२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

समृद्धिको माध्यमबाट नुवाकोटको जनताको मुहारमा खुशी भर्न चाहन्छुः नेता आचार्य


१३ असोज, काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीका सदस्य एवं नुवाकोट क्षेत्र नम्बर १ प्रदेश ‘क’ का उम्मेदवारका आकांक्षी बलराम आचार्यले नुवाकोटको विकास एमालेमात्र गर्न सक्ने बताएका छन । दैनिकी संवादमा कुरा गर्दै आचार्यले नुवाकोटको विकासका सवालमा विगत २० वर्षमा १५ वर्ष एकातिर र ५ वर्ष एकातिर राखेर हेर्दा पनि एमालेलेमात्र नुवाकोटको विकास गर्न सक्छ भन्ने कुरा प्रमाणित भैसकेको जानकारी दिए ।

अहिलेसम्म राम्रो नीति भएका नेता नै नुवाकोटले पाउनु नसकेको भन्दै आचार्यले जनता त्यस्ता नेताको खोजीमा रहेको बताए । उनले एमालेले आफूलाई आधिकारिक उम्मेदवार बनाएर जनचाहना पूरा गर्न दिने विश्वास पनि व्यक्त गरे । उनले जिल्लाको समग्र विकासका लागि संसदीय मोर्चाको जिम्मेवारी महत्वपूर्ण हुने बताए ।

नुवाकोट जाने मुख्य मार्गहरूको १० वर्षदेखि बेहाल हुँदासम्म ठूला भनिएका नेताहरूले ठोस पहलकदमी लिन नसकेको बताए ।  नेता आचार्यले पछिल्लो पाँच वर्षमा नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले जिल्लाको विकासका लागि केही नीतिगत र ठोस पहलकदमी लिएको बताए ।

नुवाकोटकै नेता १५ पटक बढी मन्त्री हुँदा पनि दोस्रो पशुपतिको उपमा पाएको दुप्चेश्वर मन्दिरमा नपुगेको सन्दर्भमा आफ्नो पहलमा तत्कालीन अवस्थामा बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाललाई मन्दिरमा लगेर पूजाअर्चाना गराएको र त्यसको विकासका लागि पाँच करोड रूपैयाँको योजना स्वीकृत गरेको जानकारी दिए ।

आचार्यले नुवाकोटले पर्यटनको विकासमा धेरै काम गर्न सक्ने र शैक्षिक अवस्था र कृषिमा धेरै सुधार गर्न सकिने तर त्यसका लागि नीतिगत तहमा सकारात्मक सोच भएको र युवाको भावना प्रतिनिधित्व गर्ने व्यक्ति चाहिने बताए । उनले एक पटक समृद्धिको माध्यमबाट नुवाकोटको जनताको मुहारमा खुशी भर्न चाहेको बताए । आचार्यसँगको संवाद तलको लिंकमा हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०८:२४