सम्बन्ध छ, दाजु–भाइको जस्तो । उहाँहरु दुबैको र उहाँहरु सँग मेरो सम्बन्ध स्नेहपूर्ण हुँदा–हुँदै पनि प्रचार चाहिँ गलतरुपमा गरिएको हो । योग्य र सक्षम भएकाले दुबै जनाले उम्मेद्वारी दाबी गर्नुभएको हो । पार्टीले तोकेको मापदण्डभित्र रहेर दाबी गर्नुलाई नै मारामार भन्नु हुँदैन । कसका लागि खाली गर्ने÷नगर्ने त्यो उहाँहरुको निर्णय हो ।

अझ कसका लागि कसले त्याग गर्ने भन्ने निर्णय त पार्टी नेतृत्वले नै गर्छ । उहाँहरुले नै अगाडि बढ भनेकाले नै मैले दाबी गरेको हुँ । त्यसैले उहाँहरुकै सहयोग हुन्न् कि भन्ने शंका नै गलत छ । पार्टीले यसपटक नयाँ अनुहारका साथ प्रतिस्पर्धा गरौं वा पुरानै नेतालाई प्रतिस्पर्धी बनाऔं भन्यो पनि सबै नेता–कार्यकर्ता एकढिक्का भएर चुनावी मोर्चामा खट्छन् । त्यसमा पनि शंका मान्नु पर्छ र ? व्यक्तिभन्दा पार्टीको मोर्चा हो चुनाव ।

टिकट नपाए के गर्नुहुन्छ, पाउनेलाई असहयोग गर्ने त होला नि, प्रवृत्ति नै त्यही छ सबैजसो दलमा ?
सशक्त दाबी पेश गरेको छु । र, निर्णय नहुँदासम्म गरिरहन्छु । तर, पार्टीको निर्णय मेरो पक्षमा भएन भने पनि मोर्चाबाट भाग्दिन । जो उम्मेद्वार हुनुहुन्छ उहाँको पक्षमा मन, बचन र कर्मले लाग्छु ।

निर्णय नहुँदासम्म आफ्ना कुरा राख्ने र निर्णय भएपछि स्वीकार्ने पार्टीको पद्दती र अनुशासन हो । जसमा सबै रहनुपर्छ । म पनि रहन्छु । यसअघिका चुनावमा पनि उम्मेद्वार भएको थिइन । तर, भएका उम्मेदवारलाई जिताउन सकेजति सहयोग गरेकै हुँ । यसपटक टिकट पाइन भने पनि अबसर फेरि आउँछ भनेर पार्टी र पार्टीका उम्मेदवारलाई जिताउन मरिमेटेर लाग्छु ।

मोहन बस्नेत वा अग्नि सापकोटासँग ‘फाइट’ गर्न त त्यहीअनुसारको नेता चाहिएला नि ? उहाँहरुसँग राखेर हेर्दा के गुण चाहिँ आफूमा अधिक छ भन्ने ठान्नुहुन्छ ? स्रोत–साधनका हिसाबले दुबै नेता बलिया मानिन्छन् । सकिन्छ त भिड्न ?

सत्तारुढ गठबन्धनका तर्फबाट को उम्मेद्वार हुनुहुन्छ टुंगो भइसकेको छैन । अघिल्लोपटक माओवादी केन्द्रले जितेका कारण सोही दलबाटै उम्मेदवार हुने संभावना बढि छ । तर, माओवादीको पनि उम्मेदवार को हो स्पष्ट भइसकेको छैन । चर्चा चाहिँ अग्नि सापकोटाकै छ । कांग्रेस वा माओवादी जुन दलबाट जो उम्मेद्वार भएपनि प्रतिस्पर्धा हुने उस्तै हो ।

अर्को कुरा, उहाँहरु दुबै जनाको राजनीतिक विरासत र योगदानप्रति मेरो उच्च सम्मान छ । पटक–पटक सांसद र मन्त्री हुनुलाई नै योग्यता मान्ने हो भने मसँग त्यो छैन । मसँग त जनप्रतिनिधि भएकै योग्यता छैन । यो भनेको मान्छेलाई हियाउने, खिसिट्यूरी गर्ने कुरा भयो । मसँग स्पष्ट दृष्टिकोण, नीति, योजना र कार्यक्रम छन् । समाज बुझेको छु । समाजको आवश्यकता बुझेर नीति र योजना बनाउन सक्छु । नीति–निर्माण तहसम्म हल्का–फुल्का पहुँच पनि छ । सबैभन्दा ठूलो कुरा इमान छ । र, सिन्धुपाल्चोकको पक्षमा फरक गर्ने हुटहुटी छ । सिन्धुपाल्चोकका समस्या उजागर गर्ने मात्र होइन, समाधान गर्ने ल्याकत पनि राख्छु भन्ने आत्मविश्वास छ ।

स्रोत–साधन भएरै प्रतिस्पर्धाका लागि दाबेदारी गरेको हुँ । गुलेली लिएर बाघ मार्न कोही पनि हिंड्दैन । थप स्रोत–साधनको जोहो गर्न पार्टी छ । हजारौं कार्यकर्ताको पंक्ति छ । शुभेच्छुक, समर्थक छन् । एमाले देशको पहिलो पार्टी हो । जसले जोसँग पनि प्रतिस्पर्धा गर्ने ल्याकत राख्छ । उम्मेदवार को हो भन्ने कुराले खासै अर्थ राख्दैन ।

स्थानीय तहको चुनावअनुसार एमालेको भन्दा गठबन्धनसँग धेरै मत छ । त्यही हिसाब हेरेर बलिया ठानिने नेता त भाग्ने संभावना हुन्छ । तपाईं चाहिँ यो कठिन बेलामा फेरि, किन ?

पहिलो कुरा त, स्थानीय तहको मत देखाएर हामी बलियो छौं भनेर कोही पनि गम्किनु हुँदैन । सात महिनामा स्थानीय तहको कामको प्रारम्भिक लेखाजोखा भइसक्छ । स्थानीय तहको नेतृत्वले उत्साहका साथ जनभावना सम्बोधन गर्नुपथ्र्यो, गरेनन् । त्यसको प्रभाव मंसिर ४ गतेको मतदानमा पर्ने छ । सिन्धुपाल्चोक–१ मा सुनकोशीबाहेकमा सत्तारुढ गठबन्धनको नेतृत्व छ ।
दोस्रो, संघीय चुनावमा बढि राष्ट्रिय मुद्दाले प्राथमिकता पाउँछ । गठबन्धन सरकारले गरेका विकृति–विसंगतिमा मतदाता सचेत छन् । उनीहरुले विवेक पु¥याउँछन् नै ।

तेस्रो, एमालेको गौरवशाली विरासत । उसले राष्ट्र, राष्ट्रियता र जनजिवीका, पूर्वाधार र सामाजिक विकास तथा मुर्छित सपनाको पुनःजागरणमा खेलेको योगदान । समुद्ध नेपाल र सुखी नेपालीप्रतिको जनचाहना र एमालेले सुरुआत गरेका योजना र कार्यक्रम । यि कारणले पनि मतदाताले एमालेलाई न्याय गर्नेछन् भन्नेमा विश्वस्त छौं ।

सिन्धुपाल्चोक–१ मा कुन दलको कति मत छ भन्ने तथ्य मंसिर पहिलो साता आइहाल्छ । अहिले नै यति छ भनेर उफ्रिन जरुरी छैन । ठ्याक्कै मतसंख्या नै त भन्न सक्दिन । तर, सिन्धुपाल्चोक–१ मा एमालेले सानदार जीत दर्ता गर्छ । एमालेले जित्छ मैले एमालेको कुन उम्मेदवारले जित्छ भनेको छैन है । दाबीका बेला म हुनुपर्छ भन्नु स्वभाविक हो । उम्मेद्वार नै छनोट भएपछि एकढिक्का भएर एमाले मित्रवत प्रतिस्पर्धाका लागि गठबन्धनविरुद्ध उत्रिन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १०:०१